आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

सांसद पक्राउ गर्न निर्देशन : गृह मन्त्रालयमाथि नै एमालेको प्रश्न

सांसद महतो पक्राउ नपर्नुमा गृह प्रशासन नै दोषी : सचिव महासेठ
आइतबार, ०८ माघ २०७९, २० : ५६
आइतबार, ०८ माघ २०७९

काठमाडौँ । गृह मन्त्रालयले ज्यान मुद्दामा फरार एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीलाई लिखित निर्देशन दिएको दुई दिन बित्दासमेत उनी फेला परेका छैनन् । गृहमन्त्री रवि लामिछानेले यसअघि प्रहरीलाई मौखिक आदेश दिँदा पनि उनी पक्राउ पर्न नसकेपछि लिखित रुपमै प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले विज्ञप्तिमार्फत जानकारी दिएका थिए । 

प्रहरीले उनको खोजी कार्य भइरहेको जनाएपनि पक्राउ भने पर्न नसकेका हुन् । यसैबीच एमालेले  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कोइरी पक्राउ नपर्नुमा गृह प्रशासन नै मुख्य दोषी रहेको आरोप लगाएको छ ।  एमालेका सचिव रघुवीर महासेठले अदालतबाट दोषी ठहर भई फरार प्रतिवादीको सूचीमा रहेको सांसदलाई पक्राउ गर्न गृहमन्त्रीले नै निर्देशन दिसकेको अवस्थामा किन पक्राउ गर्न सकिएन भन्दै प्रश्न गरे । यो मामिलामा गृह प्रशासन नै दोषी भएको उनले दाबी गरे । सांसद महतोलाई पार्टीले वा पार्टीका नेताहरुले संरक्षण गरेको आरोपमा कुनै सत्यता नरहेको उनले बताए । 

कोइरी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा संसद भवनमा उपस्थित भएका थिए । ‘सांसद संसद भवन छिर्दा पनि बाहिरिँदा पनि प्रहरी हुन्छ । तर पनि उनी पक्राउ नपर्नुमा गृह प्रशासनको मिलोमतो हो’, उनको भनाइ छ ।  तपाईँहरुले संरक्षण गर्दा पक्राउ पर्न नसकेको आरोप छ नि भन्ने प्रश्नमा उनले कानूनी कारवाहीबाट बचाउन पार्टीले कसैलाई प्रभावित नपारेको जिकिर गरे । 

सचिव महासेठले न्यायिक इजलासबाटै दोषी ठहर भएको व्यक्तिलाई गृहमन्त्रीले पनि निर्देशन दिनु नपर्ने धारणा राख्दै यसमा गृह प्रशासनकै कार्यशैली शंकास्पद भएको बताए । मधेस आन्दोलनको क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरीका जवान प्रेमबहादुर विकको हत्या प्रकरणमा महतोलाई उच्च अदालतले दोषी ठहर गरेको थियो । हत्या आरोपका बीच उनी महोत्तरी १ बाट संघीय सांसदमा निर्वाचित भएका थिए । 

तत्कालिन राष्ट्रिय जनता पार्टीमै रहँदा मधेश आन्दोलनको क्रममा विकको हत्या भएको थियो । उक्त हत्या प्रकरणमा कोइरी संलग्न रहेको जिकिरसहित मुद्दा दायर भएको थियो । विक हत्या प्रकणरमा देवेन्द्र यादव, कौशल कुमार यादव, अभिराम शर्मा र अनिल ठाकुरविरुद्ध पनि मुद्दा दायर भएको थियो ।  २०७२ भदौ २५ गते महोत्तरीको जलेश्वरमा विकको हत्या भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप