२४ एसएसपीको सरुवा, काठमाडौंका एसएसपी ६ महिनामै फेरिए
काठमाडौं । गृह मन्त्रालयले २४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ । उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहिबार एसएसपीहरुको काज सरुवा गरेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भरत बहादुर बोहरालाई ६ महिनामै सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बोहरालाई प्रहरी प्रधान कार्यालय स्थित सुपरिवेक्षण तथा अनुगमन महाशाखामा सरुवा गरिएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईलाई पनि ६ महिनामा हटाइएको छ । कार्यक्षमतामा कमजोर मानिएका भट्टराईलाई प्रहरी प्रधान कार्यालयस्थित सुरक्षा सेवा व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा दान बहादुर कार्की र डा मनोज कुमार केसीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा गरिएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका सिद्धि विक्रम शाहलाई पठाइएको छ । सुशिल सिंह राठौरलाई कर्णाली प्रदेश तालिम केन्द्र नेपालगञ्जमा सरुवा गरिएको छ । जिवन कुमार श्रेष्ठलाई मानव बेचविखन अनुसन्धान ब्यूरोमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।