सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कर्तब्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका अभियुक्त २३ वर्षपछि पक्राउ

आइतबार, २४ पुस २०७९, २१ : २२
आइतबार, २४ पुस २०७९

काठमाडौं । २०५६ साउन २२ गते पोखरा महानगरपालिका–३, तेर्सापट्टीस्थित ताल पुलमा राजेश थकालीको हत्यामा संलग्न भई अदालतबाट सोही मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय पाएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सो घटनामा संलग्न उमेश गिरीलाई शनिबार चितवन जिल्लाको भरतपुर महानगरपालिका–१२, धनगडा मन्दिर नजिकै डेराबाट पक्राउ गरिएको हो । उनी यसअघि वैदेशिक रोजगारका क्रममा विभिन्न मुलुकमा काम गरेर फर्किएको पाइएको प्रहरीले जनाएको छ ।

थकालीलाई पेले भन्ने प्रेम कुमार पुन, खेलेन भन्ने दिपक पुन, श्याम भन्ने कुमार पुन, आनन्द प्रधान, लक्ष्मी प्रसाद पराजुली, डिके भन्ने डिक प्रसाद पुन, योगेश पुन, पाण्डुवा भन्ने मोहन गाइने, पुरथ गौचन र उमेश गिरी समेतले धारिलो हतियार छुरा, खुकुरी र छड (फलामको रड) समेत प्रयोग गरी टाउको लगायत शरीरको विभिन्न भागमा प्रहार गरेर हत्या गरेको प्रहरीको भनाइ छ ।

घटना अनुसन्धानको क्रममा तत्काल उमेश गिरी बाहेक अन्य प्रतिवादीहरू पक्राउ परी अनुसन्धान पश्चात् अदालतमा पेस गर्दा पुर्पक्षका लागि थुनामा गएको र २०५८ चैत १ गते मुद्दाको फैसला हुँदा प्रतिवादी पेले भन्ने प्रेम कुमार पुन, आनन्द प्रधान, खेलेन भन्ने दिपक पुनलाई सर्वस्व सहित जन्मकैद, पान्डुवा भन्ने मोहन गोइने, योगेश पुन, डिके भन्ने डिक प्रसाद पुन, लक्ष्मी प्रसाद पराजुलीलाई ३ वर्ष कैद र फरार प्रतिवादी उमेश गिरीको हकमा मुल्तवीमा रहने ठहर भएको प्रहरीले जनाएको छ ।

उमेश गिरीको हकमा मुल्तवीमा रहेको मुद्दा २०६६ साउन २७ गतेको आदेशले मुत्लवीबाट जागी दर्ता भएपछि २०६६ फागुन २७ गते फैसला हुँदा प्रतिवादी सर्वस्व सहित जन्मकैद ठहर भएको र निज प्रतिवादी हालसम्म फरार रहँदै आएको अवस्थामा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप