मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बिरोधमा सडक ठप्प हुँदा सगरमाथा हिँडेका पर्यटकसमेत पैदलै

मङ्गलबार, १५ चैत २०७३, ०८ : ४६
मङ्गलबार, १५ चैत २०७३

सोलुखुम्बु, १५ चैत । तिङ्ला स्वायत्त गाउँपालिका घोषणा गरिनुपर्ने वा दूधकुण्ड नगरपालिकामा समाहित गर्नुपर्ने माग गर्दै विरोधमा उत्रिएका तिङ्लावासीले सदरमुकाम जोड्ने सडकअन्तर्गत तिङ्लाखण्ड बन्द गर्दा स्थानीयवासी तथा पर्यटक मारमा परेका छन् ।

यस गाविसलाई सोलु दूधकुण्ड नगरपालिकामा समावेश गर्नुपर्नेमा हुनुपर्ने माग विपरीत नेचासल्यान गाउँपालिकामा समावेश गरेको भन्दै तिङ्लावासीले गएको शुक्रबारदेखि सडक बन्द गरेका हुन् । दर्जनौँ स्थानमा रुख ढाल्नुका साथै ढुङ्गा थुपारेर सडक अवरुद्ध गरेका स्थानीयवासीले सडकमै धर्ना दिइरहेका छन् ।

साविकको तिङ्ला गाविसभित्र पर्ने सडकखण्डमा अवरोध पु¥याएपछि जिल्लाबाट राजधानी, तराईका जिल्ला जाने तथा जिल्लामा आउने यात्रु साविकको केरुङ गाविसको पत्तालेदेखि चार घन्टाभन्दा बढीको उकालो ओरालो हिँडी दूधकुण्ड नगरपालिकाको साल्मेसम्म पुग्नु परेको छ ।

सडक बन्दसँगै स्थानीयवासीले व्यापारका लागि सदरमुकाम ल्याउने कुनै पनि वस्तु बोकेर ल्याउनसमेत दिएका छैनन् । सडक यातायात हुँदै सगरमाथा क्षेत्र हिँडेका पर्यटक पनि हिँडेरै आवतजावत गर्न बाध्य भएका छन् ।

पाँच दिनदेखि सडक बन्द हुनाका साथै बोकेरसमेत सामान ल्याउन नपाउँदा सदरमुकाममा उपभोग्य वस्तुको अभाव सुरु भएको भन्दै उद्योग वाणिज्य सङ्घ, सोलुखुम्बु शाखले सडक बन्दको विकल्प खोज्न अनुरोध गरेको छ ।

बन्द खुलाउन गत शनिबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफल बिना निष्कर्ष टुङ्गिएको थियो । त्यसपछि अहिलेसम्म वार्ता पनि भएको छैन । प्रमुख जिल्ला अधिकारी, उमेश पाण्डे उनीहरुको माग जिल्ला तहबाट पूरा नहुने र केन्द्रमा जानकारी पठाइसक्दा पनि बन्दकर्ताले बन्द फिर्ता नलिएको बताउँछन् । केही समय पर्ख र हेरको अवस्थामा रहेको र बन्द लम्बिएमा बल प्रयोग गरी सडक खुलाउने प्रजिअ पाण्डेले बताए ।

आन्दोलनकारी भने आफूहरुको माग पूरा नहुन्जेलसम्म कुनै पनि हालतमा बन्द फिर्ता नहुने बताउँछन् । सङ्घर्ष समितिका संयोजक बालकुमार कार्की भन्छन् – “हामी माग पूरा नभई सडक छाड्दैनौँ, आश्वासनले मात्र हुँदैन व्यवहारमा चाहिन्छ”, तर सीमाङ्कन परिवर्तनको कुरा तत्काल असम्भव रहेको सम्बद्ध व्यक्तिको भनाइ छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप