आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभाको पहिलो बैठक सुरु

सोमबार, २५ पुस २०७९, १३ : २२
सोमबार, २५ पुस २०७९

प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ । मङ्सिर ४ गतेको निर्वाचनपछि सोमबार प्रतिनिधिसभाको पहिलो बैठक बसेको हो ।

 बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले संसद् आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । राष्ट्रपति भण्डारीले पठाउनु भएको पत्र पढेर सुनाउँदै उनले भने, ‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम संवत् २०७९ साल पुस २५ गते सोमबारको दिन १३ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।’

त्यसैगरी राष्ट्रपति कार्यालयको प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनबारे संसद्लाई जानकारी गराएको पत्र पनि पढेर सुनाइएको छ । नवनिर्वाचित प्रतिनिधिसभामा १२ वटा राजनीतिक दलहरूको प्रतिनिधित्व रहेको छ । सबै दलका संसदीय दलका नेताहरूले दलीय प्रतिनिधित्वको आधारमा सम्बोधन गर्ने कार्यसूची रहेको छ । एमालेसहितका राजनीतिक दलहरूको समर्थनमा प्रतिनिधिसभामा तेस्रो ठुलो दलको रूपमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् भने  पुस ११ गते ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । प्रधानमन्त्री दाहालले मंगलबार संसद्मा विश्वासको मत लिनु हुनेछ । प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल नेपाली काँग्रेस भने प्रमुख प्रतिपक्षको रूपमा रहेको छ । प्रधानमन्त्री र राष्ट्रपति दुवै पदमा नेपाली काँग्रेसले दाबी गरेपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले एमालेलगायतका दलहरूसँग गठबन्धन गरी आफ्नो नेतृत्वमा सरकार गठन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप