आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अदालत

रवि लामिछाने पक्षका वकिलको जिकिर– नेपाली नागरिकता स्वतः कायम हुन्छ

शुक्रबार, २२ पुस २०७९, १५ : ५५
शुक्रबार, २२ पुस २०७९

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने पक्षका वकिलहरूले लामिछाने सांसद हुँदा निवेदकलाई कुनै अपूरणीय क्षति नहुने जिकिर गरेका छन् । नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा लामिछानेको पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुशील पन्तले रवि सांसद हुँदा निवेदकलाई अपूरणीय क्षति नहुने जिकिर गरेका हुन् । 

उनले लामिछाने अमेरिकाको नागरिकता लिएको कुरा गृह र अध्यागमनलाई थाहा भएको उल्लेख गर्दै सोही आधारमा गृह मन्त्रालयले प्रेस काउन्सिललाई ०७५ असार ६ मा पत्र लेखेको पत्रले पुष्टि हुने बताए ।  १५७६ पत्राअनुसार यसबारे जानकारी गराइएको उल्लेख गर्दै उनले नागरिकता पुनः कायम गर्नुपरेमा साबिकको विवरण दिनुपर्ने व्यवस्था रहेको बताए । 

अध्यागमनलाई विदेशी नागरिकता त्यागेकोसम्बन्धी निस्सासमेत रविले अध्यागमनमा बुझाएको जिकिर गर्दै उनले रविले नयाँ नागरिकता लिन प्रक्रिया सुरु नै गर्न नपर्ने जिकिर गरे । न्यायाधीश ईश्वर खतिवडाले ‘नयाँ जारी गर्न पर्छ कि पर्दैन’ भनेर सोधेको प्रश्नमा उनले विदेशी देशको नागरिकता त्यागेको निस्सा ल्याएपछि पुरानो पुनः कायम रहने जिकिर गरे । 

‘नेपालबाट पहिला त्यागिएको होइन, उता गएर त्यत्तिकै नागरिकता लिएको हो । विदेशी देशको नागरिकता त्यागेको निस्सा ल्याएपछि त्यो पुनः कायम हुन्छ’, पन्तले भने, ‘नागरिकता ऐन २०६३ को  दफा ११ को १ अनुसार पुनः कायम भयो ।’ उनले विदेशी नागरिकता त्यागेको जानकारीसहितको निस्सा रविले ०७५ जेठ ४ मा अध्यागमनमा बुझाएको पनि उनको भनाइ छ ।  रविको पक्षमा वरिष्ठ अधिवक्ता सुनिल पोखरेल र अधिवक्ता यज्ञमणि न्यौपानेले पनि बहस गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप