सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एफएनसीसीआईले एकदिने एसएमईज सम्मेलन आयोजना गर्ने

शनिबार, ०७ माघ २०७९, १४ : ३७
शनिबार, ०७ माघ २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले माघ ९ गते काठमाडौंमा साना तथा मझौला उद्योग (एसएमईज) सम्मेलनको आयोजना गर्ने भएको छ । उपप्रधान एवं अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा हुने उक्त सम्मेलनलाई अर्थमन्त्री पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सम्बोधन गर्नेछन् । 

महिला उद्यमी लगायत लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसाय क्षेत्रको विकास, विस्तार एवं प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । सम्मेलनको दौरान यस क्षेत्रका लागि आवश्यक नीतिगत व्यवस्था, वित्तिय पहुँच, बजार प्रवद्र्धन, निर्यात प्रवद्र्धन, अतिकम विकसित मुलुकबाट स्तरोन्नती हुँदा पर्ने प्रभाव लगायतका विषयहरुमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुुति, सामूहिक छलफल हुनेछन् ।

मुलुुकको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा लघु, घरेलु, साना तथा मझौलाको रहेको छ । जीडीपीमा उद्योग क्षेत्रको योगदान ५.६ प्रतिशत छ । त्यसमा एसएमईजको अंशमात्र ९० प्रतिशत रहेको बताइन्छ । यस क्षेत्रबाट करिब १७ लाखले रोजगार पाएका छन् । एकदिने सम्मेलनको उद्घाटन समारोहमा महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उद्योग सचिव डा.तोय नारायण ज्ञवाली लगायत उपस्थित हुनेछन् ।

त्यसैगरी सम्मेलनको प्राविधिक पहिलो शत्र ठूला तथा साना उद्योगबीच व्यवसायिक सम्बन्ध,दोस्रो सत्र वित्तिय पहुँच, तेस्रो शत्र वस्तु बजारीकरण÷निर्यात÷अति कम विकसित मुलुकबाट स्तरोन्नती÷युवा उद्यमशीलता विषयमा सामूहिक छलफल हुनेछ । सम्मेलनमा आआफ्ना क्षेत्रका स्थापित उद्यमी व्यवसायीका अनुुभव आदान प्रदानको सत्र समेत राखिएको छ ।

वित्तिय पहुँचका लागि आवश्यक मापदण्ड, कागजात एवं प्रक्रियागत विषयहरुमा विज्ञहरुले जानकारी दिनुको साथैं विदेशी राष्ट्रहरुमा एमएसएमई क्षेत्रको विकास एवं प्रवद्र्धनका लागि भए÷गरेका प्रयासहरूबारे समेत सम्मेलनमा छलफल हुनेछ । साना उद्योगीले प्रतिष्ठित उद्योग र उद्योगीले आफ्नो क्षेत्रमा प्राप्त गरेको सफलता र अनुभव आदान प्रदान गर्ने अवसर समेत पाउने छन् ।

सम्मेलनबाट एमएसएमई उद्योग प्रवद्र्धन गर्न बनेका नीति, ऐन, नियम एवं कार्यविधिमा भएका व्यवस्थाहरुबारे सहभागीले जानकारी प्राप्त गर्नुका साथै सम्मेलन एमएसएमई क्षेत्रले सामना गर्नुपरेका समस्या पहिचान गर्दै सम्बन्धित निकायहरुमा समस्या समाधानका लागि पहल गर्न सहयोगी हुने अपेक्षा गरिएको छ । 
सम्मेलनमा विभिन्न क्षेत्रका करिब ३०० जना प्रतिनिधिहरुको सहभागिता रहने छ । सम्मेलनका सबै कार्यक्रम होटल हिमालय कुपण्डोलमा सोमवार विहान ९ः३० बाट शुरू हुने बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप