सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
अपराध

कुम ठोक्किएको रिसमा युवकमाथि छुरा प्रहार

छुरा प्रहार गर्ने किशोर भन्छन्, ‘गलत संगतले ‘दुर्घटना’ भयो, सजाय भोगेर सुध्रिन्छु’
शनिबार, २३ पुस २०७९, ०९ : २४
शनिबार, २३ पुस २०७९

काठमाडौँ । गत पुस १६ गते अर्थात् अङ्ग्रेजी नयाँ वर्षका दिन बेलुका करिब ६ बजे प्रहरीको कन्ट्रोल रुममा छुरा प्रहार गरी एक युवकलाई सख्त घाइते बनाएको सूचना आयो । सुविधानगर क्षेत्रमा ‘ग्याङ फाइट’ परेको सूचना आएलगत्तै पुगेको बानेश्वर वृत्तको प्रहरीले २३ वर्षका एक युवकलाई घाइते अवस्थामा उद्धार गरेर सुविधानगरमा रहेको कान्तिपुर अस्पतालमा पुर्‍यायो । 

टाउको, छाती र पेटमा गरी तीन स्थानमा छुराको गहिरो घाउ लागेका ती युवकको अवस्था गम्भीर थियो र उनलाई आइसियुमा राखेर उपचार गराइयो । उपचारपछि यतिबेला ती युवक खतरा मुक्त छन् । तर पूर्ण स्वस्थ हुनका लागि उनलाई अझै धेरै समय लाग्नेछ । 

यता २३ वर्षीय युवकमाथि छुरा प्रहार निश्चल राईसहित पाँचजना किशोरहरू प्रहरीको हिरासतमा छन् । प्रहरीका अनुसार छुरा प्रहार र कुटपिटमा संलग्न निश्चल राईसहित सिन्धुलीका १८ वर्षीय अनिष मगर , कैलालीका १८ वर्षीय मनोज कुँवर, रौतहटका १८ वर्षीय धीरेन्द्र यादव र ओखलढुङ्गाका १८ वर्षीय अनिष खत्रीलाई प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखिएको छ । उनीहरूमाथि ज्यान मार्ने उद्योगमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ । 

छुरा प्रहार गरी ज्यान मार्ने उद्योगमा संलग्न किशोरहरू सबै १७ देखि १८ वर्षका किशोरहरू छन् । अचम्मको कुरा त यी किशोरहरुको झगडा सामान्य कुम ठोक्किएको विषयमा भएको थियो । सुविधाननगर तथा आलोकनगर क्षेत्रमा बस्ने यी किशोरहरू सोही क्षेत्रमा हिँड्ने क्रममा एक युवासँग कुम ठोक्किएपछि विवाद हुँदा एक युवा अस्पतालको आइसियुमा पुग्नुपर्‍यो भने पाँचजना किशोरहरू प्रहरीको हिरासतमा पुगे । 

यसरी भयो घटना

अङ्ग्रेजी नयाँ वर्ष अर्थात् पुस १६ गतेको दिन सुविधानगर क्षेत्रको धोबिखोला करिडोरमा बनाइएको पार्कमा उदयपुरका निश्चल राई लगायतका किशोरहरू गितार बजाउँदै बसिरहेका थिए । निश्चलको समूहमा ४ जना किशोरहरू थिए । गितार बजाउँदै गीत गाइरहेको समयमा निश्चलको समूहका दुई किशोरलाई पिसाब लाग्यो । त्यसपछि पिसाब गर्न भन्दै दुई किशोर पार्कबाट निस्किए । 

घटना लगत्तै घटनामा संलग्न चार किशोरहरू भागेर रौतहट पुगे भने निश्चल राई भने कोठामै बसे । अन्य किशोरहरूलाई रौतहटबाट पक्राउ गरेर काठमाडौँ ल्याएपछि ती किशोरहरूको बयानका आधारमा निश्चल राईलाई आफ्नै कोठाबाट प्रहरी वृत्त बानेश्वरको प्रहरीले पक्राउ गर्‍यो ।

सोही क्रममा अर्को समूहमा रहेका एक युवकसँग निश्चलका समूहका कृष्ण भन्नेको कुम ठोक्कियो । कुम ठोक्किएपछि अर्को समूहका युवाहरूले कृष्णमाथि हातपात गरे । त्यस लगत्तै निश्चल लगायत वरिपरि रहेका केही किशोरहरू पनि सडकमा आए । त्यसपछि सामान्य भनाभन भएपनि हातपात भएन र दुवै समूह आ–आफ्नो बाटो लागे । यो घटना करिब साँझको ५ः३० बजेको समयको थियो । 

तर झगडा साम्य भएर आ–आफ्नो बाटो लागेको करिब आधा घण्टापछि अर्को समूह थप युवक र किशोरहरू ल्याएर झगडा गर्न आइपुगे । हिरासतमा रहेका किशोरहरूका अनुसार ती युवकहरूले हातमा इट्टा ल्याएर झगडा गर्न आएका थिए । 

सुविधानगर क्षेत्रमै दुवै समूहबीच फेरि भेट भएर निश्चल राईको किशोरहरूलाई कुटपिट गर्न खोजे । त्यसपछि निश्चल राईको समूहलाई चिन्ने वरिपरीका किशोरहरू पनि त्यहाँ उपस्थित भए । त्यही मौकामा निश्चल राई भने नजिकै रहेको डेरातिर निस्किए । अनि आफ्नो सिरानीमा रहेको छुरा लिएर सडकमा आए । आफू र आफ्ना साथीहरूमाथि आक्रमण भए छुरा हान्ने धम्की दिए । धकेलाधकेल भइरहेकै बेला केही युवा र किशोरहरूलाई निश्चलको समूहले लखेट्यो । त्यही बेला २३ वर्षीय युवक भाग्दै गर्दा पार्कको बारमा अड्किए । सोही समयमा निश्चलका समूहका किशोरहरूले ती युवकमाथि आक्रमण गर्न थाले । अर्को समूहमा रहेका व्यक्तिले आफ्नो साथीलाई कुटपिटबाट बचाउन निश्चलको समूहमाथि इट्टाले आक्रमण गर्‍यो । इट्टाले कसैलाई नलागे पनि आफ्नो समूहमाथि आक्रमण भएपछि निश्चलले साथमा ल्याएको छुराले अर्को समूहका युवकमाथि छुराले तीनपटक प्रहार गरे । टाउको, छाती र पेटमा छुरा प्रहारबाट सख्त घाइते भएका युवक अचेत भएपछि आक्रमण गर्ने सबै किशोरहरू त्यहाँबाट भागे ।

घटना लगत्तै घटनामा संलग्न चार किशोरहरू भागेर रौतहट पुगे भने निश्चल राई भने कोठामै बसे । अन्य किशोरहरूलाई रौतहटबाट पक्राउ गरेर काठमाडौँ ल्याएपछि ती किशोरहरूको बयानका आधारमा निश्चल राईलाई आफ्नै कोठाबाट प्रहरी वृत्त बानेश्वरको प्रहरीले पक्राउ गर्‍यो । पक्राउपछि निश्चलले नै यो सबै घटना कसरी भयो र छुरा प्रहार किन र कसरी भयो भनेर प्रहरीलाई बेलिबिस्तार लगाए । 

घटनामा छुरा प्रहार गर्ने व्यक्ति आफू नै भएको र आवेगमा छुरा प्रहार गर्न पुगेको भन्दै त्यसको सजाय भोग्न तयार रहेको निश्चलले बताए । प्रहरी वृत्त बानेश्वरको हिरासतमा रहेका निश्चलले आफूले गल्ती गरेको स्वीकार गर्दै कानुनले दिने सजाय भोग्ने बताए । 

आवेगमा गल्ती भयो, सजाय भोग्छु

प्रहरीले पक्राउ गरेपछि भेट्न पुगेका आफन्तलाई आफूले गल्ती गरेको र कानुनले दिने सजाय भोग्ने बताउने गरेका छन् । निश्चलका एक आफन्तले रातोपाटीसँग भने, ‘आवेगमा आएर गल्ती गरेँ, अब सजाय भोगेर निस्कन्छु भन्छ । उसले नै छुरा हानेको रहेछ ।’

काठमाडौँकै कलेजमा कक्षा १२ मा अध्ययन गर्दै गरेका निश्चललाई यतिबेला पढाइको चिन्ता हुन थालेको छ । नेपाल आर्मीबाट अवकाश पाएका आफ्ना बुवाले राम्रो शिक्षा दिएपछि आफूले त्यसको सदुपयोग गर्न नसकेको निश्चलले बताए ।

अन्य किशोरलाई राम्रोसँग चिन्दैनथे निश्चल

निश्चलका अनुसार घटनामा संलग्न रहेका अन्य किशोरहरूलाई निश्चलले राम्रोसँग चिनेकासम्म थिएनन् । पहिले कुम ठोक्किएर झगडा पर्ने निश्चलका अन्य साथीहरू पनि त्यहाँबाट भागिसकेका थिए । तर निश्चलले गितार बजाएको देख्ने अन्य किशोरहरू निश्चलको समूहलाई साथ दिन आएका थिए र उनीहरूसमेत उक्त घटनामा संलग्न भएका थिए । निश्चलले भने, ‘उनीहरूलाई मैले राम्रोसँग चिनेकोसम्म छैन । मैले गितार बजाउँदा कहिलेकाहीँ पार्कतिर आउने गर्थे । त्यो बेला सामान्य कुराकानी हुन्थ्यो । त्योबाहेक अरू कुनै कुरा थिएन । तर त्यो दिन खै के भयो । मैले नचिनेका साथीहरू पनि हामीलाई साथ दिन आएका थिए । उनीहरूमाथि नै आक्रमण भएपछि मैले रिस थाम्न सकिन र कोठामा गएर छुरी (चक्कु) लिएर आएँ र आक्रमण गरेँ । अहिले गल्ती गरेँ भन्ने लागिरहेको छ । 

सङ्गत राम्रो थिएन, सजाय भोगेपछि सुध्रिन्छु

बानेश्वर प्रहरी वृत्तको हिरासतमा रहेका निश्चलले आफ्नो सङ्गत गलत भएको पनि स्वीकार गरे । निश्चलले भने, ‘मेरो साथीहरू लागुऔषध सेवन गर्ने पनि थिए तर म चाहिँ त्यस्तो केही खाँदिनथेँ । मलाई म्युजिक र गितारमा सोख थियो, अन्य साथीहरू गितार बजाउन र गीत गाउन तथा ट्याप खान आउने गर्थे । तर जसको लागि मैले झगडा गरेँ, ती साथीहरू भागे म र घटनासँग सुरुदेखि कै सरोकार नभएका अरू व्यक्ति परे । यो घटना मेरो गलत सङ्गतकै कारण भएको हो । अब यस्तो सङ्गत छाडेर राम्रो मान्छे बन्छु । 

काठमाडौँ छाड्छु र कम्तीमा ब्याचलर पास गर्छु

काठमाडौँकै कलेजमा कक्षा १२ मा अध्ययन गर्दै गरेका निश्चललाई यतिबेला पढाइको चिन्ता हुन थालेको छ । नेपाल आर्मीबाट अवकाश पाएका आफ्ना बुवाले राम्रो शिक्षा दिएपछि आफूले त्यसको सदुपयोग गर्न नसकेको निश्चलले बताए । उनले भने, ‘बुवाले बोर्डिङ स्कुलमै पढाउनुभएको थियो । अहिले पनि काठमाडौँ राखेर पढाउनुभएको हो । तर मैले गल्ती गरेँ । राम्रो अभिभावकत्व पाउन सकिन ।’

निश्चलका अनुसार उनका बुवा र आमा दुवैजना उदयपुरमै बस्छन् । बुवा अहिले फेरि प्राइभेट स्थानमा जागिर खान थालेका छन् । परिवारमा ४ जना सदस्य रहेका छन् र निश्चल जेठो छोरा हुन् । सुविधानगरमा उनी ठूलोबुवाको छोरासँग बस्ने गरेका छन् । 

अहिले प्रहरी हिरासतमा रहेका निश्चलले गल्ती गरेको स्वीकार गर्दै कानुनले दिएको सजाय भोग्ने बताएका छन् । प्रहरीले १८ वर्ष भनेपनि आफू १७ वर्षको रहेको निश्चलले बताएका छन् । मुलुकी अपराध संहिता, २०७४ को दफा १८३ मा ज्यान मार्ने उद्योग गर्न नहुने कसुरसम्बन्धी व्यवस्था रहेको छ । उक्त दफामा ज्यान मार्ने उद्योग गर्ने व्यक्तिलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । निश्चलको उमेर १८ वर्ष नपुगेको अवस्थामा उनलाई कुन हुने सजायको दुई तिहाइ सजाय हुन सक्नेछ । ज्यान मार्ने उद्योगमा १० वर्ष कैद सजाय हुने भएमा निश्चल करिब ७ वर्ष जेलमै बस्नुपर्ने हुनसक्छ ।

निश्चलले आफूले गल्ती गरेको भन्दै कानुनले दिएको सजाय भोग्ने र जेलबाट निस्किएपछि गलत व्यक्तिको सङ्गतमा नपरी गीत संगीतमा लागि पर्ने बताएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार यतिबेला निश्चल लगायत पक्राउ परेका किशोरहरूमाथि अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ । उनीहरू विरुद्ध चाँडै नै अदालतमा ज्यान मार्ने उद्योग गर्न नहुने कसुरमा सजायको मागदाबी लिएर मुद्दा दर्ता गरिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप