सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

६ वटा प्रदेशका मुख्य मन्त्री तयार, औपचारिकता वाँकी

शुक्रबार, २६ माघ २०७४, १६ : ३७
शुक्रबार, २६ माघ २०७४

काठमाडौं–संघीयतापछि भएको पहिलो प्रदेशसभा चुनावपछि देशले सात मुख्यमन्त्री पाउँदैछ ।

शुक्रवारसम्म ७ मध्ये ६ प्रदेशमा को मुख्यमन्त्री हुने भन्ने तय भएको छ भने एउटा प्रदेशमा आइतवार यसको टुंगो लाग्नेछ । 

प्रदेश नं ४ बाहेकका प्रदेशमा मुख्यमन्त्रीका लागि चलेको दौड शुक्रबारबाट सकिएको छ । 

बामगठबन्धनको सहमति अनुसार एमालेले चार र माओवादीले २ वटा प्रदेशमा मुख्यमन्त्री पाएका छन् ।

प्रदेश नम्वर २ मा चाहिँ राष्ट्रिय जनता पार्टीको समर्थनमा संघीय समाजवादी फोरम, नेपालले मुख्यमन्त्री पाउँदैछ । 

शुक्रवारसम्म एमालेका ३, माओवादीका दुई र मधेशवादी दलका एक नेता मुख्यमन्त्रीका लागि दलको नेता चयन भैसकेका छन् । 

प्रदेश १ मा एमालेका राई 
प्रदेश नम्वर १ मा एमालेक पोलिटव्यूरो सदस्य एवं पूर्वसंचारमन्त्री शेरधन राई मुख्यमन्त्री हुने निश्चित भएको छ । शुक्रवार भएको प्रदेशसभा संसदीय दलको चुनावमा राईले एमालेका सचिव समेत रहेका भीम आर्चायलाई २ मतले पराजित गरे । 


राईको २६ र आर्चायको २४ मत आयो । 
प्रदेशको संसदीय दलको नेता चयनपछि राई अव १ नम्बर प्रदेशका पहिलो मुख्यमन्त्री हुनेछन । उनी जनजाती समुदायबाट आएका नेता हुन् । 
१ नम्बर प्रदेशमा संसदीय दलको नेतामा चयन भएका राई भोजपुर जिल्लाको ‘ख’ बाट निर्वाचित भएका हुन् ।
प्रदेश २ मा फोरमका राउत
प्रदेश नम्बर २ मा भने संघीय समाजबादी फोरम, नेपालका लालबाबु राउत मुख्यमन्त्री बन्ने निश्चित जस्तै भएको छ । 
फोरम र राजपा नेपाल मिलेर प्रदेश सरकार गठन गर्ने तयारी गरेका छन् । 
मन्त्रालयलगायतका बाँडफाँडमा भने फोरम नेपाल र राजपावीच सहमति बनेको छैन् । 
राउत पर्साका स्थानीय बासिन्दा तथा संघीय समाजवादी फोरमको वरिष्ठ उपाध्यक्ष छन् । उनी पर्साबाट प्रदेशसभामा निर्वाचित सांसद छन् । 
राउत नेपालकै अल्पसंख्यक मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै मुख्यमन्त्री पदमा पुग्ने प्रथम व्यक्ति हुनेछन् ।
प्रदेश नं २ मा फोरमको सबैभन्दा बढी २९ सिट रहेको छ । 
राजपा नेपालको २५ सिट रहेको छ ।

प्रदेश ३ मा एमालेका पौडे
प्रदेश नम्बर ३ एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएपछि देशकै राजधानीको भूगोल समेत जोडिएको यो प्रदेशमा मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ । 
शुक्रबार ललितपुरमा भएको निर्वाचनमा  पौडेल ५८ मतमध्ये ३४ मत प्राप्त गरी संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । 
उनका प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले २४ मत प्राप्त गरिन् । 


संसदीय दलको नेता निर्वाचित भएसँगै हेटौडा निवासी पौडेललाई मुख्य मन्त्री बन्ने बाटो खुला भएको छ । 

प्रदेश नम्बर ३ प्रदेशसभाको सभामुखको भूमिका निर्वाह गर्दै आउनु भएका पौडेलले मकवानपुर क्षेत्र नम्बर २ प्रदेशसभा (ख) बाट प्रदेशसभामा विजयी भएका थिए । 

हेटौडाका विकास योजनाकार पौडेल २०६४ र २०५४ सालमा हेटौडा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । 

७० वर्षीय पौडेल ३७ वर्षयता राजनीतिमा सक्रिय छन् । 

जेष्ठ सदस्यको हैसियतमा उनले प्रदेशसभाको पहिलो वैठकको नेतृत्व तथा संचालन गरेका थिए । 

पौडेल ३ नम्वर प्रदेशको मुख्य मन्त्री बन्ने भएपछि अव देशमा यसपटक महिला मुख्यमन्त्री बन्ने बाटो पनि रोकिएको छ । अन्य प्रदेशमा महिला मुख्यमन्त्रीका आकांक्षी पनि थिएनन् । 

४ नम्बर प्रदेशमा २ गुरुङको भिडन्त

अन्य प्रदेशमा मुख्यमन्त्री को बन्ने भन्ने निश्चित भएपनि ४ नम्वर प्रदेशमा भने आइतवारमात्रै टुंगो लाग्नेछ । प्रदेश–४ मा एमालेले संसदीय दलको नेताका लागि आइतबार छान्दैछ । 

यो प्रदेशमा पनि दलको नेता बन्न २ जना आकांक्षी छन् । उनीहरुबीच निर्वाचन हुने लगभग निश्चित भएको छ । मुख्यमन्त्री बन्ने दौडमा एमालेबाट पार्टी प्रदेश ४ का संयोजक किरण गुरुङ र केन्द्रीय सचिव पृथ्वी सुब्बा गुरुङ खुलेरै लागेका छन् ।

किरण तनहुँ क्षेत्र नं. २ (ख) बाट र पृथ्वी लमजुङ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । 

किरण पहिलो संविधानसभा निर्वाचनमा तनहुँ क्षेत्र नं. ३ बाट निर्वाचित भएर वनमन्त्रीसमेत भइसकेका छन् । 

पृथ्वी पहिलो संविधानसभा निर्वाचनमा लम्जुङबाट विजयी भई पर्यटन मन्त्री भएका नेता हुन् ।

५ मा एमालेका पोखरेल

त्यसैगरी प्रदेश ५ मा पनि एमालेकै शंकर पोखरेल मुख्यमन्त्री बन्ने पक्का भैसकेको छ ।

एमालेले प्रदेश ५ बाट पोखरेललाई यसअघि नै संसदीय दलको नेता चयन गरिसेकको छ । 

प्रदेशसभाको पहिलो बैठक बसेको भोलिपल्ट पोखरेल सर्वसम्मत संसदीय दलको नेता चयन भएका थिए । 

उनलाई गत निर्वाचनमै बाम गठबन्धनले भावी मुख्यमन्त्रीका रुपमा उभ्याएको थियो । 

दाङ निर्वाचन क्षेत्र नं २ को १ क बाट निर्वाचित भएका पोखरेल यो प्रदेशमा एक्ला मुख्यमन्त्रीका दावेदार थिए । 

६ मा माओवादीका शाही
प्रदेश ६ मा माओवादीका महेन्द्रबहादुर शाही मुख्यमन्त्री हुने निश्चित भएको छ ।

पार्टी प्रदेश नं ६ को संसदीय दलका नेतामा महेन्द्रबहादुर शाही (कालीकोट) विहिवार चयन भएका थिए ।

संसदीय दलको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्मत चयन गरेको थियो । यहाँ जुम्लाका सांसद नरेश भण्डारी पनि मुख्यमन्त्रीका दावेदार थिए । 

शाही यस अघि उर्जामन्त्री भैसकेका नेता हुन् । 

७ मा माओवादीका भट्ट

७ नम्बरमा माओवादीले मुख्यमन्त्रीका लागि त्रिलोचन भटट्लाई अगाडि सारेका छ ।

उनी माओवादी प्रदेश संसदीय दलको नेतामा चयन भैसकेका छन् । 

उनी डोटीबाट निर्वाचित सांसद हुन् । ७ नम्वर प्रदेशमा बीरमान चौधरी र झपट बोहोरा पनि मुख्यमन्त्रीका आकांक्षी थिए । 

अव वाँकी काम

प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेता सम्बन्धित प्रदेशको मुख्यमन्त्री बन्ने व्यवस्था छ । 

सातवटा प्रदेशमा अब सात जना मुख्यमन्त्री बन्नेछन् । 

निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गरेको ३० दिनभित्र मुख्यमन्त्री चयन गरिसक्नुपर्ने व्यवस्था छ । 

निर्वाचन आयोगले प्रदेशतर्फको अन्तिम नतिजा माघ ५ गते सार्वजनिक गरेको थियो । 

प्रदेशसभाले मुख्यमन्त्री चयन गरेपछि मुख्यमन्त्रीले नै मन्त्रीपरिषद गठन गर्ने व्यवस्था छ । 

यसरी प्रदेशको मुख्य मन्त्री चुनीसकेपछि उसैको नेतृत्वमा प्रदेश मन्त्रीपरिषद गठन हुन्छ । 

मुख्यमन्त्रीमा प्रदेशको सबै कार्यकारिणी अधिकार निहित हुने संविधानमा व्यवस्था छ । 

प्रदेश प्रमुखले नै मुख्यमन्त्री र प्रदेशमन्त्रीलाई सपथ खुवाउने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप