आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेसलाई ओलीको व्यङ्ग्य : ‘माछा नभएको खोलामा फ्याँके जस्तै हुनेछ जाल’

मङ्गलबार, २६ पुस २०७९, १५ : ४०
मङ्गलबार, २६ पुस २०७९

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे गरेको निर्णयप्रति व्यङ्ग्य र प्रश्नहरू गरेका छन् । 

मंगलबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत माग्ने क्रममा ओलीले सरकारलाई समर्थन गरेकोमा कांग्रेसलाई धन्यवाद दिए । प्रतिपक्षी दलले विश्वास मत दिने को  लोकतन्त्रमा नयाँ भाष्य स्थापना भएको र त्यसबारे भविष्यमा छलफल होला भन्ने आशा गरे ।

उनले भने,‘प्रतिपक्षी दलले दिएको यो विश्वासको मत कुनै जाल होइन, ढोक्सा होइन भन्ने विश्वास व्यक्त गर्न चाहन्छु । कुनै जाल वा ढोक्सा हो भने भन्न चाहन्छु माछा नभएको खोलामा फ्याँके जस्तै हुनेछ जाल । यसभित्र भोलिका लागि केही सोचिएको छ भने ढोक्सा रित्तै हुनेछ किनभने त्यस खोलाबाट त्यस ढोक्सा थोपेतिर कुनै माछा बग्नेछैन ।’ 

उनले कांग्रेस संसद् विघटन हुनेवित्तिकै झसँग भएर प्रतिगमन सम्झने भन्दै व्यङ्ग्य गरे । संसद् विघटन बेलायतमा पनि हुने, जापान, इजरायलमा पनि हुने अरु देशमा पनि हुने बताए । उनले शेरबहादुर देउवाले २०५८ साल असारमा संसद् विघटन गरेको र अरु कसैले समर्थन नगरेको बेला आफूले समर्थन गरेको स्मरण गराए ।

चुनाव गराउनु भएन भने गलत हो चुनाव गराएर जनताको बीचमा जाने हो भने ठिक हो भनेर मैले समर्थन गरेको हैन भन्दै ओलीले प्रश्न गरे । उनले मौका अनुसार राजनीतिमा व्याख्या गर्न नहुने बताए । उनले भने,‘बहुदल पद्धति के हो, सत्ता पक्ष भनेको के हो र प्रतिपक्ष भनेको के हो ? त्यसको विश्वव्यापी परिभाषा, विश्वव्यापी मान्यता, अभ्यास छ । त्यसमा म बहस गर्न चाहन्न शेरबहादुरजीलाई धन्यवाद मात्र दिन चाहन्छु ।’ 

उनले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिने निर्णय गरेकोप्रति व्यङ्ग्य गर्दै भने,‘मैले हिजै विश्वासको मत दिनुहोस् भनेको थिएँ, कांग्रेसका साथीहरु बाहिर कार्पेटमा पोखेजस्तो किन गर्ने भनेर कपमै हालिदिनुभयो । थ्याङ्क्यू भेरी मच । वास्तवमा विरोध गर्ने ठाउँ नै छैन नि । प्रधानमन्त्रीमा पुष्पकमल दाहालजीलाई विरोध गर्ने कसैको लागि पनि ठाउँ छैन नि । त्यसमा पनि नेपाली कांग्रेसका लागि कुनै ठाउँ छैन २ वर्षपछि त भोट हाल्छु भनेकै थियो, २ वर्षअघि नदिँदाको कुरा न हो यो । २ वर्षपछि भोट हाल्ने भनेकोले अहिले किन नहाल्ने ? मामुली कुरा हो नि त्यो । यसमा बहस नगरौँ ठिक छ ।’

प्रधानमन्त्रीले विश्वासको मत माग्ने क्रममा विगतको कुरा नराखी भविष्यको कुरा राखेको, सरकारको न्यूनतम प्राथमिकतामा राखिएको कुरा स्वागतयोग्य रहेको बताए ।  उनले प्रतिबद्धता जति प्रस्तुत गरिन्छ त्यो पूरा गर्न त्यतिकै चुनौती रहेको पनि उल्लेख गरे । ५० लाख गरिबी हटाउने र विदेश गएका लाखौँ नेपालीलाई आकर्षक रोजगारीको व्यवस्था गर्न चुनौती रहेको टिप्पणी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप