मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय ‘ट्राभल ब्लगर्स एन्ड मिडिया’ सम्मेलन

बिहीबार, १८ जेठ २०७४, १७ : ५९
बिहीबार, १८ जेठ २०७४
काठमाडौँ, जेठ १८ – नेपाल हिमालको प्रवेशद्वार हो भन्ने सन्देश विश्व पर्यटन बजारमा प्रवाह गर्ने उद्देश्यले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको सम्मेलन ‘इन्टरनेसनल ट्राभल ब्लगर्स एन्ड मिडिया कन्फ्रेन्स’ आयोजना गरियो । ‘नेपाल गेट वे टु दी हिमालय’ भन्ने मूलनाराका साथ आयोजित उक्त सम्मेलनमा ३३ देशका १०७ ब्लगर्स, ७० जना पर्यटनसँग सम्बन्धित विज्ञ र विभिन्न मुलुकका एक सय भन्दा बढी पत्रकारको सहभागिता थियो । बूढानीलकण्ठमा आयोजित पर्यटन क्षेत्रकै सबैभन्दा ठूलो यो अन्तर्राष्ट्रिय सम्मेलनमा एक अर्का देशका पर्यटकीय उत्पादन, डिजिटल मिडियाको प्रयोग तथा यो क्षेत्रमा भएका नयाँ प्रयोग र ज्ञान एवम् अनुभवको आदान–प्रदान गरिएको थियो । सम्मेलनमा विभिन्न मुलुकबाट आएका विज्ञहरुले पर्यटन बजार, यसका उत्पादन र प्रवद्र्धनका नयाँ उपायबारे जानकारी गराएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आतिथ्यमा नेपाल पर्यटन बोर्ड मुख्य आयोजक र प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर कार्यकारी आयोजक रहेको सो सम्मेलनमा स्वदेशी तथा विदेशी गरी करिब ५०० को सहभागिता थियो । सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्यमन्त्री गगनकुमार थापाले पर्यटनमा नयाँ सोच र दीर्घकालीन उद्देश्यका साथ आयोजित सम्मेलनले नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । प्राकृतिक, भौगोलिक तथा सांस्कृतिक रुपमा अथाह सम्भावना बोकेको नेपाली पर्यटन बजारले अपेक्षित लाभ लिन नसकेको सन्दर्भमा यस्ता अन्तर्राष्ट्रियस्तरका प्रवद्र्धनात्मक कार्यक्रमबाट नेपाली पर्यटन क्षेत्रले प्रशस्त लाभ लिने उनले बताए । मन्त्री थापाले पछिल्लो समय व्यावसायिक उद्योगका रुपमा विकास भइरहेको पर्यटनलाई सरकार र निजी क्षेत्रले थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाली पर्यटन बजारको सम्भावनाबारे व्याख्या गर्दै विश्व पर्यटन क्षेत्रमा नयाँ सन्देश प्रवाह गर्न सम्मेलन उपयोगी हुने बताए । पाटाका सिइओ मारियो हार्डीले हिमालयको देश नेपालको प्राकृतिक तथा सांस्कृतिक पर्यटकीय सम्भावनालाई उजागर गरी विश्य पर्यटनमा नयाँ ‘प्रोडक्ट’ प्रवद्र्धन गर्न सम्मेलन सान्दर्भिक हुने धारणा व्यक्त गरे। पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले समय र प्रविधिको मागसँगै नेपालको पर्यटनलाई डिजिटल मिडियामार्फत संसारभर सहज रुपमा पुर्याउन सकियोस् भन्ने ध्येयका साथ आयोजित यो कार्यक्रमले नेपालको पर्यटन उद्योगलाई विश्व बजारमा प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप