मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

शान्तिपुर मन्दिर जीर्णोद्धार सुरु

मङ्गलबार, २६ वैशाख २०७४, १५ : ३०
मङ्गलबार, २६ वैशाख २०७४

काठमाडौँ, २६ वैशाख । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले स्वयम्भूको प्राचीन सम्पदा शान्तिपुर मन्दिर रु चार करोडको लागतमा जीर्णोद्वार सुरु गरेको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका परकम्पका कारण सो सम्पदामा ठूलो क्षति भई जोखिम बढेपछि महासमितिले आफ्नो खर्चमा मन्दिर बनाउने भएको हो । स्वयम्भू महाचैत्यदेखि करिब तीन सय मिटरको दूरीमा रहेको सो सम्पदा पुरानो मानिन्छ । त्यसका विभिन्न भागमा चिरा परी भत्कने स्थितिमा पुगेको छ ।

पुरातत्व विभागले पुरानै स्वरुपमा मर्मत गर्न महासमितिलाई अनुमति दिएपछि जीर्णोद्वार अघि बढाइएको हो । उक्त सम्पदामा नयाँ प्रविधिको प्रयोग गरी मर्मतसम्भार पूरा गरिने महासमितिले जनाएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत त्यस क्षेत्रका चैत्य तथा प्रचाीन महत्वका अन्य सम्पदा जीर्णोंद्धारका लागि लामो अध्ययन गरेपछि करिब रु चार करोडका लागतमा सो सम्पदा बनाउन लागिएको महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिनुभयो । महासमितिले विभिन्न माध्यमबाट सङ्कलन गरेको आर्थिक स्रोत खर्च गरी मर्मत अगाडि बढाइने महासमितिका कोषाध्यक्ष पुण्यसागर लामाले बताए ।

महासमितिले बुद्धजयन्तीका दिन बुद्धका शान्तिका उपदेश तथा नैतिक शिक्षालाई फैलाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्ने समेत जनाएको छ । सोही सन्दर्भमा यही वैशाख २७ गते बुद्धजयन्तीका दिन पर्यटकलाई उक्त सम्पदास्थलमा निःशुल्क दर्शनको व्यवस्था गराइने महासमितिका उपाध्यक्ष ज्ञानु लामाले जानकारी दिए ।

त्रिविमा बुद्धजयन्ती त्रिवि, बौद्ध अध्ययन केन्द्रीय विभाग, कीर्तिपुरमा दुई हजार ५६१औँ बुद्ध जयन्ती तथा त्रिसंयोग दिवस आज मनाइएको छ । कार्यक्रममा विभागका निमित्त प्रमुख डा गौतमवीर वज्राचार्यले सो दिन नेपालका लागि विशेष महत्वको दिन भएको बताउँदै सम्पूर्ण मानव मात्रले बुद्धको धर्मदर्शनलाई चिन्तन र मनन गर्नुपर्नेमा जोड दिए ।

बौद्ध अध्ययन विषयमा स्नातकोत्तर तहका विद्यार्थीका तर्फबाट अनुपवीर वज्राचार्यले बुद्ध जन्मथलो नेपालमा विसं २०५६ देखि बौद्ध अध्ययनको विषय सञ्चालन गरेकामा त्रिविप्रति आभार व्यक्त गर्दै खुसी व्यक्त गरे । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप