मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

धौलागिरि आधारशिविरमा थुप्रिएको फोहोर हटाउन पहल गर्नुपर्ने

शुक्रबार, २२ वैशाख २०७४, १६ : ५६
शुक्रबार, २२ वैशाख २०७४

म्याग्दी, २२ वैशाख । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीस्थित धौलागिरी हिमालको आधार शिविर क्षेत्रमा वर्षांैदेखि थुप्रिएको फोहोर हटाउन स्थानीय युवाले पहल थालेका छन् ।

संसारको सातौँ (९८,१६७ मिटर) अग्लो हिमालको रुपमा रहेको धौलागिरि हिमालको आरोहण र धौलागिरि चक्रिय पदमार्गको भम्रणमा जाने पर्यटकले प्रयोग गरेर फालेका फोहोर सामग्रीले धौलागिरि आधारशिविर क्षेत्र प्रदूषणको चपेटामा परेको छ ।

आधार शिविरमा आरोही र भम्रणमा पुगेका पर्यटक, पथ प्रदर्शक र तिनका सहयोगीले प्रयोग गरेर फालेका फोहोर वर्षौदेखि थुप्रिएको कारण त्यसलाई हटाउन पहल थालिएको राउन्ड धौलागिरि युवा क्लब मुदी मगराका अध्यक्ष दिलबहादुर पुनले बताए ।

बस्तीदेखि तीन दिन लामो पैदल दुरीपछि मात्रै धौलागिरी हिमालको आधार शिविर क्षेत्रमा पुगिन सकिन्छ । सरकारी निकायबाट अनुगमन नहुँदा पर्यटकले त्यहाँ जथाभावी फोहोर फाल्नेक्रम बढेकाले नै सो क्षेत्र प्रदुषणको चपेटामा पर्ने खतरा रहेको उनले बताए ।

धौलागिरि हिमालको आधार शिविर पदयात्राको अन्तिम मानवबस्तीको रुपमा रहेका बगराको सो क्लबले हालै धौलागिरि आधार शिविरमै पुगेर फोहोरको अवस्थाबारे स्थलगत अध्ययन गरेको छ । आधारशिविरमा अहिलेपनि दुर्घटनाग्रस्त हेलिकप्टरका पार्टपुर्जादेखि पर्यटकले प्रयोग गरेर यत्रतत्र फालेका फोहोर अत्यधिक मात्रामा भेटिएको क्लबका कोषाध्यक्ष पूर्णबहादुर पुर्जाले बताए ।

क्लबका ९ जनाको टोलीले पाँच दिन लामो पद्यात्रामार्फत धौलागिरि आधारशिविर क्षेत्रमा थुप्रिदै गएको फोहोरको स्थलगत निरीक्षण र अध्ययन गरेको थियो । अध्ययन टोलीले धौलागिरि आधारशिविर क्षेत्रमा थुप्रिन थालेको फोहोरलाई तत्काल व्यवस्थापन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन जिल्ला समन्वय समिति र धौलागिरि गाउँपालिका कार्यालयमा लिखितरुपमा आग्रह गरिसकेको छ ।

‘‘पर्यटकीय क्षेत्रमा बढेको फोहोरले नकरात्मक सन्देश प्रवाह गर्ने खतरा छ, अर्कोतर्फ यसले हिमाली क्षेत्रमा प्रदूषण बढाउने निश्चित छ, आधार शिविरमा बढेको फोहोर हटाउन सरकारले आर्थिक सहयोग गरे, त्यसको नेतृत्व गर्न हामी तयार छौ’’–क्लबका सहसचिब खिमबहादुर बुढामगरले भने ।

धौलागिरि हिमालको आधारशिविर क्षेत्रमा वर्षांैदेखि रहेको फोहोरलाई हटाउँदै पर्यटकलाई समेत फोहोर नफाल्न कडाइ गर्न क्लबले सहयोगीको भूमिकामा काम गर्न तयार रहेको जनाएको छ ।

स्थानीयवासीले धौलागिरि आधारशिविर क्षेत्रमा फालिएको फोहोर व्यवस्थापन गर्न र पर्यटकलाई यस क्षेत्रमा जथाभावी रुपमा फोहोर फ्याक्न रोक लगाउनुपर्ने माग गर्दै आएका छन् । आधारशिविरमा पुग्ने पर्यटक र तिनीहरुका सहयोगीले प्रयोग गरेर फालेका कपडा, ग्यास सिलिन्डर, भारी बोक्ने क्यारी, सिसाका बोतल, रबर र फलामका भाँडाकुडा, खानाका बट्टा, चियाका थर्मस, डोका, खाँदा, खाजा प्याक गरिएका प्याकेट तथा प्लास्टिकलगायतको फोहोर थुप्रिएको छ ।

यस क्षेत्रमा हेलिकप्टर मार्फत पु¥याइएका टायर, धातुका सामग्री र आरोहणमा प्रयोग गरिएका उपकरणसमेत आधार शिविरमै अव्यवस्थित तवरले फालिदै आइएको देखिएको छ । आधारशिविर क्षेत्रमा सरकारी उपस्थिति र निगरानी नभएकालेसमेत फोहोर बढेको मुदीका पर्यटन व्यवसायी हरिप्रसाद तिलिजाले बताए ।

केहीवर्ष अगाडि पर्यटन मन्त्रालयले लाखौँ खर्च गरेर धौलागिरि आधारशिविरको फाहोर व्यवस्थापन गर्न काठमाडोँबाट एक टोली परिचालन गरे पनि उक्त टोलीले फोहोर व्यवस्थापन गर्नुको साटो औपचारिकता मात्रै पूरा गरेर फर्किएको स्थानीय पर्यटन व्यवसायीको गुनासो छ ।

अत्यधिक चिसो हुने भएकाले आधारशिविरमा वर्षांैदेखि कुहिने प्रकारका फोहोरसमेत नकुहिएको अवस्थामा थुप्रो लागेको अवस्थामा रहेको देखिएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप