मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

हिमाली महिलाले बनाए हेलिप्याड र भ्यू प्वाइन्ट

शुक्रबार, २७ फागुन २०७३, १२ : २६
शुक्रबार, २७ फागुन २०७३

सोलुखुम्बु - खुम्जुङ गाविसको खुम्जुङ भ्यालीसँगै जोडिएको खुन्दे गाउँमा पर्यटक भित्र्याउन त्यहाँका महिलाले गाउँमा हेलिप्याड र भ्यू प्वाइन्ट बनाएका छन् ।

खुम्बुको नाम्चे र खुम्जुङ भ्यालीमा प्रशस्त पर्यटक पुग्ने भए पनि १५ मिनेटको फरकमा रहेको खुन्दे गाउँमा पर्यटकको प्रवेश ज्यादै न्यून भएपछि त्यहाँका महिला समूहले पर्यटक भित्र्याउनका लागि भ्यू प्वाइन्ट र हेलिप्याड बनाएका हुन् ।

“खुम्बुमा थुप्रै पर्यटक आउँछन् तर हाम्रो गाउँमा कुनै कुनै बेला मात्र पर्यटक आउने भएकाले पर्यटक भित्र्याउन हामी महिलाले हेलिप्याड बनाएका हौँ” – समूहका अध्यक्ष याङ्जी शेर्पाले भनिन् ।

उनीहरुको समूहलाई सरकारी वा विदेशी निकाय कसैले पनि आजसम्म सहयोग गरेको छैन । महिलाले नै ल्होसारका बेलामा सहयोग र श्रमदानबाट सङ्कलन गरिएको रकमबाट हेलिप्याड तथा भ्यू प्वाइन्ट बनाएको अध्यक्ष शेर्पाले बताइन् ।

आलु र फापर मात्र उत्पादन हुने खुन्दे गाउँमा केही होटल सञ्चालन गरिएको भए पनि त्यसबाट कमै आम्दानी हुने भएकाले आफूहरु कृषि र पशुपालनमा बढी लाग्ने गरेको त्यहाँका महिला बताउँछन् । पुरुषले भने ट्रेकिङ गएर आम्दानी गर्ने गरेका छन् । गाउँमा धेरै समय महिला नै बस्ने भएकाले गाउँका समस्या महिलाले नै समाधान गर्ने गरेको समूहका सदस्य दा–डोमा शेर्पाले बताइन् ।

उनका अनुसार गाउँमा समस्या आएमा महिला समूहमा छलफल गरिन्छ । उनीहरुले निर्माण गरेको हेलिप्याड त्यही गाउँमा रहेको खुन्दे अस्पतालमा अशक्त बिरामीलाई हेलिकप्टरबाट ल्याउन निकै उपयोगी बनेको छ । हिमाल आरोहण तथा उच्च क्षेत्रमा भ्रमणका बेला लेक लागेर वा दुर्घटनाबाट सिकिस्त भएका बिरामीलाई तत्काल उपचारका लागि सो अस्पतालमा ल्याउने गरिन्छ ।

बाहिरबाट हेर्दा खुम्बु क्षेत्रमा विदेशीले पैसा दिएर काम गर्ने गरेको बुझिए पनि खुम्जुङको खुन्दे गाउँका महिलाले एकजुट भएर रकम सङ्कलन र श्रमदानसमेत गर्ने गरेको समूहका अध्यक्ष याङ्जी शेर्पाले बताइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप