मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

म्यानमारका पर्यटन व्यवसायी पोखरामा

सोमबार, ०८ जेठ २०७४, २० : २०
सोमबार, ०८ जेठ २०७४
पोखरा, जेठ ८ – पोखराको पर्यटकीय गतिविधिबारे जानकारी लिन म्यानमारका पर्यटन व्यवसायीका टोलीले आज पोखराका पर्यटकीय स्थलको अवलोकन गरेको छ । नेपाल पर्यटन बोर्ड र हिमालयन एयरलाइन्सको संयुक्त प्रयासमा म्यानमारका पर्यटन व्यवसायी थिन थिन सिन्ट नेतृत्वको टोलीले काठमाडौंको भ्रमण सकेर आइतबार पोखरा आएको हो । म्यानमारबाट नेपालमा पर्यटकको आगमन बढाउने उद्देश्यका साथ नेपालको काठमाडौं, पोखरा र लुम्बिनी क्षेत्रका पर्यटकीय गतिविधि अध्ययन गर्न आएका सो टोली पोखरा बसाइका क्रममा फेवाताल, सराङकोट, विश्व शान्ति स्तुप, पर्वतीय सङ्ग्रहालय, पातले छाँगोलगायतका स्थलको अवलोकन भ्रमण गरेको छ । भ्रमणका क्रममा आज यहाँ आयोजित एक कार्यक्रममा म्यानमारका पर्यटन व्यवसायी थिन थिन सिन्टले पोखराका प्रकृति प्रदत्त संरचना, यहाँबाट देखिने सुन्दर हिमाली तथा पहाडी दृश्य, सुर्योदयको अवलोकन आदिले जो कोही पर्यटकलाई लोभ्याउने बताए । काठमाडौंमा हाल भइरहेका निर्माणका कारण प्रदूषण बढेको आफूले पाएको बताउँदै उनले निर्माण सकिएसँगै त्यहाँको वातावरणीय स्वच्छता कायम रहने उल्लेख गरे । म्यानमारबाट वार्षिक छ÷सात हजारको सङ्ख्यामा पर्यटक नेपाल आउने गरेको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका वरिष्ठ अधिकृत सूर्य थपलियाले बताए। उनका अनुसार नेपालमा अन्तर्राष्ट्रिय पर्यटकको आगमनलाई बढाउन बोर्डले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । छ दिने नेपालको अवलोकन भ्रमण कार्यक्रमअन्तर्गत म्यानमारको पर्यटन व्यवसायीको टोली मङ्गलबार र बुधबार लुम्बिनीको भ्रमण गरी स्वदेश फर्कने छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप