आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

प्रचण्डले विश्वासको मत मागेपछि देउवाले बोलाए पदाधिकारी बैठक

शुक्रबार, २२ पुस २०७९, १५ : ४७
शुक्रबार, २२ पुस २०७९

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समसामयिक राजनीतिबारे छलफलका लागि पदाधिकारी बैठक बोलाएका छन् । देउवाले शुक्रवार अपराह्न साढे ४ बजे आफ्ना निजी निवास धुम्बाराहीमा बैठक बोलाएको कांग्रेसका एक पदाधिकारीले रातोपाटीलाई बताए । संसदीय दलको बैठक र प्रधानमन्त्रीको विश्वासको मतका सन्दर्भमा छलफलका लागि देउवाले बैठक बोलाएको ती पदाधिकारीको भनाइ छ ।  यसअघि २३ गते कांग्रेस संसदीय दलको बैठक बस्दैछ । यता माओवादी केन्द्रले बुधवार उपमहासचिव जनार्दन शर्मामार्फत विश्वासको मत दिन कांग्रेसलाई प्रस्ताव गरेको थियो ।  

राष्ट्रिय सहमतिको सरकारको आवश्यकता औँल्याउँदै शर्माले सभापति देउवालाई भेटेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए । प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तयारी छ । कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने पक्षमा देखिएका छन् । प्रचण्ड सरकारलाई विश्वासको मत दिनुपर्ने पौडेलको जोड छ ।

उनले कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकलाई त्यसको माहौल निर्माण गर्न आग्रह गरेका थिए । बिहीबार साँझ महामन्त्री विश्वप्रकाश शर्माको निवासमा महामन्त्रीद्वय गगन थापा, शर्मा र मुख्यसचेक लेखकबीच छलफल भएको थियो ।

संसदमा कांग्रेसको भूमिका कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल केन्द्रित थियो । छलफलमा महामन्त्री थापाले माओवादीले राखेको प्रस्तावको प्रसंग उठाएका थिए । लेखकलाई पौडेलले पनि ‘प्रचण्ड सरकारलाई विश्वासको मत दिऊ’ भनेको भनेको बुझिएको छ । माओवादीलाई विश्वासको मत दिँदा फसिने जवाफ दिएका थिए । लेखकले भने, ‘उहाँहरु (केपी ओली र प्रचण्ड) बीच एक खालको सम्झौता भइसकेको छ । हामीले न राष्ट्रपति बनाउने न केही पाउने हो । हाम्रो प्रमुख प्रतिपक्षी हैसियत पनि हुँदैन ।’ तर पौडेलले सभापति देउवालाई राष्ट्रिय सहमतिको पक्षमा उभिन दबाब दिएको कांग्रेस नेताहरू बताउँछन् ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रवार दिउँसो पनि पौडेल र माओवादी नेता शर्माबीच छलफल भएको छ । पौडेलले यस विषयमा पार्टीभित्र आज छलफल हुने बताएका थिए ।

कांग्रेसको संसदीय दलमा यस विषयमा छलफल हुने कांग्रेस संसदीय दलका मुख्य सचेतक लेखकले बताए ।  उनले भने, ‘प्रचण्डलाई विश्वासको मत दिने नदिने विषयमा २६ पुसमा संसदीय दलको बैठक बसेर निर्णय हुन्छ  । हामी अहिले यस विषयमा आन्तरिक छलफलमा छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप