सांसद अञ्जना विशंखेको जीवन : पहिलो मागी, पछिल्लो प्रेम
राजनीतिक नेता भएपछि मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति बन्ने सपना देख्नु अस्वाभाविक होइन । तर, सांसद अञ्जना विशंखेले त्यस्तो सपना देखेकी छैनन् । भनिन्,
‘विचार दिन सक्ने राजनीतिक नेता बन्न पाए हुन्थ्यो । जीवनको एउटै धोको त्यति हो ।’ राजनीतिक स्थिरता कायम र बेथिति र भ्रष्टाचार अन्त्य गर्न सके मुलुक सुधारिँदै जाने थियो भन्ने सांसद अञ्जना विशंखेसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :
मेरो खाना
सामान्यतः नेपाली खाना दालभात, तरकारी मन पर्छ । पछिल्लो समय ढिँडो पनि खान थालेकी छु । तरकारीमध्ये साग र लसुन मिसाएर पकाएको गुन्द्रुक असाध्यै मन पर्छ । दूध चिया त्यत्तिकै मन पर्छ । भान्छामा दैनिकजसो मासुचाहिँ नपाकिदिए हुन्थ्यो भन्ने लाग्छ । खानकै लागि कहिलेकाहीं रेष्टुरेन्ट पुग्छु । रेष्टुरेन्ट पुग्दा साँधेको भटमास र बदाम माग्न बिर्सन्न । पकाउन कहिल्यै जाँगर चलेन । तर, भाँडा माझ्न अल्छी लाग्दैन ।
मेरो पोसाक
टप्स, पाइन्ट, टी–सर्ट आदि लगाउने गरेकी छु । सेतो, कालो र खैरो रङको कपडा मन पर्छ । धेरैजसो ‘रेडिमेड’ कपडा प्रयोग गर्छु । उपहारस्वरूप पाएकोबाहेक सालिन्दा जाडो र गर्मी मौसममा कपडा किन्छु । कपडामा वार्षिक झन्डै पाँच हजार रुपैयाँ खर्च हुन्छ । कपडाको ‘ब्रान्ड’ बारे त्यति सचेत छैन ।
मेरो फिटनेस
राति अबेरसम्म बस्छु । त्यसैले शारीरिक अभ्यास गर्ने बानी छैन । खानेकुरा थोरै खाने गर्छु ।
मेरो अध्ययन
रोजा लक्जम्बर्गको जीवनी पढिसकें । हिजोआज इजा डोडाको आत्मकथा र निनु चापागाईंको दलित सौन्दर्यशास्त्र सँगसँगै पढ्दै छु । मन पर्ने लेखक थुप्रै छन् । त्यसमध्ये आहुति, युग पाठक, संगीत श्रोता र सरिता तिवारी मन पर्छ । विदेशीमा अरून्धती रोय, तसलिमा नसरिन, साल्भिया पाथलगायत मन पर्छ । हिजोआज दलित महिलाबारे ‘कन्सेप्ट पेपर’ तयार पार्दै छु । मसँग ठूलो दराज छ । दराजभरि किताब छन् । यो वर्ष १० हजारको किताब किनेकी छु ।
मेरो घुमफिर
योजनाबद्ध घुमघाममा निस्कने बानी छैन । मदन र निशाको बिहेपछि पाँच–सातजनाको टोली दार्जिलिङ पुगेका थियौं । नेपालका ६० जिल्ला टेकेकी छु । चीन, श्रीलंका, भारत पुगेकी छु । घुमेकामध्ये चीन मन पर्यो । जीवनमा एकपटक काला जातिको बस्ती पुग्न मन छ ।
मेरो फुर्सद
फुर्सद मिलाउने हो । म पार्टीको मध्यमवर्गको कार्यकर्ता हुँ । मजस्ता कार्यकर्ताले समय व्यवस्थापन गर्ने हो । तर पनि भागदौड भइहाल्छ । भागदौड भएपछि थकाइ लाग्ने नै भयो । जतिसुकै भागदौड भए पनि मोबाइल ‘स्वीच अफ’ गरेर आराम गर्ने बानी छैन । बरु ‘साइलेन्ट’ मा राख्छु । फुर्सद हुँदा तनावमा भए टीभी हेर्छु । फिल्म हेर्छु । ‘मुड’ ठीक छ भने पढ्छु । घरपरिवारलाई धेर–थोर समय दिएकी छु । कहिलेकाहीं परिवारसहित फिल्म हेर्न, रेष्टुरेन्टमा खान जाने गर्छौं ।
मेरो खेलकुद
मलाई भलिबल मन पर्छ । विद्यालयस्तरसम्म भलिबल खेलेकी थिएँ ।
मेरो मोबाइल
हुवाइको मोबाइल सेट प्रयोग गर्दै आएकी छु । यसको २५ हजार रुपैयाँ पर्छ । मोबाइलका एप्लिकेसन्समध्ये सेयर इट, गुगल, फेसबुक, ट्वीटरलगायत प्रयोग गर्छु ।
मेरो टेलिभिजन
टेलिभिजनमा समाचार प्राथमिकतासाथ हेर्छु । पूर्वजानकारी भएमा विशिष्ट व्यक्तिको अन्तर्वार्ता हेर्न छुटाउँदिनँ । डिसकभरी हेर्छु । मेरो कोठामा ३२ इन्चको एलजीको टीभी छ ।
मेरो चलचित्र
पछिल्लो समय ‘सिक्रेट सुपरस्टार’ हेरेकी थिएँ । हेरेकामध्ये दंगल, सिक्रेट सुपरस्टार र लुट मन पर्यो । दयाहाङ राई, सौगात मल्ल र दिया मास्केको अभिनय जीवन्त लाग्छ ।
मेरो रोग
टाउको दुख्नेबाहेक निरोगी नै छु । अहिलेसम्म दुईपटक ‘होलबडी चेकअप’ गराएकी छु । आफूलाई सधैं सक्रिय राख्ने भएकाले पनि स्वस्थ रहेकी हुँ कि ।
मेरो भाषणशैली
आफैंले मूल्यांकन गर्दा आफ्नो भाषणशैलीप्रति सन्तुष्ट छु । सुन्नेले पनि राम्रो भन्छन् । आफ्नो भाषणशैलीप्रति ‘प्राउड फिल’ गर्छु । भाषण गर्दा ‘चाइने’ थेगो प्रयोग गर्छु भन्ने सुन्नेले भन्छन् । समय परिस्थिति हेरेर भाषण गर्न सक्छु । भाषण गरेकै आधारमा विवादमा तानिएको छैन । भाषण गर्नअघि तयारी गर्छु ।
मेरो मापसे
बुवाले सानो छँदा बियर खुवाउनुभएको थियो । त्योभन्दा अरू खाइन । स्वास्थ्यका कारण मादक पदार्थ खान हुँदैन ।
मेरो संगीत
गीत–संगीत सुन्छु । गीत आउन मन लाग्थ्यो । ‘सहिदहरू हाँसिरहेको’ शीर्षाकृत गीत असाध्यै मन पर्छ । अञ्जु पन्त, नेहा कंकरिया (भारतीय गायिका) को आवाज श्रवणीय लाग्छ ।
मेरो भूल
जीवनमा पश्चाताप लाग्नेगरी गल्ती गरेको छैन । मैले अरूको जीवनलाई असर पुग्ने काम गरेकै छैन । गल्ती नगरी सजाय पाउनु अस्वाभाविक होइन, जुन मेरो जीवनमा पनि लागू भएको छ ।
मेरो घर
ललितपुरको ताल्छिखेल डेरामा बस्छु । कोठाभाडा मासिक २० हजार रुपैयाँ बुझाउनुपर्छ ।
मेरो राशी
राशी थाहा छैन । असारमा जन्मेकी हुँ, कुन राशी हो तपाईं नै भन्नु न । जन्मेदेखि नै क्रान्तिकारी भएकाले होला ग्रहदशा हेराउने, ग्रहशान्ति गराउने काम भएन ।
मेरो सौन्दर्यचेत
कपालमा रातो कलर गर्ने गर्छु । फेसिल गर्दिनँ । चिकित्सकको सल्लाहअनुसार सन ब्लक लगाउँदै आएकी छु । कहिलेकाहीं पफ्र्युम प्रयोग गर्छु । जीवनमा एकपटक काभ्रेको धुलिखेलमा साउना बाथ लिएकी थिएँ ।
मेरो प्रेम
मेरो दुई बिहे हो । पहिलो मागी । पछिल्लो प्रेम ।
मेरो सपना
राजनीतिक नेतृत्वको हैसियत (हामीलाई पनि जिम्मेवारी तहमा पुर्याइएको छ) ले मलाई दुई विषय सोचनीय लाग्छ । पहिलो– राजनीतिक स्थिरता कसरी कायम गर्ने होला ?, दोस्रो– बेथिति र भ्रष्टाचार कसरी अन्त्य गर्ने ? भन्ने लाग्छ । त्यतिमात्रै होइन, वितरणमुलक नभएर उत्पादनमूलक कार्यक्रम कार्यान्वयन गर्न पाए मुलुक सुधारिँदै जाने थियो । विधि र पद्धति पार्टीभित्रमात्रै नभएर देशमा कसरी स्थापित गर्ने भन्ने लागिरहन्छ ।
राजनीतिक नेता भए पनि आफूलाई त्यहाँसम्म पुर्याउनैपर्छ भन्ने सोचेकी छैन । तर, विचार दिन सक्ने राजनीतिक नेता बन्न पाए हुन्थ्यो भन्ने धोको छ । जीवनको एउटै धोको त्यति नै हो । त्योभन्दा पर सोचेकी छैन ।
मेरो मृत्यु
मानिज जन्मेपछि मर्नुपर्छ । यो मृत्यु स्वाभाविक प्रक्रिया हो । कुहिएर होइन उमारेर मर्न पाइयोस् । मृत्युसँग डर लाग्दैन । तर, कुहिएर मर्नचाहिँ डर लाग्छ । कुहिएर मर्नु भनेको केही नदिई मर्नु हो । दुईपटक मृत्युको नजिक–नजिक पुगेकी थिएँ ।
संवत् २०६५–०६६ तिरको कुरा हो । म भोजपुराको राज्य सेक्रेटरी थिएँ । म काठमाडौं आएको बेला जनतान्त्रिकले वाईसीएलका केन्द्रीय नेता हिमाल यादवलाई मारेको थियो । वार्ता चलिरहेको थियो । वार्ताका लागि म विमानबाट त्यता गएँ । वाईसीएलका नेता मोटरसाइकलमा लिन विमानस्थल आएका थिए । हामी मोटरसाइकलमा गुडिरहेका थियौं । तीव्र गतिमा गुडिरहेको मोटरसाइकल ढुंगामा चिप्ल्यो । म दुई सय मिटरसम्म पल्टँदै झरें । त्यतिबेला बाँच्छुजस्तो लागेको थिएँ ।
अर्को, वीरगन्जमा एकातिर हिन्दुवादी र अर्कोतिर सुरक्षाकर्मीले घेरे । हामी घन्टाघरको बीचमा थियौं । भाग्ने ठाउँ थिएन । हिन्दुवादीलाई हटाउनुपर्नेमा सुरक्षाकर्मीले हामीलाई लाठीचार्ज गरे । पिट्ने बेला दुखेन तर मलाई नौ टाँका लगाइएको थियो । त्यतिबेला पनि बाँचिन्छ जस्तो लागेको थिएन ।
मृत्युपछि मलामीको के अर्थ ? जसले देख्दै देख्दैन । माक्र्सको मृत्युमा १० जना मलामी थिएन । तर, उनी महान् बने ।