मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदिशपुर ताल सुकाउन थालियो

मङ्गलबार, २६ वैशाख २०७४, १८ : ०७
मङ्गलबार, २६ वैशाख २०७४
चुरामणि अर्याल कपिलवस्तु, वैशाख २६– बुद्ध जयन्ती नजिकिँदै गर्दा विश्व सिमसार क्षेत्रमा सुचीकृत जगदिशपुर ताललाई राष्ट्रिय सिमसार नीति २०५९ विपरित नहर मर्मतका नाममा जैविक विविधतालाई नै असर पर्ने गरि ताल सुकाउन थालिएको छ । बुद्ध जयन्तीका अवसरमा लुम्बिनी, तिलौराकोट र बुद्धसँग जोडिएका स्थलहरुको भ्रमणमा आउने पर्यटकहरु जगदिशपुर ताल पुग्ने गर्दछन् । सिँचाई प्रयोजनले निर्मित ताल सन् २००३ मा नेपाल सरकारको पहलमा रामसार सचिवालयले अन्तराष्ट्र्रिय महत्वको रामसार क्षेत्रको रुपमा सूचीकृत गरेको थियो । वाणगंगा सिँचाई व्यवस्थापन डिभिजन कपिलवस्तुले मुल नहर रिसेपिड्ड र आरसीसी लाइनिङ्ग कार्यसँगै डिल मर्मतका लागि अर्घाखाँची निर्माण सेवालाई ठेक्का लगाएको छ । नहरमा काम गर्दा ताल सुकाउनु पर्ने भन्दै ठेकेदार कम्पनीले ताल सुकाउँदै गएको छ । ताल सुक्दै जाँदा सिमसार क्षेत्रमा पर्ने जगदिशपुर तालको पंक्षी, वनस्पति लगायतका जैविक विविधतामा असर पर्दै गएको छ । नहर मर्मतका लागि पानीको सतह घटाउँदै जाँदा तालको पूर्वी क्षेत्रमा अधिकांश स्थल मैदानको रुपमा परिणत भएको छ भने पश्चिमी क्षेत्रको धेरै स्थानमा बीच–बीचमा टापुझैं बनेको छ । ठेकेदार कम्पनीले रिसेपिड्ड र आरसीसी लाइनिङ्गसँगै तीन किलोमिटरको दूरीमा नहर ढलानका लागि भ्याटबाहेक २ करोड ११ लाख ७२ हजार ७ सय ७५ रुपैयाँमा असार २३ गतेसम्म काम सम्पन्न गर्ने गरी ठेक्का स्वीकृत गरेको छ । सिमसार क्षेत्रको रुपमा रहेको जगदिशपुर ताल संरक्षणका लागि जगदिशपुर जलाशय व्यवस्थापन बहुसरोकारवाला मञ्च गठन गरी विभिन्न कार्यक्रम गरिएको भए पनि ताल सुकाएको विषयमा भने मञ्चका सदस्यहरु मौन छन् । जगदिशपुर सिमसार क्षेत्रमा सुचीकृत भए पनि ताललाई सिंचाई प्रयोजनको तालका रुपमा मात्र लिँदा सिमसारका नाममा हुने गरेका खर्च उपलब्धिहिन देखिएको छ । विश्व संरक्षण संघ (आईयूसीएन)ले जगदिशपुर जलाशयको जैविक विविधता संरक्षणका लागि भन्दै गत वर्ष खर्च गरेको करीब १ करोड ५० लाख बढिको लगानी खेर जाने अवस्थामा देखिएको छ । आईयूसीएनले सिमसार संरक्षणका लागि भन्दै गत बर्ष स्थानीय साझेदारहरुसँगको सहकार्यमा जगदिशपुर जलाशय रामसार क्षेत्रको वैविक विविधता संरक्षण गर्दै पर्यापर्यटन र अन्य हरित उधमहरुको विकल्प मार्फत स्थानीय बासिन्दाको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले भविष्यको लागि सिमसार परियोजना सञ्चालन गरेको थियो । यसका लागि परियोजनाले होमस्टे प्रवद्र्धन, व्यवसायिक तरकारी खेती, कुखुरापालन र माछापालन जस्ता उद्यमहरु सञ्चालन गर्न समुदायलाई आवश्यक तालिम र सामाग्रीहरु उपलब्ध गराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप