मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर ६ का मन्त्रीलाई उकालो चढ्ने फोरह्विल गाडी : प्रदेश मन्त्रालयले यस्तो काम गर्दै

शुक्रबार, ०४ फागुन २०७४, ११ : ४७
शुक्रबार, ०४ फागुन २०७४


सुर्खेत । प्रदेश नम्बर ६ मा नियुक्त हुँदै गरेका मन्त्रीहरूका लागि दिने सुविधाबारेमा गृहकार्य सुरु भएको छ । मन्त्रीलाई के सुविधा दिने भन्नेबारेमा कुनै नियम वा आदेश नभए पनि तत्कालका लागि आधारभूत सुविधाको व्यवस्था गर्न लागिएको प्रमुख प्रदेश सचिव सुरेश प्रधानले जानकारी दिए । प्रदेशको विशेष अनुरोधमा अर्थ मन्त्रालयले ६ वटा गाडी पठाएको छ । ती गाडी अब मन्त्रीका लागि दिइने उनले बताए । कच्ची बाटोमा मज्जाले चल्न सक्ने फोरह्विल गाडीको व्यवस्था गरिएको छ । मन्त्रीहरूलाई पहाडी कच्ची बाटोमा हिँड्नुपर्ने भएकाले भौगोलिक अवस्था सुहाउँदो गाडीको व्यवस्था गरिएको हो । यस्तै गृह तथा प्रधानमन्त्रीको कार्यालयले मन्त्रीहरूका लागि विशेष सुरक्षाको पनि व्यवस्था  गरेको छ ।

प्रदेश सचिव प्रधानले रातोपाटीसँग भने– “मन्त्रीको सुरक्षाका लागि पिओसो र सुरक्षाकर्मी दिने निर्णय भएको छ, मन्त्रीको निवासका लागि पनि भवन खोज्ने काम भइरहेको छ ।”

मन्त्रीको घर नजिक छ र घरमै बस्ने इच्छा भए सोही अनुसारको व्यवस्था गर्ने र त्यसो नभए सिंचाइ निर्देशनालयको कर्मचारी बस्ने आवास प्रयोग गर्ने योजना बनाइएको छ । पुल्चोकमा रहेको मन्त्री क्वाटर जस्तै एक्कै ठाउँमा ६ वटा बिल्डिङमा राख्न खोजेको उनले बताए । यता मुख्यमन्त्री बस्ने स्थलको भने टुङ्गो लागेको छ । पहिलेको क्षेत्रीय प्रशासन कार्यालय र क्षेत्रीय हुलाक कार्यालय मुख्यमन्त्रीको आवास र कार्यालयका लागि छुट्याइएको छ ।

प्रदेश सांसदका सुविधा सांसदहरूले नै तोक्ने छन् । सोहीअनुसार उनीहरूका लागि सुविधाको व्यवस्था हुनेछ ।

प्रदेश प्रमुखको आवास छिट्टै व्यवस्थापन हुने
प्रदेश प्रमुखको कार्यालय सुधार र उनका लागि आवासको छिट्टै व्यवस्थापन गरिने प्रमुख प्रदेश सचिव प्रधानले जानकारी दिए ।

उनले भने– “सकेसम्म वैकल्पिक व्यवस्था गरेर कार्यालय सार्न म्यान्डेट दिइएको छ । ६ वटाबाहेक अरू क्षेत्रीय कार्यालय खारेज गर्ने नियमअनुसार कार्यालय व्यवस्थापन भइरहेको छ । वैकल्पिक व्यवस्था नहुन्जेलसम्म कार्यालयमा रहेका महत्वपूर्ण जिन्सी सामान, अभिलेख  सुरक्षित राख्नुपर्ने भएकाले त्यस्ता सामान सार्न ढिलाइ भएको र सामान सारेर आवश्यक कार्यालय निमार्ण हुँदैछ । विकल्पका रूपमा खाली ठाउँ अभाव भएकाले समस्या परेको हो ।”

प्रदेश प्रमुखलाई आवश्यक पर्ने भौतिक संरचना उपलब्ध गराइसकेको र अन्य मर्मतको काम भवन डिभिजन कार्यालयले काम गरिहेको छ ।

कुन मन्त्रालयले के काम गर्छन् ?
संविधानले गरेको व्यवस्थाअनुसार प्रदेशका मन्त्रालयहरूले गर्ने कामको बाँडफाँड भएको छ । दिइएको अधिकार क्षेत्रका आधारमा मन्त्रालयहरूले आफ्नो कार्यसम्पादन गर्नेछन् । प्रदेश नम्बर ६ मा रहेका मन्त्रालयहरूको काम गर्ने क्षेत्र यस्तो छ :

१. आन्तरिक मामिला तथा कानुन मन्त्रालय : मुख्यमन्त्रीपछिको शक्तिशाली मन्त्रालय हो । शान्ति सुरक्षा, प्रदेश प्रहरी, प्रदेश अनुसन्धान ब्युरो, विपद् व्यवस्थापन, कानुन न्याय तथा प्रदेशसभा र प्रदेश कर्मचारी व्यवस्थापन ।
 
२. आर्थिक मामिला तथा योजना मन्त्रालय : प्रदेशको आर्थिक योजना तथा बजेट निर्माण गर्नुका साथै संस्थाहरूको अनुगमन र नियमन गर्ने ।
 
३. सामाजिक विकास मन्त्रालय : शिक्षा, स्वास्थ्य, सरसफाइ, महिला, युवा तथा खेलकुद, सामाजिक सुरक्षा, भाषा, संस्कृति र श्रम तथा रोजगार शाखा यसमन्त्रालय अन्तर्गत रहने ।

४. उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय : उद्योग, वाणिज्य, आपूर्ति, पर्यटन, वन, विज्ञान, वातावरण र जलवायु शाखा यस मन्त्रालय अन्तर्गत रहने ।  

५. भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय : भूमि व्यवस्थापन, गुठी व्यवस्थापन, कृषि, पशुपक्षी, सहकारी र गरिबी निवारण शाखा रहने ।
 
६. भौतिक पूर्वाधार विकास मन्त्रालय : यो मन्त्रालय स्थापना हुन बाँकी, कर्मचारी अझै नआएको । यो मन्त्रालयले आयोजना तथा विकास निर्माणका काम हेर्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप