मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नयाँ वर्षमा फालेलुङमा चौरी महोत्सव हुने

मङ्गलबार, १५ चैत २०७३, १९ : ०३
मङ्गलबार, १५ चैत २०७३

रविन्द्र काफ्ले पाँचथर, १५ चैत - नयाँ वर्ष २०७४ को पहिलो दिन आगामी बैसाक १ गते पाँचथरको फालेलुङ गाँउपालिकाको चारतारेमा चौरी महोत्सव आयोजना गरिने भएको छ ।

जैविक विविधताको संरक्षण गर्दै चौरीको प्रवद्र्धन गर्ने, फालेलुङ क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने तथा चौरी संस्कृतिको विकास गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो । जिल्ला समन्वय समिति, जिल्ला वन कार्यालय, जिल्ला पशुसेवा कार्यालय, मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, इसिमोड, फालेलुङ गाँउपालिका, सामुदायिक वन उपभोक्ता महासंघ, दीपज्योती युवा क्लव र फालेलुङ चौरीपालक कृषक समूहको प्रवद्र्धनमा सुर्केथाम दुग्ध उत्पादक सहकारी संस्था फालेलुङले महोत्सव आयोजना गरेको हो ।

८ लाख रुपैँया लाग्ने अनुमान गरिएको महोत्सव बैसाक १ गते एक दिन चल्नेछ । आगामी वर्षहरुमा समेत चौरी महोत्सवलाई निरन्तरता दिने तयारी गरिएको महोत्सव मूल आयोजक समितिका उपाध्यक्ष चन्द्रलाल नेपालले वताए । १ हजार पर्यटकले अवलोकन गर्ने अनुमान गरिएको महोत्वसको मूख्य आकर्षण ‘याक राइडिङ’ हो । सामान्यत मान्छे देख्नेवित्तिकै याकले लखेट्न खोज्छ र याकसँग मानिस डराउने गर्छन् । मानिस डराउने भएकै कारण विशेष आकर्षणको रुपमा याक राइडिङ राखिएको उपाध्यक्ष नेपालले वताए । राइडिङका लागि ४ ओटा याक तयार पारिएका छन् । यस्तै विभिन्न प्रजातीका ५ सय चौरीको प्रदर्शनी गर्ने, जैविक विविधता संरक्षण सम्बन्धि चेतनामुलक कार्यक्रम गर्ने, साँस्कृतिक कार्यक्रम गर्ने तयारी आयोजकको छ । महोत्वसमा चौरीको उत्पादनका स्टलहरु राखिनेछन् ।

नेपाल भारत सीमा क्षेत्र भएका कारण महोत्सव आयोजना गरिएको ठाँउमा जोडी नेपाली झण्डा फहराइनेछ । फालेलुङ गाँउपालिका–४ चाररातेमा महोत्सव आयोजना गरिएको छ । ३ हजार ५ सय ६० मिटरको उचाईमा रहेको महोत्सव आयोजना गरिएको चारराते इलाम–पाँचथरको पर्यटकीय क्षेत्र सन्दकपुरबाट ८ किलोमिटर उत्तरमा रहेको छ । नेपालमै पहिलो पटक चौरी महोत्सव हुन लागेको आयोजकको दाबी छ ।

चौरी संस्कृति विकास गर्ने लक्ष्य

जिल्लाको साविकका मेमेङ र प्राङबुङ गाविसमा १८ ओटा चौरी गोठ छन् । त्यहाँ सरदरमा २० ओटा चौरी रहेका छन् । चौरी पालनमा सम्लग्नहरु चौरी पाल्ने, चौरीका उत्पादनहरु विक्री गरेर जिविकोपार्जन गर्ने गर्दछन् । जिल्ला वन अधिकृत देवेशमणि त्रिपाठी यसलाई चौरी संस्कृतिको रुपमा विकास गर्नुपर्ने वताउँछन् । “चौरी संस्कृति र उत्तरी क्षेत्रको भौगोलिक अवस्था, पर्यावरण, शिक्षा–दिक्षाका बारेमा थप अध्ययन आवश्यक छ” त्रिपाठीले भने “जैविक विविधताको संरक्षण गर्दै पर्यटनको प्रवद्र्धन र चौरीका उत्पादनको प्रचारका लागि महोत्सव फलदायी बन्न सक्छ ।”

भारतले नेपालसँगको सीमावर्ती क्षेत्रको बाटो प्रयोग गरेर ४ दिन लाग्ने ‘टे«किङ प्याकेज’ बनाएको छ । नेपालले सन्दकपुरबाट पाँचथरको फालेलुङ गाँउपालिका हुँदै पाँचथर–ताप्लेजुङको सीमावर्ती तिम्बुपोखरी सम्मको प्याकेज बनाउन सके चौरीको थप प्रवद्र्धन हुने र चौरीका उत्पादनले राम्रो बजार पाउने त्रिपाठी वताउँछन् । गत माघमा जिल्ला वन कार्यालयको अगुवाईमा उक्त क्षेत्रमा गरिएको अवलोकन भ्रमणबाट चौरी महोत्सव आयोजना गर्ने तय गरिएको त्रिपाठीले जानकारी दिए । पाँचथरको सुदुर उत्तरी फलैँचा र ताप्लेजुङको कालिखोला गाविसमा करिब ५० को संख्यामा चौरी गोठ छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप