आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

संसद् छिर्ने दाउमा उपेन्द्र यादव, कसरी हुन्छ सम्भव ?

बुधबार, २० पुस २०७९, १४ : २५
बुधबार, २० पुस २०७९

काठमाडौँ । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव यही कार्यकालमा सांसद बन्ने प्रयासमा लागेका छन् ।

संघीय संसद्का दुई सदनमध्ये उपेन्द्र यादवले पहिलो प्राथमिकता प्रतिनिधिसभालाई नै दिएका छन् । प्रतिनिधिसभामा सम्भव नभएको खण्डमा राष्ट्रियसभामा आउने उनको योजना छ ।

सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका उपेन्द्र यादव संसद्को यही कार्यकालमा सांसद बन्न प्रयासरत देखिएका हुन् । प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन बिना अर्को विकल्प छैन । उक्त विकल्पका लागि कुनै निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको खण्डमा मात्र सम्भव हुन्छ । तर, उपनिर्वाचन गराउनका लागि सांसद पद रिक्त हुनु पर्दछ ।

सांसद पद रिक्त गराउनका लागि नै जसपा अध्यक्ष यादवले आफ्नो पार्टीलाई सत्ता गठबन्धनले उपराष्ट्रपति पद दिनुपर्ने माग गरिरहेका छन् । उपराष्ट्रपति पद जसपा नेपाललाई दिएको खण्डमा सो पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामसहाय यादव र नवलकिशोर साहमध्ये कोही एक जनालाई उपराष्ट्रपति बनाउने र प्रतिनिधिसभा सदस्यको रिक्त पदमा उपनिर्वाचन गराएर आफू संसद्मा प्रवेश गर्ने उनको योजना रहेको निकटस्थहरू बताउँछन् ।

सप्तरी १ बाट चुनाव जितेका नवलकिशोर साहले यस विषयमा उपेन्द्र यादवसँग कुराकानी पनि गरिसकेका छन् । मधेस प्रदेशका मन्त्री समेत रहेका नवलकिशोर साह निकट एक नेताले भने, ‘मन्त्री (नवलकिशोर)ज्यूले अध्यक्ष उपेन्द्र यादवलाई भनेर मलाई उपराष्ट्रपति बनाउनुस्, सप्तरी–१ बाट चुनाव जिताउने मेरो जिम्मा भन्नुभएको छ ।’

सो प्रस्तावमा उपेन्द्र यादवले तत्कालै कुनै प्रतिक्रिया नजनाए पनि उनलाई सप्तरीभन्दा बारा–२ नै मन परेको छ । बारा–२ बाट रामसहाय यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर सो क्षेत्रमा आफू चुनाव लडेर संसद्मा आउने उपेन्द्र यादवको तयारी छ । यद्यपि उपराष्ट्रपति पद जसपाले पाउँछ कि पाउँदैन भन्ने टुङ्गो लागिसकेको छैन ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जसपाबीच एकीकरणको कुरा पनि चलिरहेको छ । पार्टी नै एकीकरणका लागि पहल भइरहेको कारण माओवादी केन्द्रले जसपालाई उपराष्ट्रपति पद दिए फरक नपर्ने जसपाका नेताहरू बताउँछन् ।

जसपाले सात दलीय गठबन्धनमा उपराष्ट्रपति पद माग गरेको छ । तर हालसम्मको परिस्थिति हेर्दा उपराष्ट्रपति माओवादी केन्द्रले लिने देखिन्छ । राष्ट्रपति र सभामुख पद एमालेको भागमा परेपछि माओवादीले प्रधानमन्त्री र उपराष्ट्रपतिमै चित्त बुझाउनु पर्ने हुन्छ ।

जसपाका एक नेताले भने, ‘माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओली पनि उपेन्द्र यादवलाई संसद्मा ल्याउन सकारात्मक देखिनु भएको छ ।’ उपेन्द्र यादवले यस विषयमा प्रचण्ड र ओलीसमक्ष कुरा राखिसकेको बताइन्छ ।

तर यादवलाई संसद्मा कसरी ल्याउने भन्ने विषयमा कुनै टुङ्गो लागेको छैन ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जसपाबीच एकीकरणको कुरा पनि चलिरहेको छ । पार्टी नै एकीकरणका लागि पहल भइरहेको कारण माओवादी केन्द्रले जसपालाई उपराष्ट्रपति पद दिए फरक नपर्ने जसपाका नेताहरू बताउँछन् ।

उपेन्द्र यादव संसद्मा जान इच्छुक देखिएको खण्डमा त्यसका लागि पहल हुनसक्छ । तर दुई दिनसम्म चलेको जसपाको राजनीतिक समितिको बैठकमा भने यस विषयमा कुनै चर्चा नभएको बताइएको छ ।

राजनीतिक समितिका सदस्य प्रमोद साहले भने, ‘अध्यक्षज्यू संसद्मा जाने विषय कहीँ कतै चर्चा छैन, दुई दिनसम्म चलेको राजनीतिक समितिको बैठकमा समेत कसैले कानेखुसी गरेको पनि देखिएन । अध्यक्षज्यू आफ्नै तरिकाले लाग्नु भएको हो भने त्यो बेग्लै कुरा हो तर पार्टीमा यस विषयमा कुनै चर्चा भएको छैन ।’

संसदीय दलका नेतासमेत रहेका बारा–२ का प्रतिनिधिसभा सदस्य रामसहाय यादवले आफूलाई उपराष्ट्रपति बनाउने र अध्यक्ष यादव संसद्मा जाने विषयमा पार्टीमा कुनै प्रकारको चर्चा नभएको प्रतिक्रिया दिए । उनले गठबन्धनमा शक्ति बाँडफाँटको विषयमा कुरा नै नभएको बताए ।

सप्तरी–१ का प्रतिनिधिसभा सदस्य नवलकिशोर साहले पनि उपराष्ट्रपति लिएर उपेन्द्र यादव संसद्मा जाने विषयमा पार्टीमा कुनै चर्चा नरहेको बताए । उनले भने, ‘यद्यपि पार्टीका अध्यक्ष उपेन्द्र यादवले मलाई सो क्षेत्र छाड्नका लागि निर्देशन दिनुभयो भने अहिले पनि उहाँका लागि सो क्षेत्र छाड्न तयार छु, उपराष्ट्रपति कुनै ठूलो कुरा होइन ।’ पार्टीले जे निर्णय गर्छ, त्यसका लागि आफू तयार रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप