मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

शक्तिखोरमा नयाँ पर्यटकीय गन्तव्य पहिचान

शुक्रबार, ११ चैत २०७३, १३ : २३
शुक्रबार, ११ चैत २०७३

नारायण ढुंगाना

चितवन, ११ चैत । चितवनको विकटमा पर्ने शक्तिखोरको सम्फ¥याङ सामुदायिक वनभित्रै आकर्षक पर्यटकीय गन्तव्य पहिचान भएको छ । तर आवश्यक पूर्वाधारको अभाव र प्रचार नहुँदा त्यो ओझेलमा परेको छ ।

कालिका नगरपालिकासँग जोडिएको साविक शक्तिखोरमा पर्ने यो सामुदायिक वन क्षेत्र पहाडै पहाडले घेरिएको छ । त्यसभित्रबाट खोँच हुँदै बहने सम्फ¥याङ खोला आफैँमा मनमोहक देखिन्छ । खोलाको शिरदेखि शक्तिखोर बजारसम्मै पर्यटकलाई आकर्षित गर्ने विभिन्न आकर्षक क्षेत्र र भूबनोट रहेको सामुदायिक वनका अध्यक्ष अणबहादुर सारु मगर बताउनुहुन्छ ।

विभिन्न आकर्षक दह, ओडार, गुफा, झरना, पहरा, छाँगा, छहराले त्यहाँ पुग्ने जोसूकैलाई पनि आनन्दको अनुभूति गराउँछ । सामुदायिक वनको भित्रिभाग मैतेस गाउँको फेँदीमा नाग दह छ । झरनाबाट झरेको पानी, अनि पानीको आवाजसहितको चिसो बहावले पर्यटकलाई यहाँ लोभ्याउँछ । कुनै बेला खडेरी प¥यो भने यहाँ रिसाएर फोहर गराउँदा पानी पर्छ भन्ने किंवदन्ती पनि रहेको अध्यक्ष मगर बताउनुहुन्छ ।

जुनसुकै मौसममा पनि यो दहमा पौडी खेल्दा शीतलता प्राप्त हुने वनका कोषाध्यक्ष वकिल पुरीको अनुभव छ । पुरी भन्नुहुन्छ – “भोक लाग्दा खाना र बास बस्दा छाना दिने वनका रुपमा यसलाई विकास गर्न लागेका छौँ ।”

नजिकै बाङ्ती झरना छ, तीन तला परेको पानीको दह देखिन्छ । जसलाई तीनतले दहका रुपमा चिनिन्छ । कलचौरे नामले चिनिएको उक्त दह आफैँमा महत्वपूर्ण र मनमोहक छ । छाँगाबाट आएको पानीमा रमाउनु यसको अर्को विशेषता हो ।

यहाँ रहेका खडखेस दह, पातले झरना तथा एसी गुफा पनि अर्काे महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न पुगेको सामुदायिक वन उपभोक्ता महासङ्घ, चितवनका सचिव भरत ढुङ्गाना बताउनुहुन्छ ।

पातले झरनामा झन्डै एक सय मिटर माथिबाट पानी झर्छ । एकनासले झरेको पानीको लहराले जो कोहीलाई पनि यहाँ लोभ्याउँछन् । हात्तीका पाइलाजस्तो देखिने हात्तीपाइले पहरा पनि यहाँ मनै लोभ्याउने खालका छन् । यस्ता आकर्षक गन्तव्य भएर पनि पूर्वाधार अभाव र प्रचारप्रसार नहुँदा यो क्षेत्र ओझेलमा परेको जिल्ला वन चितवन शक्तिखोर रेञ्जपोस्टका रेन्जर रामजीबाबु श्रेष्ठ बताउनुहुन्छ ।

पर्यटन प्रवद्र्धन कार्यक्रम सुरु

चितवनको शक्तिखोरको सो क्षेत्रमा १२ वटा सामुदायिक वन छ । सबै वनले यस क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्ने निर्णय गरेअनुसार अहिले यसको प्रचारप्रचार थालिएको हो ।

पर्यटन क्षेत्रको रुपमा विकास गरी यहाँ पर्यटक भित्र्याउन सके आम्दानीको राम्रो स्रोत बन्ने स्थानीय उपभोक्ता भरत चेपाङ बताउनुहुन्छ । गाउँमा भुँयरीथान देवीको मन्दिर छ । एउटै ढुङ्गोमाथि बनाइएको मन्दिर भएकाले पनि आएका पर्यटक सेल्फी खिचेर आनन्द लिन्छन् ।

मगर समुदायले मानेको मन्दिरमा पूजा गरे मनोकामना पूरा हुने जनविश्वास छ । यहाँबाट शक्तिखोरको बजार देखिन्छ । यहाँ अहिले पनि युवा जोडी आउने गरेको स्थानीयवासी बताउँछन् ।

एकादशीमा यहाँ बृहत् मेलासमेत लाग्ने गरेको र मागेको कुरा पूरा हुने विश्वास रहेको स्थानीयवासी जितबहादुर आले बताउनुहुन्छ । सम्फ¥याङ सामुदायिक वन ९२ हेक्टर क्षेत्रफलमा फैलिएको र त्यसमा एकसय ३० उपभोक्ता सहभागी छन् । तीमध्ये सत्तरी प्रतिशत बढी चेपाङ छन् । उनीहरुले गएको हप्तामात्रै प्रतिघर दुईजनाका दरले श्रमदान गरेर झन्डै चार किलोमिटर बाटो निर्माण गरेका छन् ।

आकर्षक पर्यटकीय क्षेत्र भुँयरीदेवी थानदेखि नागदहसम्मै बाटो निर्माण भएपछि अहिले पर्यटक आकर्षण गर्नका लागि प्रचारप्रसार अभियानलाई तीव्रता दिएको सामुदायिक वनका अध्यक्ष अणबहादुर सारु मगर बताउनुहुन्छ ।

शक्तिखोर आफैँमा ग्रामीण पर्यटनका लागि महत्वपूर्ण गन्तव्य हो । चेपाङ समुदायको रहनसहन र पहाडका आकर्षक दृष्यावलोकनका कारणले यो क्षेत्र पर्यटकका लागि मनमोहक र आकर्षणका केन्द्रविन्दु बन्दै गएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप