मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश ६: सपथसँगै सहिदलाई माला लगाएर यसरी पदभार ग्रहण गरे मुख्यमन्त्री शाहीले (फोटो/भिडियो)

शुक्रबार, ०४ फागुन २०७४, १९ : २३
शुक्रबार, ०४ फागुन २०७४

सुर्खेत– प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पद तथा गोपनीयताको सपथ सँगै आजै पद बहाली गरेका छन् । साढे ३ बजे प्रदेश प्रमुखको कार्यालय  वीरेन्द्रनगर सुर्खेतमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले पद तथा गोपनीयतको सपथ गराएका हुन् । शाहीले ईश्वरको नामको सट्टा जनताको नाममा सपथ खाएका छन् । सपथ समारोहमा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत, एमाले संसदीय दलका नेता यामलाल कँडेल, विभिन्न दलका सांसद तथा नेता, कर्मचारीहरु उपस्थित भएका थिए । 

सपथपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेका उनले कार्यालय अगाडि राखिएका सहिदका तस्बीरमा सम्मान व्यक्त गरे । त्यहाँ उनले सहिद हरिबहादुर कुँवर र टिकाराम गौतम लगायत अन्य सहिदको तस्बीरमा माल्र्यापण समेत गरेका थिए । 

मन्त्रालयमा प्रमुख प्रदेश सचिव सुरेश प्रधानको नेतृत्वको कर्मचारी टोलीले मन्त्री शाहीलाई स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै मुख्यमन्त्री शाहीले ६ नम्बर प्रदेशमा विकासका असिमित सम्भावनाहरु रहेको भन्दै त्यसको अध्ययन गरेर गुरुयोजना बनाई विकासका कामलाई अगाडि बढाउने बताए । 

पदभार ग्रहण गर्दै मन्त्री शाहीले प्रदेश सरकारको लागि सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धी नियमावली २०७४ को स्वीकृत गर्ने, प्रदेश सरकार कार्य सम्पादन नियमावली २०७४ स्वीकृत गर्ने, प्रदेश सरकार कार्य विभाजन नियमावली २०७४ स्वीकृत गर्ने र प्रदेश मन्त्री परिषदको प्रवक्ता नियुक्ति गर्ने प्रस्ताव स्वीकृति गरे । 

मन्त्रिपरिषद आइतबार गठन हुने
आज बिहान बसेको एमाले र माओवादीले सरकारका मन्त्रीहरुबारे टुङ्गो लगाउन नसकेपछि दुबै दलबाट मन्त्री छनौट हुन सकेनन् । कुन मन्त्रालय कसले राख्ने भन्नेमा दुई दलबिच सहमति हुन सकेको छैन भने दुबै दलमा मन्त्रीका आकाँक्षी धेरै भएका कारण टुङ्गो लगाउन दुबै दललाई मुस्किल परेको छ ।

पदभार ग्रहण गर्दै मन्त्री शाहीले आइतबारसम्म मन्त्रीपरिषद गठन हुने बताएका छन् । यसअघि दुईदल बीच भएको सहमतिअनुसार माओवादी केन्द्रले मुख्यमन्त्रीसहित अन्य दुई मन्त्रालय र एमालेले ४ मन्त्रालय लिने सहमति भएको छ । प्रदेशसभामा एमालेका २० र माओवादी केन्द्रका १३ सांसद रहेका छन् । सभामुखको निर्वाचनपछि सरकार गठनमा विवाद निकालेको एमालेले सरकार गठन प्रक्रियालाई खुला रुपमा सहयोग नगरेको माओवादीका नेताहरु बताउँछन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप