मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बिस्केट जात्राको तयारी सुरु

आइतबार, ०६ चैत २०७३, १५ : १८
आइतबार, ०६ चैत २०७३

भक्तपुर - आगामी चैत २८ गतेदेखि आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्राको तयारी सुरु भएको छ । आगामी वैशाख ५ गतेसम्म चल्ने जात्राको मुख्य आकर्षणका रुपमा रहेको लिङ्गो उठाउनका लागि गुठी संस्थान भक्तपुरले सूर्यविनायक नगरपालिकास्थित चित्तपोलको सल्लाघारी वनबाट करिब ५५ हात लामा दुई लिङ्गो भक्तपुर नगरपालिका–११ ल्येसिंखेल अर्थात् भेलुखेलस्थित जात्रास्थलमा ल्याई पु¥याएको छ ।

संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले लिङ्गो उठाउने क्रममा भाँंचिए अर्को प्रयोग गर्ने गरी दुईवटा ल्याइएको बताए । लिङ्गो नभाँचिए जगेडा रहेको लिङ्गो अर्को वर्ष प्रयोग गर्ने परम्परा छ ।

वैशाख सुरु हुनु चार दिनअघि सुरु हुने बिस्केट जात्रामा मसान्तको दिन अर्थात् यस वर्ष चैत ३१ गते डोरीको सहायताले हजारौँ जात्रालुले लिङ्गो तानेर उठाउने गर्छन् । सो लिङ्गोलाई प्रत्येक वर्षको नयाँं दिन अर्थात् वैशाख १ गते साँझ ढाल्ने गरिन्छ ।

जात्राका लागि अत्यावश्यक मानिएको भैरब र भद्रकालीको रथ निर्माणसमेत सुरु गरिएको छ । सुवेदीले भक्तपुर नगरपालिका–११ तौमढीस्थित पाँचतले मन्दिर परिसरमा सिकर्मी नाइके लक्ष्मीप्रसाद शिलाकारको नेतृत्वमा चैत १ गतेदेखि तीनतले प्यागोडा शैलीमा काठै काठको रथ निर्माण सुरु गरिएको बताए ।

चैत २८ गते जात्राको सुरुको दिन रथ तान्नका लागि आवश्यक पर्ने डोरी खरिद गर्ने काम पनि सम्पन्न भएको जानकारी दिँदै उहाँले गत वर्ष बिग्रिएका रथका विभिन्न भाग मर्मत र पित्तलको छानाको केही भाग नयाँ राखिने भएको छ । यस वर्ष जात्रा सञ्चालनका लागि करिब रु २८ लाख खर्च हुने अनुमान कार्यालयले गरेको छ ।

जिल्ला प्रशासन कार्यालय एवम् महानगरीय प्रहरी परिसर भक्तपुरका लागि चुनौती बन्दै आएको बिस्केट जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालयले स्थानीयवासीबीच छलफल चलाएको छ । जात्रामा हरेक वर्ष ढङ्गा हानाहान भएर हिंसात्मक घटना हुने भएकाले यसलाई रोक्न यस वर्ष सुरक्षा व्यवस्था कडा पारिने र चोक चोकमा व्यवस्थित रुपमा सिसी क्यामरा जडान गरिने भएको छ ।

प्रजिअ द्रोण पोखरेलले यसबारेमा स्थानीय क्लब, गुठी र सरोकार भएका निकायसँग चरणबद्ध रुपमा छलफल सुरु गरिएको बताए । प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण राणाले जात्रा शान्तिपूर्ण बनाउन सादा पोसाकमा पनि सुरक्षाकर्मी परिचालन र चोक चोकमा सिसी क्यामरा जडान गरिने बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप