मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

लभ्लीहिलमा कस्सिए युवा

मङ्गलबार, २३ जेठ २०७४, ०९ : १५
मङ्गलबार, २३ जेठ २०७४
म्याग्दी, २३ जेठ - म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको ‘लभ्ली हिल’ लाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी गन्तव्यस्थल बनाउन स्थानीय युवा सक्रिय भएका छन् । बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरामा रहेको लभ्ली हिलमा पर्यटन विकास बोर्ड पोखराबाट रु पाँच लाख र रु एकलाख ५० हजारको जनश्रमदानबाट ४२ मिटरको रेलिङ र विश्रामस्थलका लागि गोलघर निर्माण सुरु गरिएको छ । गत वैशाखमा राससमा प्रकाशित भएको ‘पर्यटकीय सम्भावनाले युक्त लभ्ली हिलमा पूर्वाधारको अभाव’ शीर्षकको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशन-प्रसारण भएपछि सरोकारवाला निकाय र स्थानीयको ध्यानाकर्षण भएको थियो । सदरमुकाम बेनीबाट विश्राम र घुम्न जाने सुन्दर र आकर्षक गन्तव्य भएपनि पूर्वाधार र सुरक्षाको दृष्टिकोणले चुनौतीपूर्ण मानिएको लभ्लीहिल क्षेत्रमा आवश्यक पूर्वाधार विस्तारमा सरकारी निकायबाट समेत सहयोग भएपछि पूर्वाधार विस्तारले तीव्रता पाउने लभ्लीहिल डाँडा पर्यटन पूर्वाधार विकास समितिका अध्यक्ष ध्रुवराज कार्कीले बताए । सरकारी निकायबाट प्राप्त बजेटबाट बेनीबजार देखिने क्षेत्रमा रेलिङ र विश्रामस्थल बनाइएपनि अन्य पूर्वाधारका लागि थप बजेटको माग भइरहेको उनले बताए । बेनीदेखि आधा घन्टाको दूरीमा रहेको लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, जगन्नाथ मन्दिर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाज लगायतका क्षेत्रका साथै धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत अवलोकन गर्न सकिन्छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप