मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कञ्चनपुरमा चार दर्जन प्राकृतिक ताल

सोमबार, २८ चैत २०७३, १२ : ४६
सोमबार, २८ चैत २०७३

कञ्चनपुर, २८ चैत । कञ्चनपुरमा चार दर्जन प्राकृतिक ताल रहेको पाइएको छ । जिल्ला कृषि विकास कार्यालय, कञ्चनपुरले सङ्कलन गरेको तथ्याङ्कअनुसार यहाँ ४७ प्राकृतिक ताल रहेका छन् ।

सङ्कलित तथ्याङ्कअनुसार सबैभन्दा ठूला तालमा बेलौरी नगरपालिकाको पुरैना ताल र बन्दा ताल रहेका छन् । क्रमशः दुवै तालको क्षेत्रफल ३० र २५ हेक्टर रहेको छ । बाँकी अन्य तालको क्षेत्रफल शून्य दशमलब ४ हेक्टरदेखि ७ हेक्टरसम्म रहेको छ ।

प्राकृतिक तालमध्ये २७ वटा तालमा स्थानीय बासिन्दाले माछापालन गरेका छन् । उपभोक्ता समूह र सामुदायिक वनले ठेक्कामा दिएर तालमा माछापालनको कार्य गरेका छन् ।

सामुदायिक वन र निकुञ्ज क्षेत्रमा रहेका २० तालमा प्राकृतिक रुपमा माछा रहे पनि व्यावसायिक माछापालनको कार्य नगरिएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताए ।

प्राकृतिक तालमध्ये शुक्लाफाँटा नगरपालिकामा १३, बेलौरी नगरपालिकामा आठ बेदकोट नगरपालिकामा छ, कृष्णपुर नगरपालिकामा चार, पुनर्वास नगरपालिकामा पाँच, महाकाली नगरपालिकामा तीन, बेलडाँडी गाउँपालिकामा चार, लालझाडी गाउँपालिकामा एक, भीमदत्तनगरपालिकामा एक र शुक्लाफाँटा निकुञ्जमा दुई गरी ४७ वटा ताल रहेको उनले जानकारी दिए । संरक्षण संवद्र्धनको अभावमा अधिकांश प्राकृतिक तालहरु पुरिँदै जान थालेका छन् ।

वर्षाको पानीले बगाएर ल्याउने माटो र बालुवाका कारण अधिकांश तालको अस्तित्व लोप हुने खतरामा रहेको अधिकृत जोशीले बताए ।

“माछापालन गरिएका तालको संरक्षणका लागि केही रकम बर्सेनि विनियोजन हुँदै आए पनि अन्य तालको संरक्षणको कार्य हुन सकेको छैन” – उनले भने । चुरे फेदीमा रहेका दुई दर्जन बढी तालको सबैभन्दा बढी जोखिममा रहेको उनले बताए ।

दुर्लभ चराचुरुङ्गी, सरिसृपको वासस्थान भएका यहाँका प्राकृति ताल पुरिन थालेपछि अस्तित्वमा खतरामा परेको छ ।

यहाँ रहेका सम्पूर्ण तालको क्षेत्रफल ३०० हेक्टर बढी रहेको अध्ययनकर्ताको भनाइ रहेको छ । प्रशस्त तालतलैया रहेको कञ्चनपुर जैविक विविधताले भरिपूर्ण रहेको छ ।

समुद्र सतहदेखि १६० मिटरदेखि १५२८ मिटरसम्म उचाइ रहेको यहाँ विशेष किसिमको जैविक विविधता पाइन्छ । तालमा २९ प्रकारका माछा, ११ किसिमका उभयचर तथा सरिसृपका साथै ३१ प्रकारको सिमसार क्षेत्र यहाँ पाइन्छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप