सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

केपी ओलीको सिंहदरबारमा दोस्रो ‘इनिङ’ : झापा विद्रोहदेखि सत्तासम्म

बिहीबार, ०३ फागुन २०७४, १४ : २१
बिहीबार, ०३ फागुन २०७४

काठमाडौं– पहिलो पटक २०७२ असोज २४ गते प्रधानमन्त्रीमा निर्वाचित भएका एमाले अध्यक्ष केपी ओलीको २९ महिनापछि पुनः प्रधानामन्त्रीमा दोस्रो ‘इनिङ’ सुरु भएको छ । बिहिबार बाम गठबन्धनले प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओलीलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष दावी पेश गरेसँगै ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवाको राजीनामा स्वीकृत गर्दै ओलीलाई ४१ आैँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरेकी हुन् । अब ओलीले नियुक्त भएको ३० दिनभित्र संसदबाट समर्थन जुटाउनुपर्ने हुन्छ । 

गत मंसिर १० र २१ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनले सहकार्य गर्दै ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सारेका थिए । सोही अनुसार गत निर्वाचनमा एमालेले १ सय २१ र माओवादी केन्द्रका ५३ गरी १ सय ७४ सिट जिते भने कांग्रेसले लज्जास्पद हार व्यहोर्न पुगेको थियो । 

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठनका लागि १ सय ३८ सिट आवश्यक पर्ने भएपनि प्रतिनिधिसभामा वाम गठबन्धनको स्पष्ट बुहमत  पुगेपछि ओलीको प्रधानमन्त्रीको दोस्रो इनिङ तय भएको हो । 

यसअघि ओली २०७२ असोज २४ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनले त्यसवेला २८८ दिन कार्यकारी प्रधानमन्त्रीका रुपमा देशको शासन सत्ता सम्हाल्ने मौका पाए । जुन बेला भारतीय नाकाबन्दीको चर्को सामना गर्नुपरेको थियो । 

तर, ओलीले भारतीय नाकाबन्दीको डटेर सामना गरे । अन्ततः उनी त्यहि अडानका कारण राष्ट्रबादी नेताका रुपमा समेत कहलिए । तर, कतिपयले ओलीको उक्त अडानलाई खोक्रो राष्ट्रबादीको संज्ञा दिन भ्याएका थिए । 
नयाँ संविधान जारी भएसँगै मुलुका संघीयता कार्यान्वयनका क्रममा तीनवटा निर्वाचन स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि ओली बाम गठबन्धनको सहयोगमा प्रधानमन्त्री बनेका हुन् । 
बाम गठबन्धनको सहमतिअनुसार ओलीले ५ बर्षे कार्यकालमध्ये आधा समय प्रधानमन्त्रीको जिम्मेवारी निभाउनेछन् । यद्यपी यसबारे गठबन्धनबीचको सहमति बाहिर आइसकेको छैन । 
निर्वाचन अघि नै एमाले माओवादीले बाम गठबन्धन बनाएर ‘सुशासनका लागि बामपन्थीको सरकार’ भन्दै मत मागेका थिए । 

को हुन् ओली ?
वि.सं. २००८ फागुन ११ शनिबार तेह्रथुम जिल्लामा जन्मेका हुन्, ओली ।

सामान्य पारिवारिक अवस्थामा जन्मेका उनका बाबु मोहनप्रसाद ओली ज्योतिषि हुन् ।  हजुरबा स्व.मनरथ ओली र हजुरआमा स्व. राममाया ओलीका माता मधु ओलीको निधन भैसकेको छ । श्रीमती राधिका शाक्यसाथ बालकोटमा बस्दै आएका ओली भाइ तथा बुहारी जयप्रसाद ओली र इन्दिरा ओली छन् । त्यस्तै दिदी र बहिनी  विष्णुमाया, कौशिला र राजु रहेका छन् । 
स्थायी निवास अनन्तलिङ्गेश्वर– २, बालकोट भक्तपुर भएका ओलीको अस्थायी बसोबास भने शरणामती– ६, झापा हो । ओलीको शैक्षिक योग्यता सामान्य छ ।  नेपाली राजनीतिमा प्रखर वक्ताका रुपमा

चिनिने ओली नेपाली, हिन्दी र अंग्रजी भाषामा दख्खल राख्छन् । कतिपयले उनलाई रुखो वोली बोल्ने नेताका रुपमा समेत चिन्छन् । 

ओलीको विदेश यात्रा
ओलीले विभिन्न चरणम दुई दर्जन भन्दा बढि देशको यात्रा गरिसकेका छन् । उनले चीन, भारत, बंगलादेश, भुटान, श्रीलंका, जापान, सिंगापुर, भियतनाम, अस्ट्रेलिया, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, रसिया, स्विडेन, फिलिपिन्स, काजकिस्तान, पेरु, मेक्सिको, पोर्चुगल, स्पेन, कतार, मलेसिया, क्युवा, युक्रेन, नेदरल्यान्ड, बेल्जियम, साइप्रस, बेलारुसआदिको भ्रमण गरिसकेका छन् । 

ओलीको अवद्धता
हाल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)को अध्यक्ष छन् केपी ओली । 
२०७१ असार १९–२५ मा सम्पन्न नवौा राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा चुनिएका ओली 
 २०७० माघ २१ मा सम्पन्न निर्वाचनपछि एमाले संसदीय दलको नेता बने ।
गत संविधानसभा सदस्यमा झापा क्षेत्र नं ७ बाट विजयी भएपनि हाल क्षेत्र नं ५ विजयी बनेका हुन् । 

राजनीतिक यात्रा 
२०२३ साल, माक्र्सवादी अध्ययन दलमा संगठित भई प्रशिक्षण प्राप्त ओली 
 २०२५ सालबाट तत्कालीन नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटको फ्रयाक्सन कमिटीमा आबद्ध हुदै नेतृत्व गर्न सफल भएका थिए । नेपाल कम्युनिस्ट पार्टीको सदस्यता २०२६ सालमा पाएपछि उनले २०२६ सालमै तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको उप–सचिवको जिम्मेवारी बहन गरे ।
२०२७ वैशाखमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र पूर्वकोशी प्रान्तीय कमिटीसँग एकीकरण भएको थियो । २०२८ साल वैशाखमा तत्कालीन पूर्वकोशी प्रान्तीय कमिटीबाट नेपाल कम्युनिस्ट पार्टी अलग भएको थियो ।
२०२९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रुपमा जिम्मेवारी बहन गरेको ओलीले पटकपटक जेलजीवन विताएका छन् । 

ओलीको जेल जीवन
तत्कालिन शासन सत्ताको विरोधमा उत्रिएका उनी पहिलो पटक २०२७ फागुन १६ गते आइतबार, झापाबाट गिरफ्तार भए । पहिलो गिरफ्तारमा झापा पुलिस थानामा बसेका उनी २०२७ र २०३० का बिचमा पटक पटक गरी १० पटक बढी गिरफ्तारी भएका थिए । 

जेल यात्राको १४ बर्से अध्याय 
–२०३० असोज २३ गतेबाट जेल जीवन प्रारम्भ ।
–पहिलो पटक रौतहट गौर जेल, गौर थाना, २ दिन मात्र ।
–त्यसपछि वीरगञ्ज थाना वीरगञ्ज जेलमा चलान ।
–२०३० मंसीर ८ गते भद्रगोल जेल काठमाडौंमा चलान ।
–३ दिनपछि ११ गते सेन्ट्रल जेल गोलघर चलान ।
–२०३० मंसीर ११ देखि २०३२ वैशाख १६ सेन्ट्रल जेल गोलघरमा । र, त्यसपछि गोलघर बाहिर ।
२०३३ साउनमा नख्खु जेल चलान ।
२०३३ मंसीरमा केन्द्रीय कारागार गोलघरमै ।
२०३६ जेठमा गोलघर बाहिर ।
२०३७ चैतमा पुनः नख्खु जेल चलान ।
२०३९ माघ ३ मा पोखरा जेल चलान ।
२०४२ कात्तिकमा स्याङ्जा जेल चलान ।
२०४३ मंसीर ८ मा हनुमान ढोका जेल चलान ।
०४३ माघ १२ मा भद्रगोल जेल चलान ।
२०४४ असार ११ मा भद्रगोल जेलबाट रिहा ।

तत्कालीन राजा ज्ञानेन्द्रले चालेको ०५८ माघ १९ को ‘कू’ सँगै नजरबन्दमा परेका ओलीले जेलमुक्त भएपछि राजनीतिक जीम्मेवारी निरन्तर बहन गर्न थाले । २०४४ पुस २ गतेबाट धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा (माले) को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी हुदै २०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी बहन गर्न पुगे । 
२०४७ जेठ १ गते, तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष भएका ओली २०४९ देखि २०७१ असार मसान्तसम्म नेकपा (एमाले) स्थायी कमिटी सदस्य भए । राज्यतहमा बहन गरिएका विभिन्न समयका विभिन्न जिम्मेवारीमा २०४८ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नंम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित बन्न सफल भएका थिए ।

कहाँबाट कहिले कहिले निर्वाचित भए ओली ?
–२०५१ मा सम्पन्न मध्यावधि निर्वाचनमा झापा क्षेत्र नम्बर–६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित ।
–२०५१ मंसीर १४ गते गठित नेपालको पहिलो कम्युनिस्ट सारकारमा गृहमन्त्रीको जिम्मेवारी बहन ।
–२०५६ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नम्बर २ र ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वा्चित, साथै, नेकपा (एमाले) दलको उपनेता चयन ।
–२०६३ जेठमा गठित मन्त्रिपरिषदमा उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीका रुपमा जिम्मेवारी बहन ।
–२०७० मंसीरमा सम्पन्न संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्यका रुपमा निर्वाचित ।
–२०७४  मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट विजयी भए । 
विभिन्न समयमा प्रतिनिधिसभा, मन्त्रिपरिषद् र संविधानसभाबाट गठित विभिन्न आयोग र समितिका जिम्मेवारी बहन गरेको उनले विभिन्न समयका आन्दोलन तथा विचारधारा निर्माणमा महत्वपूर्ण भूमिकाहरु खेलेका छन् । 

२०२७ सालको झापा विद्रोह 
२०२७ सालको झापा विद्रोहमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी भित्र हतियारबद्ध संघर्ष गर्ने वा शान्तिपूर्ण संघर्ष गर्ने भन्ने सवालको बहसमा उनले शान्तिपूर्ण संघर्षको माध्यमबाट नै परिवर्तन गर्न सकिन्छ भन्ने वैचारिक अडान राखेका थिए । फरक मत राखेरै पनि पार्टीको निर्णय शिरोधार्य गरी सशस्त्र संघर्षमा होमिएका उनी २०३० सालदेखि २०४४ सालको जेल जीवनको लामो अन्तरालमा विभिन्न माध्यमद्वारा पार्टी जीवन सञ्चालन र संघर्षका कार्यक्रमबारे उहााले लिखित पत्रका माध्यमद्वारा सुझावहरु पठाउने गर्थे । 

२०४६ सालमा सम्पन्न जनआन्दोलनमा संयुक्त बाममोर्चाका तर्फबाट लुम्बिनी अञ्चलको मोर्चा सम्हालेका थिए । 

२०४९ सालमा सम्पन्न नेकपा (एमाले) को पाँचौ राष्ट्रिय माहाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादी कार्यक्रम निर्माणका सिलसिलमा मदन भण्डारीलाई सो कार्यक्रम तयार गर्न समेत अहं भूमिका निर्वाह गरेका थिए ।

२०५९ सालमा भएको नेकपा (एमाले) को सातौा राष्ट्रिय महाधिवेशनमा कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरणका सवालमा ओलीले प्रस्तुत गरेको वैचारिक कार्यक्रमिक प्रस्ताव आज आएर नेपालका सबै कम्युनिस्ट तथा अन्य प्रजातान्त्रिक पार्टीहरुले समेत मूल नीतिका रुपमा अवलम्बन गरेको ओली आफै दावी गर्छन् । 

अविचलित ओलीको अडान
आफ्नो राजनीतिक जीवनको यात्रासँगै लोकतन्त्र, दिगो शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति अविचलित अडान राख्ने ओली हालै जारी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणदेखि राष्ट्रिय एकता र राष्ट्रियताका सवालमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप