स्पेनिस सुपर कप : रियल फाइनलमा प्रवेश
रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै साविक विजेता रियल फाइनलमा पुगेको हो ।
किङ फाद स्टेडियम साउदी अरेबियामा भएको खेल निर्धारित समयमा १–१ को बराबरी सकिँदा त्यसपछि अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।
पेनाल्टीमा रियलले भने बाजी मार्न सफल भयो । रियलका लागि करिम बेन्जेमा, लुका मोड्रिच, टोनी क्रुस र मार्काे एसेन्सियाले गोल गरे । भ्यालेन्सियाका इडिन्सन काभानी, इलेक्स मोरिवा र ह्युगो गुइलामोनले गोल गरे । इरे कमर्ट र जोश गायाले गोल गर्न सकेनन् ।
त्यसअघि खेलको ३९औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । यता स्यामुइल डियास लिनोको गोलमा भ्यालेन्सियाले खेलको ४६औं मिनेटमा खेल बराबरीमा ल्यायो ।
अब रियलले उपाधिका लागि बार्सिलोना र रियल बेटिसबीचको विजेतासँग खेल्ने छ।