आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

साना तथा मझौला उद्योगीका समस्या समाधान गर्न आग्रह

आइतबार, ०८ माघ २०७९, १७ : ३६
आइतबार, ०८ माघ २०७९

काठमाडौँ । देशको कुल व्यवसायको झन्डै ९० प्रतिशत हिस्सा साना तथा मझौला उद्योगले ओगटे पनि सरकारले यस क्षेत्रका समस्याहरू समाधान गर्न नसकेको व्यवसायीहरूले गुनासो गरेका छन् । आइतबार आयोजित साना तथा मझौला व्यवसायी महासंघको बैठकमा बोल्दै महासंघका अध्यक्ष दीपकप्रसाद आचार्यले यस क्षेत्रलाई सरकारले धेरै नै उपेक्षा गरेकोले सबै उद्यमी व्यवसायी एकजुट भएर अगाडि बढ्नुपरेको बताए । उनले आफूहरुको समस्या समाधानमा  गम्भीर बन्न पनि सरकारलाई आग्रह गरे । 

वर्षौँदेखि साना तथा मझौला व्यवसाय गर्दै आएका व्यवसायीहरू धेरै किसिमको झमेलामा परेको गुनासो उनको छ । ‘मुलुकको जनशक्तिलाई कृषि क्षेत्रले मात्र ग्रहण गर्न नसक्ने हुँदा स्थानीय स्तरमै स–साना व्यवसाय खोली रोजगारी प्रवर्द्धन गर्नु जरुरी छ’, उनले भने, ‘स्थानीय श्रम, सिप र कच्चा पदार्थमा आधारित व्यवसायको सिर्जना गर्न सकिएमा त्यस्ता व्यवसाय टिकाउ हुन सक्छन् ।’

कार्यक्रममा साना तथा मझौला उद्योग महासंघका गण्डकी प्रदेश प्रमुख रेशमबहादुर पोखरेलले धेरै वर्षदेखि निर्यात क्षेत्रमा लागे पनि यस क्षेत्रका व्यापारी व्यवसायीका लागि सरकारले केही गर्न नसकेको दाबी गरे ।

यस विषम परिस्थितिमा व्यवसायीहरू एकजुट भई अगाडि बढ्दा व्यसायीहरुलाई उद्योग दर्ता गर्नदेखि लिएर उत्पादन गरी बजारसम्म लग्न धेरै समस्या परेको पोखरेलले बताए । 

साना तथा मझौला व्यवसायी महासंघका महासचिव डा. गोपालप्रसाद तिवारीले साना तथा मझौला उद्योग नेपालको अर्थतन्त्रको आधारशिला भएकोले निजी क्षेत्र र सरकारले संयुक्त रूपमा अघि बढ्नुपर्ने सुझाव दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप