आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा धाउनुपर्दैन : गृहमन्त्री

सोमबार, ०२ माघ २०७९, १७ : ५३
सोमबार, ०२ माघ २०७९

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा धाउनु नपर्ने स्पष्ट पारेका छन् । सिंहदरबारमा आज प्रदेश प्रहरी प्रमुखका रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डीआइजी) सँगको भेटमा गृहमन्त्री लामिछानेले प्रहरीको कार्यकुशलता, कार्यसम्पादन तथा तोकिएको जिम्मेवारीमा कस्तो भूमिका निर्वाह भएको र त्यसैको आधारमा नेतृत्व चयन हुने बताए ।

उनले सरुवा भएका प्रदेश प्रमुखले आफ्नो जिम्मेवारी उच्च मनोबलका साथ निभाउने अपेक्षा गरेको बताए । गृहमन्त्री लामिछानेले कुनै राजनीतिक हस्तक्षेपबीना सङ्गठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरेको पनि जानकारी गराए । गएको पुस २९ गते मन्त्रिस्तरीय निर्णयबाट उनीहरुलाई सरुवा गरिएको थियो । गृहमन्त्री लामिछानेले विगतमा सरुवालाई सजायको रुपमा लिने गरिएको भए पनि यसपटक कार्यकुशलता नै हेरेर जिम्मेवारी तोकिएको र प्रदेशमा कुनै  राजनीतिक आग्रह वा पूर्वाग्रह नराखी जनताका हितमा काम गर्न निर्देशन दिए । उनले जिम्मेवारी निर्वाहमा ध्यान दिन, प्रहरी सङ्गठन र आफू मातहतमा रहेका प्रहरी कर्मचारीमा सद्भाव राखेर काम गर्न सुझाव दिएका छन् । प्रदेश तथा अन्य निकायमा रहेका सबै प्रहरी अधिकारीलाई उनले सधैँ पीडितको पक्षमा उभिन आग्रह गरे ।

कसैको प्रभाव वा दबाबमा नपरी नागरिकको साथी बन्दै कानुनको पालनामा दृढ रहन मन्त्री लामिछानेले निर्देशन दिए । मन्त्री लामिछानेले सङ्गठनमा क्षमता भएकालाई उचित अवसर दिने तर कुनै राजनीतिक र शक्ति केन्द्रको दबाबमा प्राभावित हुन नदिने अडानमा आफू रहेको स्पष्ट पारे । उनले शान्ति सुरक्षा कायम, अपराध, राजस्व चुहावट नियन्त्रणलगायत क्षेत्रमा सङ्गठनले गरेको विश्वास डगमगाउन नदिन सरूवा भएका डिआइजीसँग आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप