मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

तेह्रथुमको पर्यटन गुरुयोजना बनाइँदै

बुधबार, ०९ चैत २०७३, ०९ : २८
बुधबार, ०९ चैत २०७३
तेह्रथुम - जिल्लाको पर्यटन क्षेत्र विकास गर्ने उद्देश्यले एक वर्षअघि थालिएको पञ्चवर्षीय पर्यटन गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । पर्यटनको माध्यमबाट समग्र जिल्लाको आर्थिक विकास गर्ने भन्दै गुरुयोजना निर्माण थालिएको जिल्ला समन्वय समितिको कार्यालयले जनाएको छ । विज्ञ, सरोकारवाला, स्थानीयवासी, राजनीतिक दल, उद्योग वाणिज्य सङ्घ, सुरक्षा निकाय प्रमुख, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रमुख, पर्यटन व्यवसायी, होटल व्यवसायी, संरक्षणकर्मी, सञ्चारकर्मीलगायतसँग छलफल गरी गुरुयोजना बनाइँदैछ । सबै पक्षको सुझाव सङ्कलन गरेर गुरुयोजना निर्माण गर्ने काम भइरहेको स्थानीय विकास अधिकारी तुलसी गौतमले बताए । जिल्ला समन्वय समितिले विज्ञका रूपमा पर्यटन तथा स्थानीय विकास योजना विज्ञ प्रा डा प्रेम शर्मालाई लिएको छ । शर्मासहितको संलग्नतामा पहिलो पटक पर्यटकीय गुरुयोजना निर्माणका लागि सर्वपक्षीय छलफल चलाइएको थियो । तेह्रथुमलगायत पूर्वी पहाडको पर्यटन यहाँको प्रकृति र संस्कृतिसँग जोडिएकाले यही क्षेत्रको प्रवद्र्धन हुने किसिमले गुरुयोजना बन्दै गरेको शर्माले बताए । यसका लागि जिल्लाका दुई नगरपालिकासहित चारवटै गाउँपालिकामा आफूहरू पुगेर छलफल गरिरहेको उनले बताए । “हामीले प्रत्येक गाउँपालिका पुगेर पर्यटकीय सम्भावनाका सूचना सङ्कलन गरिरहेका छौँ,” शर्माले भने, “त्यहाँबाट आएका सुझाव र सूचनाका आधारमा गुरुयोजना निर्माण गर्दैछौँ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप