मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एक हजार भक्तजन गोसाइँकुण्डमा

मङ्गलबार, १६ जेठ २०७४, १२ : ३६
मङ्गलबार, १६ जेठ २०७४

रसुवा, १६ जेठ । गङ्गादशहरा पर्वअन्तर्गत गोसाइँकुण्ड स्नान गर्नेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।

गोसाइँकुण्ड क्षेत्रका होटल व्यवसायी ढिण्डुप तामाङका अनुसार यही जेठ १२ गतेदेखि आज बिहानसम्म गोसाइँकुण्डको पवित्र जलमा स्नान गर्नेको सङ्ख्या करिब एक हजार पुगेको छ । राजा भगीरथले आफ्ना साठी हजार छोराको मुक्तिका लागि तपस्या गरी गङ्गा (भागीरथी) नदीलाई पृथ्वीमा ल्याएको दिनलाई गङ्गा दशहरा मानिन्छ । यो दश प्रकारका पाप नाश हुने भनी गङ्गा स्नान गरिने ज्येष्ठ शुक्ल दशमीको दिन पनि हो ।

समुद्री सतहबाट १४ हजार १०० फिको उचाइमा अवस्थित धार्मिक पौराणिक गोसाइँकुण्डमा यात्रु र पर्यटकलाई केन्द्रित गरी लामो समयदेखि खोलिएको होटलमा स्वच्छ खाना र सहज रुपमा वासको व्यवस्थाले गङ्गादशहरा पर्वमा आएका सबै यात्रु प्रफुल्लित भई फर्कने गरेको व्यवसायी तामाङले जानकारी दिए ।

समुद्रमन्थनबाट प्राप्त हलाहल विषको सेवनबाट डाह भई शीतलता प्राप्त गर्न पार्वतीको माइती हिमालय पर्वतमा जान हिँडेका शिवले नीलाद्री पर्वतमा त्रिशूल रोप्दा पानीको तीनधारा बगी नीलखेतमा जम्दा गोसाइँकुण्ड उत्पत्ति भएको र शिव त्यहीँ शयन गरेको बताइन्छ ।

शिवलाई गोसाइँकुण्डमा शयन गरेको अवस्थामा अहिले पनि देखिने भक्तजन बताउँछन् ।

गोसाइँकुण्ड जिन्दगीमा एक पटक भए पनि पुग्नैपर्ने तीर्थ मानिन्छ । यस याममा बाटामा हिँड्दा झारको गन्ध कम, सुख्खा मौसम, हिँड्न सहज, ठाउँ ठाउँमा खाजा नास्ता र बास बस्ने व्यवस्था, बिरामी पर्दा हेलिकप्टर झिकाउन सकिने समेत हुन्छ । गङ्गादशहरा पर्वअन्तर्गत यही जेठ २१ गतेसम्म पाँच हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुग्ने स्थानीय व्यवसायीले अनुमान गरेका छन् । रक्षाबन्धनका दिनमा पनि यहाँ ठूलो मेला लाग्छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप