आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

'राजनीतिक दलले आफन्तलाई राजदूत बनाउँदा परराष्ट्र सम्बन्ध बिग्रियो'

बिहीबार, २८ पुस २०७९, १६ : ०३
बिहीबार, २८ पुस २०७९

काठमाडौं । सांसदहरूले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको समस्या समाधानका लागि सरकारसँग आग्रह गरेका छन् । 

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सांसदहरूले वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 

सांसदहरूले कूटनीति जानेको व्यक्ति राजदूतमा नियुक्त गर्न नसक्दा परराष्ट्र सम्बन्ध राम्रो बन्न नसकेको बताए । उनीहरुले राजदूत नियुक्ति गर्दा आफन्तहरू छान्नु नहुने धारणा राखे । 

बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) की सांसद राजेन्द्रलक्ष्मी गैरेले वैदेशिक रोजगारीमा गएकाहरूको निधन हुँदा शव ल्याउन किन ढिलाइ भइरहेको छ ? भन्दै सरकारलाई प्रश्न गरिन् । उनले वैदेशिक रोजगारीमा गएको समस्या छिटो र छरितो ढंगबाट गर्न आग्रह गरिन् ।  

बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद जगतबहादुर पार्कीले विदेशी लगानी नभित्र्याइकन देशलाई समृद्ध बनाउन नसकिने बताए । उनले वैदेशिक लगानी भित्र्याउने सन्दर्भमा धेरै समस्याहरु रहेको भन्दै समस्याको समाधान गरेर अघि बढ्न सरकारलाई सुझाव दिए । उनले एउटा सरकारले गरेका निर्णयहरू अर्को सरकारले तोड्ने गरेकै कारण कतिपय विकास निर्माणका गतिविधिहरूमा समस्या हुने गरेको बताए । उनले राजनीतिक चलखेल नगरी विकासका काम अघि बढाउनुपर्ने बताए ।  

बैठकमा बोल्दै नेकपा एमालेकी सांसद दीपा गुरुङले उत्पादन गर्न नसकेसम्म लगानी गर्नसक्ने अवस्था नहुने बताइन् । उनले उत्पादन गर्दा आउने समस्यालाई समाधान गरेर अघि बढ्दै कर्मचारीहरुको पूर्णता दिई कामहरूमा छिटो र छरितो बनाउनुपर्ने बताइन् ।  

बैठकमा नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले लगानी गर्न उद्यमीहरू उत्साहित नदेखिएको भन्दै उद्योगीहरूलाई लगानीमैत्री वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरिन् । उनले विदेशी लगानी भित्र्याउने कुरामा परराष्ट्र मन्त्रालयले नै आवश्यक नीति बनाएर अघि बढ्नुपर्ने बताइन् ।  उनले नेपालसँग आयात मात्रै गर्ने तर निर्यात गर्ने कुरा केही नरहेको भन्दै उत्पादन बढाउने कुरामा ध्यान दिन जरुरी रहेको बताइन् । उनले विदेशमा मृत्यु भएका नेपालीहरूको शव ल्याउन ढिलाइ भइरहेको बारे सरकारको ध्यानाकर्षण गराइन् ।  

बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद शेखरकुमार सिंहले नेपाललाई आत्मनिर्भर बनाउन परराष्ट्र मन्त्रालयले आफ्नो भूमिका खेल्नुपर्ने बताए । उनले ४५ वर्ष अगाडि स्थापना गरिएका दूतावासहरूमा जनशक्ति थपेर सबल बनाउनुपर्ने माग गरे ।  

बैठकमा नेकपा एमालेका सांसद रामचन्द्र राईले अझैपनि नीतिगत व्यवस्थामा भएका कुराहरूको कार्यान्वयन हुन नसक्नु दुःखद भएको बताए । उनले अन्तरमन्त्रालयको समन्वय पर्याप्त हुन नसकेको बताए । उनले नीतिले भने अनुसारको कूटनीतिक सम्बन्ध स्थापना गर्न नसक्दा विदेशी मुलुकसँग नेपालको सम्बन्ध बिस्तार हुन नसकेको बताए । उनले नेपालमा रहेका विदेशी राजदूतहरूले नेपालका राष्ट्रपति प्रधानमन्त्रीसँग सिधा सम्पर्क स्थापना गर्न सक्ने भएपनि नेपाली राजदूतहरू भने सिधा सम्बन्ध बिस्तार गर्नसक्ने स्थितिमा नहुनु राम्रो नभएको बताए । 

बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्कीले वैधानिक रूपमा वैदेशिक रोजगारीमा जानेहरूको समस्या खासै नरहेको भएपनि अवैधानिक रूपमा जाने नेपालीहरू भने धेरै समस्यामा पर्ने गरेको बताए । उनले उनीहरूको उद्धार गर्नेकुरा चुनौतिको विषय बनेको बताउनु भयो । फरक प्रसंगमा उनले नेपालमा राहदानी लिनका लागि सर्भरको क्षमता विकास गर्नु जरुरी रहेको बताए ।  

बैठकमा नेकपा एमालेका सांसद सोनाम गोल्जेन शेर्पाले नेपालको परराष्ट्र कूटनीति धेरै नै कमजोर रहेको बताए । उनले राजदूत नियुक्ति गर्दा कूटनीति जानेका व्यक्ति नभई राजनीतिक दलहरूले आफन्तहरूलाई स्थान दिँदा परराष्ट्र सम्बन्धमा दरार पैदा भएको बताए । उनले कस्तो व्यक्तिलाई राजदूत नियुक्त गर्ने भन्नेबारेमा स्पष्ट कानुन बनाउनुपर्ने माग गरे । सांसद शेर्पाले हरेक दुर्गम जिल्लामा इलाका प्रशासन कार्यालयमा अख्तियार प्रतियोजन गरी राहदानी उपलब्ध गराउनुपर्ने व्यवस्था गर्न आग्रह गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप