मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नयाँ वर्षको दिन १२ हजार धार्मिक पर्यटक

शनिबार, ०९ वैशाख २०७४, १० : ३३
शनिबार, ०९ वैशाख २०७४

प्रेम आचार्य सन्धिखर्क, ९ वैशाख । धार्मिकस्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

एक वर्ष पहिलाको तुलनामा आजभोलि आउने दर्शनार्थीको सङ्ख्यामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । विगतका वर्षमा दैनिक दुई सयदेखि एक हजार जनाले दर्शन तथा पूजाआजा गर्ने गरेकामा अहिले एक हजारदेखि दुई हजारसम्मले दर्शन गर्ने गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष पृतम थापाले बताए ।

वैशाख १ गते नयाँ वर्षको दिन १२ हजारभन्दा बढीले दर्शन गरेको र उक्त दिन मन्दिरमा रु एक लाख नौ हजार आठ सय भेटी चढेको उनको  भनाइ छ । सन्धिखर्क नगरपालिका–७ खाँचीकोटमा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिर धेरै भेटी सङ्कलन हुने मन्दिरमध्येको एक हो । यहाँ उठेको भेटीबाट विकास निर्माणका काम भइरहेका छन् । मन्दिरमा चढाइएको भेटीबाट आदर्श मावि खाँचीकोटमा छ र शान्ति निमावि सीतापुरमा चार शिक्षक राखिएको छ । भेटीबाट सङ्कलित रकममध्ये मासिक रुपमा आदर्श मावि र शान्ति निमाविलाई रु एक लाख २० हजार उपलब्ध गराइएको मन्दिर व्यवस्थापन समितिका सचिव यादव घिमिरेले बताए । यस्तै सन्धिखर्कमा रहेको पाणिनि वेदविद्या आश्रमका लागि वार्षिक रु एक लाख २० हजार उपलब्ध गराइने उनको  भनाइ छ । “विद्यालयसँगै अन्य विकासनिर्माणका काममा पनि सहयोग पु¥याउने गरेका छौँ”, उनले भने , “खानेपानी प्लटिङ, मोटरबाटो निर्माणजस्ता विकास निर्माणका काम भएका छन् । विभिन्न खाले जटिल खालका बिरामीको उपचार खर्चमा समेत सहयोग पु¥याउँदै आएका छौँ ।”

मन्दिरमा गत वर्ष रु ६० लाख आम्दानी भएको थियो । यस वर्ष बढेर रु ८० लाख पुग्ने मन्दिर सचिव यादवले बताए ।  मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलवस्तु, दाङ, प्युठान, गुल्मी र रुपन्देहीबाट बढी मात्रामा पर्यटक आउने गर्छन् । भारतको उत्तर प्रदेश, विहारबाट समेत यहाँ दर्शन गर्न आउने गरेका छन् ।

विद्यालय चलाउन कठिन भएका समयमा मन्दिरको भेटीबाट प्राप्त रकमले शिक्षक राखेर विद्यालय सञ्चालन गर्दा धेरै सहज भएको आदर्श मावि खाँचीकोटका प्रअ डिल्लीराज थापाले बताउनुभयो । “मन्दिरबाट सहयोग नमिलको भए यो विद्यालय प्रावि नै रहने थियो” उउनले भने , विद्यालयलाई यो अवस्थासम्म ल्याउन पाउँदा हामी निकै खुसी छौँ ।” मन्दिर व्यवस्थापन समितिले यहाँ उठेको रकमबाट मन्दिर र विद्यालय सञ्चालन, विकासनिर्माण र बिरामीको उपचारमा सहयोग गर्दै आएको बताएको छ । सुपा देउराली मन्दिर वरिपरिको वातावरणलाई व्यवस्थित गरी यसको प्रचारप्रसारमा ध्यान दिनुपर्ने संरक्षण समितिका उपाध्यक्ष गोबर्धन थापाले बताउनुभयो । “मन्दिरको भेटी विद्यालय जस्तो सामाजिक संस्थालाई दिनु राम्रो कार्य हो”, उनले भने सुपा मन्दिरको शिरमा जान सकिने केबुलकार र साहसिक पदमार्ग बनाउन सके यहाँ पर्यटन व्यवसायबाट राम्रो आम्दानी लिन सकिने सहायक प्रजिअ नारायण खत्रीले बताए ।

सुपाको पूर्वमा रहेको भैँसी मेलामा मन्दिर बनाएर केबुलकार बनाउने, पश्चिमको सिद्ध मन्दिरमा पुल बनाउने तथा साहसिक पदमार्गको निर्माण गर्न सके नेपालकै प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बनाउन सकिने उहाँले बताउनुभयो ।। सन्धिखर्क गोरुसिङ्गे सडकखण्डसँगै जोडिएकाले पनि यसको महत्व बढ्दो छ । सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ । यहाँ राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो ओहदामा पुगेका व्यक्तिसमेतले दर्शन गर्छन् । कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाकल गरे समस्या टर्ने विश्वास छ ।

सुपा देउराली नजिकै मनोरम दृश्यले भरिपूर्ण नरपानीको डाँडाले पनि यस क्षेत्रमा पर्यटन विकासले फड्को मार्नेमा विश्वास लिइएको छ । नरपानी डाँडा चिसो हावा र पानीले प्रसिद्ध छ । यहाँबाट धेरै हिमाल देख्न पाइन्छ । मनमोहक दृश्य देख्न पाइने हुँदा गर्मीयाममा तराईबाट गर्मी छल्न यहाँ धेरै पर्यटक आउने गर्छन् । यहाँ भारतबाट आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएको छ ।

रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप