आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्वगृहमन्त्री बालकृष्ण खाँणको सुरक्षामा खटिएका ९ जना सुरक्षाकर्मी फिर्ता

मङ्गलबार, २६ पुस २०७९, १४ : २७
मङ्गलबार, २६ पुस २०७९

काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाँणको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको छ । कांग्रेस नेता खाँणको सुरक्षामा खटिएका ९ जनालाई फिर्ता बोलाइएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

गृह मन्त्रालयले पुस १२ मा ४८ घण्टाभित्र कार्यविधि मिचेर परिचालन गरिएको सुरक्षाकर्मी फिर्ता गराउन सुरक्षा निकायलाई निर्देशन दिएको थियो । गृहको निर्देशनपछि अहिलेसम्म १ सय ९० जना प्रहरी कर्मचारी फिर्ता आएको प्रहरी प्रवक्ता (डिआइजी) टेक प्रसाद राईले रातोपाटीलाई जानकारी दिए ।

कांग्रेसका वरिष्ठ नेता वरिष्ठ नेता रामचन्द्र पौडेल र सह–महामन्त्री उमाकान्त चौधरीको सुरक्षामा खटिएका प्रहरी पनि फिर्ता भएका छन् । पूर्व मन्त्री एवं कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य उमा रेग्मीको सुरक्षामा खटिएका प्रहरीलाई पनि फिर्ता बोलाइएको छ ।

यसगरी एमाले नेता एवं पूर्व उद्योग राज्यमन्त्री मोतीलाल दुगड, माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा र कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको सुरक्षामा खटिएका प्रहरी फिर्ता भएका छन् ।

पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारी, कांग्रेस नेता रामशरण महत र पूर्वमन्त्री भवानी खापुङको सुरक्षामा खटिएका प्रहरी फिर्ता भएका छन् । व्यवसायी चन्द्र ढकालको सुरक्षामा परिचालित सुरक्षाकर्मीलाई पनि प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको छ । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि–२०७७ विपरीत खटिएकाहरूलाई फिर्ता गरिएको डिआइजी राईले बताए ।

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि–२०७७ अनुसार पूर्व गृह मन्त्रीले १० वर्षसम्म २ जना पिएसओ र सशस्त्र प्रहरीको पछुवा गाडी पाउँछन् । पूर्व मन्त्रीले दुई वर्षसम्म १ जना व्यक्तिगत सुरक्षा अधिकृत पाउँछन् । राज्यमन्त्रीले पनि दुई वर्षसम्म पिएसओ पाउने व्यवस्था छ ।

मापदण्ड विपरीत पूर्व मन्त्री र राज्यमन्त्रीहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी अधिकांश फिर्ता भएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलले बताए । उनले भने–‘पूर्व प्रहरीले मापदण्ड विपरीत प्रयोग गरिरहेका सुरक्षाकर्मी फिर्ता हुन बाँकी छन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप