आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माघ १० गते राष्ट्रिय नवप्रवर्तन सम्मेलन आयोजना हुने

शुक्रबार, ०६ माघ २०७९, १९ : ०४
शुक्रबार, ०६ माघ २०७९

काठमाडौं । नेपालमा पहिलो पटक राष्ट्रिय नवप्रवर्तन सम्मेलन आयोजना हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सो जानकारी दिएको हो । 

प्रतिष्ठानका अनुसार माघ १० गते सम्मेलन हुनेछ । सम्मेलनमा विज्ञान, प्रविधि र नवप्रवर्तन नीति, राष्ट्रिय नवप्रवर्तन प्रणाली सम्बन्धी फ्रेमवर्क र विश्व नवप्रवर्तन सूचकाङ्क जस्ता विषयमा छलफल हुनेछ । कार्यक्रमले प्राज्ञिक क्षेत्र सरकार र सेवा क्षेत्रमा क्रियाशील अभ्यासकर्तालाई एक ठाउँमा ल्याउने विश्वास प्रतिष्ठानले गरेको छ ।

देशमा अनुसन्धानलाई बढवा दिन, दिगो विकास लक्ष्य हासिल गर्न, नवप्रवर्तनका प्रतिभाहरुलाई एक ठाउँमा ल्याउन र उनीहरुको भूमिका बिस्तार गर्न र विश्व नवप्रवर्तन सूचकाङ्कमा नेपालको स्थान सुधार गर्ने बाटो पहिल्याउन सम्मेलन आवश्यक रहेको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका प्राविधिक अधिकृत डा. ईश्वर बज्राचार्यले बताए । उनले सम्मेलनमा नवप्रवर्तनको क्षेत्रमा क्रियाशील प्रतिभा दर्शनका साथै नवप्रवर्तक र लगानीकर्ताहरुलाई प्रोत्साहन गरिने बताए । उनले प्रदर्शनका क्रममा प्यानल छलफल, विज्ञ प्रस्तुति र प्रदर्शनीहरु रहने र सात प्रदेशबाट नै सहभागी हुने बताए ।  

त्यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका विषय प्राविधिक डा. रविन्द्रप्रसाद ढकालले यस्ता सम्मेलनले नवप्रवतकहरुलाई आफ्नो काममा सुधार गर्नका लागि सहयोग पुग्ने विश्वास लिएको बताए । उनले यस किसिमका सम्मेलनले नेपाललाई कस्ता फाइदाहरु हुन्छन् भन्नेकुराको पनि ध्यान दिनुपर्ने आवश्यक रहको बताए  । उनले सम्मेलनले अनुसन्धानलाई बढवा दिन, दिगो विकास लक्ष्य हासिल गर्न, नवप्रवर्तनका प्रतिभाहरुलाई एक ठाउँमा ल्याउन र उनीहरुको भूमिका बिस्तार गर्नलाई सहयोग गर्ने बताए ।  

सम्मेलनले सरकार, उद्योग र शैक्षिक क्षेत्रलाई उक्त ठाउँमा ल्याउने उद्देश्य राखेको आयोजकले बताएको छ । देशमा विज्ञान तथा प्रविधि क्षेत्रको विकासलाई सही दिशा प्रदान गर्ने उद्देश्यले सुरु गर्ने सम्मेलनमा सबै प्रदेशबाट २० वटा नवप्रवर्तनको प्रदर्शनी रहने आयोजकले जनाएको छ । सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्नेछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप