सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

११ वर्षअघि इन्द्रेणी कम्प्लेक्समा बम राख्ने महेश खत्री पक्राउ

मङ्गलबार, २६ पुस २०७९, १८ : ०२
मङ्गलबार, २६ पुस २०७९

काठमाडौं । ११ वर्षअघि इन्द्रेणी कम्प्लेक्समा बम राख्ने व्यक्ति पक्राउ परको छन् । पक्राउ पर्नेमा ललितपुर चापागाउँ निवासी महेश खत्री रहेका छन् । 

खत्रीले २०६८ वैशाख १३ गते नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा बम राखेको प्रहरीको भनाई छ । उनको समूहले कम्प्लेक्सका मालिकलाई फोन गर्दै पाँच करोड रुपैयाँ माग गरेका थिए । 

पैसा नदिए घर बमले उडाइदिने भन्दै खत्रीका समूहले धम्कीसमेत दिएको प्रहरीको दाबी छ । पाँच करोड रुपैयाँ नदिए कम्प्लेक्स र घरसमेत बमले उडाइदिने धम्की दिइएको थियो ।

तर इन्द्रेणी कम्प्लेक्सका मालिकले पैसा दिन अस्वीकार गरेपछि खत्रीको समूहले इन्द्रेणी कम्प्लेक्समा २०६८ वैशाख १३ गते बम राखेको थियो । कम्प्लेक्सको पार्किङमा बम राखेर सञ्चालकलाई खबर गरेपछि सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । 

खबर पाएपछि पुगेको प्रहरीले बम डिस्पोजका लागि नेपाली सेनालाई बोलाएका थिए । पछि नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम निष्क्रिय बनाएको थियो । घटनामा कुन कुन व्यक्तिको संलग्नता रहेको थियो भन्ने अझै खुलेको छैन । यद्यपि घटनामा शंकित रहेका खत्रीलाई प्रहरीले लामो समयदेखि खोजी गरिरहेको थियो । 

घटना लगत्तै फरार रहेका खत्रीलाई मंगलबार प्रहरी वृत्त बानेश्वरको टोलीले चापागाउँबाट पक्राउ गरेको हो । घटनालगत्तै फरार रहेका खत्री आफ्नो घरमा समेत बस्ने गरेका थिएनन् । घरनजिकै व्यापार गरेर बसिरहेको अवस्थामा उनलाई प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले पक्राउ गरेको हो । 

खत्रीलाई मंगलबार नै अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप