सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संसदीय गतिविधिमा सहभागी हुने कुरालाई पहिलो प्राथमिकतामा राख्न ओलीको निर्देशन

शनिबार, २३ पुस २०७९, १४ : १२
शनिबार, २३ पुस २०७९

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय गतिविधिमा सहभागी हुने कुरालाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिएका छन् । पार्टी संसदीय दलको बैठक र अन्य सबै संसदीय गतिविधिहरूको कामलाई प्राथमिकता दिएर अघि बढ्न अध्यक्ष ओलीले पार्टीका सांसदहरूलाई सचेत समेत गराए । 

शनिबारबाट काठमाडौँमा सुरु भएको पार्टीका सांसदहरूको २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै ओलीले सांसद भएको हुनाले संसदीय गतिविधिको काममा ध्यान दिएर अघि बढ्न पार्टीका सांसदहरू केन्द्रित हुनुपर्ने बताए । उनले भने, ‘हामीले कुनै पनि कार्यक्रममा समयमा आउने र समयभरि बस्ने र खास गरी हामी सांसदहरूलाई संसदीय अभ्यासमा संसद्को बैठकमा भाग लिन नभ्याउने, संसद्को काममा भाग लिन नभ्याउने, प्रशिक्षणको कार्यक्रममा भाग लिन नभ्याउने, अरू बाहिरबाहिर भ्याउने भन्ने कुरा हुँदैन । कहिले कहिले नभ्याउने परिस्थिति पनि पर्न सक्छ । तर आम रूपमा भन्ने हो भने हामी जनप्रतिनिधि हौँ, हामी सांसद हौँ । र, हामीले सांसदको हैसियतले गर्नुपर्ने कामलाई प्राथमिकता दिनु पर्दछ । संसदीय दलको बैठक जति बजे बोलायो, त्यति बजे उपस्थित हुनु पर्दछ । संसदीय अन्य गतिविधिहरूमा जति बजे बोलाइएको छ, त्यति बजे उपस्थित हुनु पर्छ ।’ अध्यक्ष ओलीले सांसदहरूले समय सीमालाई हेक्का राखेर अघि बढ्नुपर्ने समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप