आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

प्रचण्ड प्रधानमन्त्री भएपछि माओवादी केन्द्रको गतिविधि सुस्त

बिहीबार, २१ पुस २०७९, २० : १५
बिहीबार, २१ पुस २०७९

काठमाडौं । ‘प्रचण्ड प्रधानमन्त्री र तपाई (नारायणकाजी श्रेष्ठ) उपप्रधानमन्त्रीसहित भौतिक मन्त्री भएपछि पार्टी गतिविधि शून्य भयो । पेरिसडाँडा र खुमलटारमा गतिविधि छैन । अहिले पार्टी बालुवाटार र तपाईमा मात्रै केन्द्रित भयो । यसरी पार्टी चल्दैन । पार्टीका फस्ट र सेकेन्ड लिडर सरकारमा भएपछि अरू नेताहरूलाई सक्रिय बनाउनु प¥यो’ यो सुझाव प्रेस सेन्टरका नेताहरूले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई दिएका हुन् ।

गत सोमबार उपप्रधानमन्त्री श्रेष्ठलाई प्रेस सेन्टरका नेताहरूले मन्त्रालयका काम कारवाहीका विषयमा सुझाव दिने क्रममा यस्तो बताएका हुन् । सरकार र पार्टी दुवै सक्रिय भए मात्रै काम कारबाही प्रभावकारी हुने प्रेस सेन्टरका नेताहरूको भनाइ थियो ।

पछिल्लो समय प्रचण्ड प्रधानमन्त्री भएपछि पार्टीका बैठक, भेला, छलफल हुन सकेका छैनन् । बरु अधिकांश नेता कार्यकर्ता प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री श्रेष्ठलाई खुसी पार्न खादा, माला बोकेर बालुवाटार र सिंहदरबार धाउन थालेका छन् । तर, पार्टीका अरू प्रभावशाली नेताहरू सक्रिय नहुँदा पार्टी कार्यालय सुनसान जस्तै हुन पुगेको छ ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री श्रेष्ठको व्यस्तताले नभ्याउँदा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा शून्य हुन पुगेको छ । पार्टीका उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव लगायत अरू नेताहरू पार्टी कार्यालय जानुभन्दा घरमै नेता कार्यकर्ता भेट्ने गरेका छन् । सत्ताधारी पार्टीको केन्द्रीय कार्यालयमा भिडभाड हुनुपर्नेमा त्यसको ठिक विपरीत चहलपहल कम भएको छ । पार्टी र जनवर्गीय संगठनको बैठक, भेला, छलफल समेत हुन सकेको छैन ।

पार्टीका प्रभावशाली नेता शर्मा र पुन के गर्दैछन् ?

पार्टीका प्रभाशाली नेता वर्षमान पुन र जनार्दन शर्मासहित दोस्रो तहका अधिकांश नेताहरू सरकारमा नजाने भएका छन् । पार्टी पदाधिकारी भएका अधिकांश नेताहरू मन्त्री नहुने भएपछि माओवादी केन्द्रले युवा सांसदलाई मन्त्री बनाउने तयारी गरेको छ । महासचिव देव गुरुङ प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका कारण उनी सरकारमा जाने बाटो बन्द भएको छ । त्यसैले गुरुङ पछिल्लो समय पार्टीका आन्तरिक भेटघाट र छलफलमै केन्द्रित भएको बताइएको छ ।

यस्तै नेता शर्मा र पुन समेत पार्टीको आन्तरिक गतिविधिमै व्यस्त भएको केन्द्रीय सदस्य डिपी ढकालले बताए । ‘अहिले पार्टीको नेतृत्वमा सरकार बनेको छ । अब छिट्टै प्रचण्ड कमरेडले विश्वासको मत लिँदै हुनुहुन्छ,’ ढकालले भने, ‘प्रधानमन्त्रीलाई विश्वासको मत लिने विषयमा अन्य दलका नेताहरूसँग भेटघाट गरिरहनु भएको छ । मन्त्रिपरिषद् विस्तार र साझा न्यूनतम कार्यक्रमका लागि नेताहरू लागिरहनु भएको छ ।’

पार्टीको आन्तरिक काममा व्यस्त भएकाले नेताहरू बाहिर नदेखिएको ढकालले दाबी गरे ।

तर, शर्माले पार्टी उपमहासचिव पद अस्वीकार गरे पनि संगठन विभागमार्फत सक्रियता बढाएका छन् । संगठन विभाग प्रमुखको हैसियतमा उनले पार्टी संगठनको आन्तरिक भेला, छलफल गर्दै आएका छन् । मन्त्री हुँदा पार्टीको राजनीतिमा खासै सक्रिय हुन नपाएका शर्मा पछिल्लो समय संगठन विभागको आन्तरिक छलफलमा जुटिरहेको उनी निकट एक नेताले बताए ।

महासचिवमा शर्मा र पुनबीच प्रतिस्पर्धा भएपछि प्रचण्डले चुनाव नगराएर देव गुरुङलाई महासचिव बनाएका थिए । आगामी दिन नेतृत्वमा पुग्न शर्मा र पुन आ–आफ्नै तरिकाले गतिविधि बढाइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप