सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एमाले अध्यक्ष ओलीले दिए सांसदहरूलाई नैतिक शिक्षा : सधैँ ज्ञानी र विनम्र हुनुहोस्

शनिबार, २३ पुस २०७९, १४ : ३०
शनिबार, २३ पुस २०७९

नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले नवनिर्वाचित सांसदहरूलाई सांसद र संसदीय व्यवहारबारे प्रवचन दिएका छन् । शनिवार नयाँ बानेश्वरमा एमाले सांसदका लागि गरिएको २ दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सांसदहरूलाई ज्ञानी र विनम्र हुन सल्लाह दिए । उनले ज्ञान र घमण्ड सधैँ एकै ठाउँ बस्न नसक्ने भन्दै ज्ञानलाई मात्र लिएर हिँड्न सांसदहरूलाई आग्रह गरे । 

उनले सांसदहरूलाई संसदीय दलको बैठक र संसदीय गतिविधिमा जतिबेला बोलाइएको छ त्यतिबेला उपस्थित हुन आग्रह गर्दै समय पालनामा ध्यान दिनुपर्ने उल्लेख गरे ।  

कार्यक्रममा ओलीले भने–‘सबै थोक जानेको छु भनेर सम्झनुहुँदैन । सबै जानेको छु भन्ने सोच्यो भने मान्छे बिग्रन्छ । सबै थोक जान्दछौँ भन्ने सोच्यौँ भने त्यसले दिमागमा घर गर्छ । दिमागमा घमण्ड बस्न थालेपछि त्यहाँ बस्न सक्दैन । ज्ञान र घमण्ड कहिले पनि एकै ठाउँ बस्न सक्दैन । कि ज्ञान बस्छ कि घमण्ड बस्छ । दिमागमा ज्ञानलाई बस्न दिने हो भने तत्काल घमण्डलाई बाहिर निकाल्नुपर्छ । दिमागमा घमण्ड पस्न पाएको छैन भने पस्न दिनुहुँदैन ।’ उनले ज्ञानका लागि सधैँ दिमागको ढोका खुला राख्न आग्रह गर्र्दै सबै सांसदहरूलाई विनम्र बन्न आग्रह गरे । 

उनले कविशिरोमणी लेखनाथ पौडेलको कविता अंश वाचन गर्दै भने–‘उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ? जुन वृक्षको हाँगोमा फल हुन्छ त्यो लच्केकै हुन्छ जुन वृक्षमा फल हुँदैन त्यो सिधा नै हुन्छ । संस्कृतमा एउटा भनाई छ विद्या ददाति विनयं विनयाद्याति पात्रताम । पात्रत्वाद्धनमाप्नोति धनाद्धर्मं ततः सुखम् । अर्थात् विद्याले पहिलो कुरा के दिन्छ भने विनय दिन्छ । विनम्रता दिन्छ । हामी अलिकति मात्र पनि ज्ञानी छौँ भने हामीमा विनम्रता हुन्छ । विनम्र नभएको मान्छेमा ज्ञान हुँदैन । ज्ञान भएको मान्छे उद्दण्ड हुँदैन, विनम्र हुन्छ । यस कुरालाई ध्यानमा राखेर हामीले सिक्नुपर्छ ।’

जनताले माननीय भनेको, राज्यले माननीय भनेको मान्छेलाई दुनियाँले हेरिरहेको हुने भन्दै अध्यक्ष ओलीले सांसदले ठिक ढङ्गले बोल्न, चल्न, व्यवहार गर्न र ठिक आचारण राख्न आग्रह गरे । सांसदले जनताको विश्वासको भारी बोकेर आएको हुनाले जनताको विश्वास भत्काउने काम नगर्न आग्रह गरे । 

उनले भने–‘जनताले मनपराउने काम गर्नुस्, जनताले मन नपराउने व्यवहार नगर्नुस् । जनतालाई राम्रो लाग्ने खालका बानी व्यवहार गरिदिनुस् । जनताले मन नपराउने कुनै आनी बानी आदत छ भने त्यो छोडिदिनुस् । त्यस्तो आनीबानी आजै छोडिदिनुस् जनताले मन पराउने आनीबानी मात्र राख्नुस् । सफल हुने तरिका त्यो हो । हामी सांसद भएपछि देशको पक्षमा, राष्ट्रियताको पक्षमा, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता र राष्ट्रिय स्वाभिमान रक्षाको पक्षमा त्यसको पक्षमा निरन्तर उभिनुस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप