मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मलेसियाले यसरी तान्दैछ करोडौं पर्यटक

आइतबार, १३ चैत २०७३, १४ : २६
आइतबार, १३ चैत २०७३

राजकुमार सिग्देल

क्वाललम्पुर–मलाकास्थित ए–फामोसा रिसोर्ट एण्ड होटलकी म्यानेजर वाङ चुई फोङलाई भ्याइनभ्याई थियो । रिसोर्टमा आउने पाहुनाको स्वागत, उनीहरुको रुचिअनुसारको व्यवस्थापनका साथै अन्य व्यवस्थापकीय काम गर्नमा उनी व्यस्त देखिन्थिन् । गत फागुन महिनाको पहिलो साता नेपाली पत्रकारहरुको टोली त्यहाँ पुग्दा उनको न्यानो आतिथ्यता नै प्रसंसनीय थियो ।

मलेसियाको प्रमुख आकर्षक गन्तब्यमध्येको एक हो–ए फामोसा । जहाँ मनै लोभ्याउने विभिन्न ‘सो’ हरु देखि चिडियाखानामा विभिन्न बन्यजन्तु, पशुपन्छीलगायतको अवलोकन गर्न सकिन्छ । एकै ठाउँमा भरपूर ज्ञान, मनोरञ्जन र आनन्द पाइने स्थानमा ए–फामोसा एक्लो भने होइन । छोटो समयमा घुमघामको लागि क्वालालाम्पुर आसपासका सनवे लंगुन, पुत्रजया, जेन्टिङ हाइल्याण्ड, ट्वीन टावर, केएल टावरलगायतका स्थान मलेसियाका प्रमुख पर्यटकीय गन्तब्य हुन् । सँगसँगै क्वाललम्पुर सिटी टुरका क्रममा देखिने राष्ट्रपति भवन, प्रधानमन्त्री भवनका साथै त्यहाँका राजदरबार निकै कलात्मक र आकर्षक रहेको छ ।

त्यसैले त ती स्थानहरुले दैनिक हजारौं पर्यटकलाई तानिरहेको छ । हिन्दु मन्दीरका साथै मुस्लिम चर्च र बौद्धमार्गीहरुको गुम्बाले यहाँ सामाजिक धार्मिक, जातीय विविधता र सौहार्दतापूर्ण सम्बन्धको वातावरण रहेको भान हुन्छ ।

नेपालजस्ता विकासिल देशबाट मलेसिया पुग्नेहरुका लागि त क्वाललम्पुरको विकास बुझ्ने, सिक्ने, र त्यसलाई नेपालीपनमा ढाल्नको लागि योजना बनाउन निकै सहयोगी हुनसक्छ । व्यवस्थित सहरीकरण र सडक सञ्जाल, गगनचुम्बी भवन, स्वस्थ्य र हराभरा वातावरणका साथै राज्य सञ्चालनमा अपनाइएको ‘सिस्टम’ले विश्वको ध्यान मलेसियातर्फ तानिएको छ ।

४० वर्षको मेहनत र योजनाबद्ध सक्रियतामा तत्कालिन मलेसियन प्रधानमन्त्री महाथीर महम्मदले जसरी मलेसिया बनाउने काम गरे नेपालजस्ता विकासिल मुलुकमा पनि राजनीतिक इच्छाशक्ति हुने हो भने विकास गर्न कुनै कठीन हुनेछैन भन्ने बुझ्न सकिन्छ ।

विकास, सभ्यता, इतिहास, संस्कृति, सहनसहन रहेको मलेसियामा पर्याप्त पर्यटकीय स्थल रहेकै कारणले गर्दा त बर्सेनी २५ मिलियनबढी पर्यटक मलेसिया पुग्ने गर्छन् । पर्यटनकै ओइरो लाग्ने भएर त कूल ग्राहस्थ उत्पादनको महत्वपूर्ण हिस्सा पर्यटन क्षेत्रले ओगटेको छ ।

टुरिजम मलेसियाका प्रमुख टुरिजम अधिकृत लोगी दासान थानाराज भन्दै थिए–हामी अझैं पर्यटन भित्र्याउन चाहन्छौं । त्यसका लागि हामी लागिपरेका छौं । आफ्नै कार्यकक्षमा नेपाली सञ्चारकर्मीहरुसँगको भेटका क्रममा उनले नेपालसँग पनि आफूहरुले पर्यटन क्षेत्रमा सहकार्य गरेर काम गर्ने चाहना देखाए ।

उपनिवेश हुँदै स्वतन्त्रताको लडाई जितेर विकासको पथमा लम्किएको मलेसिया आजसम्म आइपुग्दा विश्वको ध्यान आकर्षित हुने देश बन्न सफल भएको छ । विदेशी लगानी भित्र्याएर बनेको मलेसियाले हालका दिनमा लाखौ विदेशी कामदारलाई रोजगारी दिएको छ नै आर्थिक विकासमा थप सशत्त, ढंगले लागिपरेको छ । यही विकास, यही प्रगति, यही पर्यटन लोभ्याउने गन्तब्यले मलेसियामा ओइरिने भएर नै त यहाँका होटल व्यावसाय पनि निकै फस्टाएका छन् । पुत्रजयास्थित पुलमान होटलकी मार्केटिङ अफिसर वान इफिरा मुस्ताफा भन्दै थिइन्, ‘पर्यटकको बाक्लो आगामनले नै हाम्रो हाटल भरिभराउ भएका छन् ।

क्वालालम्पुरस्थित होटल रोयल, होटल वान वल्ड, पार्क रोयलजस्ता आफ्नो पहिचान बनाउन सफल भइसकेका होटल सञ्चालकहरुले पनि यहाँको फस्टाउँदो पर्यटन व्यावसायले आफूहरुलाई उत्साहित बनाएको बताए ।

पछिल्लो वर्षहरुमा नेपालीहरुले पनि घुमघामलाई प्राथमिकता दिन थालेसँगै मलेसिया जानेहरुको संख्या ह्वात्तै बढ्न थालेको छ ।

यसबाहेक मलेसियाका विभिन्न स्थानमा काम गर्ने ७ लाखको हाराहारीको नेपाली समेत रहेका छन् । नेपालीहरुको सुविधालाई नै मध्यनगर गर्दै हिमालय एयरलाइन्सले काठमाडौं–क्वालम्पुर उडान सुरु गरेको छ । गत माघ २८ गतेदेखि एयरलाइन्सले सिधा उडान गरेसँगै अहिले त्यहाँ कार्यरत नेपाली र घुमघामका लागि जान–आउन चाहनेको लागि सहज भएको हिमालय एयरलाइन्सकी मिडिया संयोजक उज्वला दलीले बताइन् ।

एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले साताको मङ्गलबार र शनिबारबाहेक सातामा पाँच दिन काठमाडौँ–क्वालालम्पुर उडान हुने गरेको र त्यसबाट नेपाल तथा मलेसियाबीचको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप