मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एक करोडको लगानीमा पूर्वाधार विस्तार

सोमबार, २२ जेठ २०७४, ०८ : ४२
सोमबार, २२ जेठ २०७४
म्याग्दी, २२ जेठ - निलगिरि हिमालको काखमा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय क्षेत्र खयरबराहमा करिब रु एक करोडको लागतमा धमाधम पूर्वाधार विस्तारको काम भइरहेको छ । स्वदेश तथा प्रवासमा रहेका स्थानीय पाउद्वार र शिखका युवाले आर्थिक सङ्कलन गरी ९८ लाख ८६ हजारको लागतमा पूर्वाधार निर्माण कार्य भइरहेको स्थानीय क्या राजु पुनले जानकारी दिए। पुनका अनुसार स्थानीयवासीको सक्रियतामा खानेपानी, शौचालयसहित देशका विभिन्न जिल्लाका साथै विदेशबाट आउने पर्यटकलाई समेत सहज हुने गरी सामुदायिक लज निर्माणको काम पनि भइरहेको छ । अन्य पूर्वाधार पनि थपिएको छ । पूर्वाधार विस्तारका लागि युकेमा रहेका शिखवासीको पहलमा ७९ लाख सङ्कलन भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्ने शिखको खयरबराह क्षेत्रमा पाउद्वारस्थित खोप्रा देखि खयरबराह तालसम्म बाटो मर्मत, खयरक्षेत्रमा निर्मित पदमार्गमा फलामको रेलिङ, सत्तल, खानेपानीलगायतका आवश्यक पूर्वाधार विस्तारले तीव्रता पाएको छ । खोप्रा आसपासको क्षेत्रमा निर्माण भइरहेको पूर्वाधारमा खटिएका पुनले जिल्लाकै नमुना पर्यटकीयस्थलका साथै धार्मिक गन्तव्य बनाउने अभियानमा विश्वभर रहेका शिख, पाउद्वारवासीको सक्रियतामा आर्थिक सङ्कलन गरिएको बताउनुभयो । निकै जोखिमपूर्ण तरिकाले खानेपानीको पाइप विस्तार भइरहेको छ । पाउद्वारबाट खोप्रासम्म पुग्दा लाग्ने थकाइलाई विश्रामसँगै सुविधासम्पन्न लजको व्यवस्थाले समेत पर्यटकलाई राहत मिलेको छ । डिजिटल साक्षरता अभियन्ता महावीर पुनले विस्तार गरेको बेतारे इन्टरनेटको राजधानीसमेत भनेर चिनिने खोप्रामा कास्कीको घान्दुक, शिखको घोरेपानी, पाउद्वार र नारच्याङबाट पर्यटक पुग्ने गरेका छन् । पुनकै प्रयासमा सामुदायिक लजको स्थापना भएको हो । समुद्री सतहबाट चार हजार ८०० मिटर उचाइमा अवस्थित खयरबराही मन्दिरमा जनैपूर्णिमाको दिन सयौँको सङ्ख्यामा पूजा गर्न जाने गरेका छन् । निलगिरि हिमालको नजिक रहेको मन्दिरको छेउमा खयरबराह तालको अवलोकन गर्न विदेशी पर्यटक समेत पुग्ने गरेका छन् । आफ्नो मनोकामना पूरा हुने जनविश्वासका साथ म्याग्दीको सदरमुकाम बेनी–पोखरेबगर हुँदै तीन दिनको पैदलयात्रामा सयौँको सङ्ख्यामा खयरबराही तालमा जोखिमपूर्ण यात्रा गरेर भक्तजन मन्दिरमा पुग्ने गरेका छन् । पहिलोदिन पाउद्वार, दोस्रोदिन खयरक्षेत्र र तेस्रो दिन मन्दिरमा पूजा गरेर फर्कन्छन् । पदमार्ग र आवश्यक पूर्वाधारले धार्मिक तथा घुम्न जाने पर्यटकलाई ठूलो राहत मिलेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप