आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

को हुन् सभामुखमा उम्मेदवारी दिएका घिमिरे र न्यौपाने ?

बुधबार, ०४ माघ २०७९, २२ : ५५
बुधबार, ०४ माघ २०७९

काठमाडौं । प्रतिनिधि सभाको सभामुख पदको निर्वाचनका लागि सत्तापक्ष र प्रतिपक्षी दलको तर्फबाट २ जनाको उम्मेदवारी परेको छ । बिहीबार प्रतिनिधि सभामा हुने सभामुखको निर्वाचनका लागि सत्ताघटक दलको तर्फबाट नेकपा एमालेका देवराज घिमिरे र नेपाली कांग्रेस तथा एकीकृत समाजवादीको तर्फबाट ईश्वरी न्यौपानेको उम्मेदवारी परेको हो । 

बुधबार संसद् भवन नयाँ बानेश्वरमा भएको उम्मेदवारी दर्ताका क्रममा सबैभन्दा पहिला सक्ता गठबन्धनका तर्फबाट घिमिरेले उम्मेदवारी दर्ता गरेका थिए । उनलाई एमालेका सांसद सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका हुन् भने माओवादीका सांसद हितराज पाण्डे, रास्वपाका सांसद रवि लामिछाने र राप्रपाका सांसद राजेन्द्र प्रसाद लिङ्देनले समर्थन गरेका छन् । 

यता कांग्रेसबाट सभामुखको उम्मेदवारी दिएकी न्यौपानेको मनोनयन दर्ताका लागि कांग्रेसका सांसद विश्वप्रकाश शर्माले समर्थन र एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले समर्थन गरेका छन् । 

सभामुखको प्रतिस्पर्धी उम्मेदवार रहेका घिमिरे र न्यौपानेको यस्तो छ राजनीतिक पृष्ठभूमि:

को हुन घिमिरे ? 

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ६ स्थायी बासिन्दा रहेका घिमिरे २०१३ साल जेठ १३ गते सिरजंघा गाउँपालिका वडा नम्बर ३, तालेजुङमा जन्मिएका थिए । स्नातकसम्म अध्ययन गरेका घिमिरेले गाउँकै सिंहदेवी प्राथमिक विद्यालयबाट औपचारिक शिक्षा लिन थालेका थिए । तालेजङु सदरमुकामको भानु पब्लिक हाइस्कुलबाट एसएलसी पास गरेका थिए भने धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट आइ.ए. उत्तिर्ण गरी त्रिचन्द्र क्याम्पसबाट स्नातक तह पूरा गरेका थिए । 

वि.सं.२०३१ सालमा झापा विद्रोहपछि अपिल प्रसारणको लाइनबाट नेपाल कम्युनिस्ट पार्टीको सम्पर्कमा रहेका घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी ९कोके० को काममा होमिएर राजनीतिक जीवनमा प्रवेश गरेका थिए । 

२०३३ सालमा बुर्जुवा शिक्षा बहिष्कार गर्दै गाउँ गाउँ पुगेर पार्टीको संगठन निर्माणमा खटेका घिमिरेले भूमिगत भएर कोकेमा काम गरेको ३ वर्षपछि २०३५ साल भदौमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी (कोके) को सदस्यता प्राप्त गरेका थिए । 

२०३५ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका घिमिरेले आफ्नो ४५ वर्षे लामो औपचारिक राजनीतिक जीवनमा पाएका जिम्मेवारीहरू मध्ये  २०३५ पुष ११ गते कम्युनिस्ट घटकहरु मिलेर नेकपा माले बनेपछि तेह्रथुम र पाँचथर जिल्लाको संगठक, २०३९ सालमा इलाम जिल्लाको पार्टी प्रमुख (माक्र्सवादी), २०४९ सालमा नेकपा माले र नेकपाको एकीकरणपछि सम्पन्न नेकपा (एमाले) को पाँचौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य भएका थिए ।

२०५० सालमा नेकपा (एमाले) को मेची अञ्चल इन्चार्ज, २०५८ सालमा केन्द्रीय विभाग अन्तरगत स्वास्थ्य विभागको इन्चार्ज त्यसपछि इन्जिनियरिङ विभाग, युवासंघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्राध्यापक संघको इन्चार्ज भएका थिए । २०७५ सालमा नेकपाको प्रदेश १ को अध्यक्ष, २०७८ मा सम्पन्न नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ इन्चार्ज भएका थिए । 

को हुन् न्यौपाने ? 

कांग्रेसबाट सभामुखको उम्मेदवार बनेकी ईश्वरी न्यौपानेको यो तेस्रो पटकको संसद् यात्रा हो । यसअघि उनी कांग्रेसको संसदीय दलको सचेतक समेत भइसकेकी छिन् । 

२०१६ सालमा दाङमा जन्मिएकी न्यौपानेले स्नातक तहसम्मको शिक्षा हासिल गरेकी छिन् । २०३६ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्य लिएर उनको राजनीतिक यात्रा सुरु भएको थियो । २०५८ सालमा भएको नेपाल महिला संघको पहिलो अधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् भने २०५९ सालमा महिला संघको सभापति भएकी थिइन् । 

२०६४ सालमा भएको पहिलो संविधान सभा र २०७० सालमा भएको दोस्रो संविधानसभामा उनी सभासद् रहेकी थिइन् । २०७० को प्रतिनिधि सभामा उनले कांग्रेसको तर्फबाट सचेतकको भूमिका पनि निर्वाह गरेकी थिइन् ।

पार्टीको १२ औं महाधिवेशन यता ३ वटा महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुँदै आएकी न्यौपाने यो पटक समानुपातिक कोटाबाट सांसद बनेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप