मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश ६ : भद्रगोल प्रदेश प्रमुख खनालको कार्यालय, कार्यकक्षमा पूर्वराष्ट्रपति यादव ! (फोटो/भिडियो रिर्पोट)

बिहीबार, ०३ फागुन २०७४, १३ : ४०
बिहीबार, ०३ फागुन २०७४

सुर्खेत–कार्यालयको पर्खालमा रहेको बोर्डमा लेखिएको छ, प्रदेश प्रमुखको कार्यालय, प्रदेश नं. ६, सुर्खेत । मुल गेटमा दुईजना नेपाल प्रहरीका सुरक्षाकर्मी तैनाथ छन् । भित्र नेपालको झन्डा फर्फराइरहेको रातो रंगको दुई तले भवन छ । भवनभन्दा मुनी ठूलो सभा हल छ, जुन प्रदेश नंबर ६ का प्रमुखको कार्यालय हो । बाहिरबाट हेर्दा आर्कषक र भब्य देखिन्छ प्रदेश प्रमुखको कार्यालय । 
यो भवनको गेटमा पुग्नेबित्तिकै सुरक्षाकर्मीले प्रश्न गर्छन्, कहाँबाट, किन र केका लागि आउनुभएको ? असंबन्धित ब्यक्तिहरु आउनेबित्तिकै उनीहरुले गेटबाट फर्काउछन्, र संबन्धित ब्यक्ति हो भने पनि प्रदेश प्रमुखको सचिवालयका कर्मचारीको अनुमती पछि मात्र भित्र प्रवेश गर्न दिन्छन् । अर्थात यहाँ अत्यन्त कडा सुरक्षा ब्यवस्था पनि गरिएको छ । 


तर जब सुरक्षाकर्मी रहेको यो गेट पार गरेर झन्डै ५० मिटर पर रहेको कार्यालयको मुख्य ढोकाबाट प्रवेश गरिन्छ, तब देख्न सकिन्छ, प्रदेश प्रमुखको कार्यालयको भद्रगोल अवस्था । कार्यालयको मुख्य ढोकाबाट भित्र छिर्नेबित्तिकै असरल्ल ३ वटा टेबुल देख्न सकिन्छ । तल्लो तला, भर्याङ सबैतिर कागज छरिएको र फोहोर मात्र देखिन्छ । 


माथिल्लो तलाको एक कोठामा प्रदेश प्रमुख खनालको कार्यकक्ष रहेको छ, जुन तलामा भर्खर रङरोगनको काम भइरहेको छ । साथै ढोका मर्मतको काम पनि भइरहेको छ । तर न्यूनतम सरसफाई पनि भएको देखिँदैन । 
प्रदेश प्रमुखको खनालको कार्यकक्षमा पूर्वराष्ट्रपति यादवको तस्बिर  
घ्यू कलरको पर्दा हटाएर ढोका खोलेपछि पुगिन्छ, प्रदेश प्रमुख खनालको कार्यकक्ष । भुँइमा हरियो पर्दा, सोफासेट, कुर्सी, सिसाको टि टेबल र टेबल । टेबलमा राखिएको छ नेपालको झन्डा । उनी बस्ने कुर्सीलाई रातो तौलियाले छोपिएको छ ।

भित्तामा झ्यालको एक साइडमा नुवाकोटमा हुने गोरु जुधाईको तस्बिर सहितको भित्तामा क्यालेन्डर छ । र झ्यालमाथि दाँया बाँया दुई तस्बिर राखिएका छन् । जसले सबैको ध्यान खिच्न सक्छ । तस्बिरमा एकातिर पूर्वराष्ट्रपति डा.रामबरण यादव देखिन्छन् भने अर्कोतिर प्रदेश प्रमुख खनाल । 


प्रक्रियागत रुपमा सरकारी अधिकारीको कार्यकक्षमा वर्तमान राष्ट्रपतिको तस्बिर राख्ने प्रचलन छ । तर १ महिना अघिदेखि सञ्चालनमा आएको प्रदेश प्रमुखको कार्यकक्षमा भने पूर्वराष्टपतिको तस्बिर राखिएको पाइयो । 
क्षेत्रीय बन तालिम केन्द्रमा प्रदेश प्रमुखको कार्यालय स्थापना भएको झन्डै  १ महिना भएपनि यो कार्यालयको ब्यवस्थापनमा अत्यन्तै सुरस्ता देखिन्छ । सिंगो भवनमा प्रदेश प्रमुख खनालको बाहेक अरु कुनै कार्यालय छैन, उनको सचिवालयले खुल्ला चौरमा कुर्सी राखेर काम गरिरहेको उनका प्रेस संयोजक श्रीधर पौडेलले जानकारी दिए । 


प्रदेश प्रमुखको सचिवालयमा कति कर्मचारी रहने, उनीहरुले के के कार्यसम्पादन गर्ने, कर्मचारी प्रशासन कति रहने भन्नेमा अलमल रहेको प्रदेश प्रमुख खनालले  रातोपाटीसँगको अन्र्तवार्तामा बताएका छन् ।

 
प्रदेश प्रमुखको कार्यालयको तल्लो तलामा क्षेत्रीय बन तालिम केन्द्रले अझै आफ्ना सामान राखिरहेको छ । प्रदेश प्रमुखको कार्यालयको भौतिक ब्यवस्थापन र कर्मचारी व्यवस्थापनमा अन्यौलता देखिएको छ । 

भिडियाे

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप