आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

लमही–घोराही–तुलसीपुर अलपत्र फोरलेन सडकले लियो २५ जनाको ज्यान

कहिले सम्पन्न होला ४ वर्षदेखि अलपत्र सडक बिस्तारको काम ?
सोमबार, ०९ माघ २०७९, १४ : २८
सोमबार, ०९ माघ २०७९

दाङ । दाङको लमही–घोराही–तुलसीपुर फोरलेन सडक विस्तार आयोजना ४ वर्षदेखि अलपत्र परेको छ ।  २०७५ पुुस १३ गतेदेखि निर्माण सुरु भएको विस्तार आयोजना ०७८ असोज मसान्तसम्म  अर्थात् काम सुरु भएको ३० महिनाभित्र सम्पन्न हुने सम्झौता भएको थियो । 

भारतीय निर्माण तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टले १ करोड २१ लाख ८२ हजार अमेरिकन डलरमा सो सडक निर्माणको जिम्मा लिएको थियो । फोरलेन सडक विस्तार आयोजना सुरु भएको अहिले झण्डै ४ वर्ष बितिसकेको छ । यस बीचमा ३ पटक म्याद थप समेत भइसकेको छ । तर आयोजना निर्माणको काम म्याद थपमै गुज्रिरहेको छ । 

आयोजना निर्माणका नेपाल सरकार र भारतीय निर्माण कम्पनीबीच भएको ३० महिनाको समयसीमा निर्माण कम्पनीले विद्युुत पोल, सडक वरपरका रुख बिरुवा, खानेपानी आयोजना पाइप लाईन, सडक सीमालाई कारण देखाउँदै गुजारेको थियो । यसपछि पहिलो पटक ३ महिनाको म्याद थप ०७८ असोजमा,  ६ महिनाका लागि पुनः दोस्रो पटक म्याद ०७८ माघमा अनि २०७९ वैशाख मसान्तमा २०८० असार मसान्तसम्मका लागि तेस्रो पटक म्याद थप गरियो । उक्त थपिएको म्यादमा पनि निर्माण कम्पनीले आलटालमै गुजारिरहेको छ । 

तेस्रो पटक थपिएको म्याद सकिन जम्मा साढे ५ महिनामात्र बाँकी छ । तर लमही–घोराही–तुलसीपुर फोरलेन सडक विस्तार आयोजना निर्माणले गति लिन सकेको छैन । अलपत्र फोरलेन विस्तार आयोजनाका कारण सर्वसाधारणहरूको दैनिकी निकै कष्टकर बनिरहेको छ । घोराही उपमहानगरपालिका–१६ का देउमन दमाईले भने–‘अलपत्र फोरलेन सडकले धेरै दुःख दियो । कैयौँको ज्यान समेत लियो । तर न त्यो दुःख सरकारले देख्छ, न ठेकेदारले ।’ अलपत्र सडकले छेउछाउका स्थानीयलाई हिउँदमा धुलो र बर्खामा हिलो खानुपर्ने बाध्यता छ । 

‘सरकारभन्दा ठेकेदार बलियो’

त्यसो त अलपत्र फोरलेन सडक विस्तार आयोजना निर्माणका बारेमा स्थानीय सरकार मात्रै होइन, प्रदेश र संघीय सरकारले चासो देखाएका छन् । प्रदेश र संघीय सदनमा अवाज पनि उठेको छ । तर सरकारले न काम गराउन सक्छ, न ठेक्दा नै रद्द गर्छ । सरकारले कारबाही गर्नुको साटो म्याद थमौती गर्दै बसिरहेको छ । 

भालुुवाङ–बाग्दुला, भिमगिठे, चन्द्रौटा–कृष्णनगर, लमही–घोराही–तुलसीपुर फोरलेन सडक विस्तार आयोजना दाङमा कार्यरत एक कर्र्मचारीले रातोपाटीसँगको टेलिफोन  सम्वादमा भने–‘हामीले पठाएको पत्रको प्रतिउत्तर ठेकेदारले कहिले दिदैन । न काम गर्छ, न जवाफ, हामीले ठेक्का तोड्न पनि सक्दैनौं ।’ 

यसरी नियमन निकायदेखि सरकारसम्मलाई अलपत्र फोरलेन सडक विस्तार आयोजना निल्नु न, ओकल्नु भएको छ । कामै नगरे पनि २०८० असार मसान्तसम्म म्याद थप गरिसकेकाले अब ठेक्का रद्द गर्न कुनै हालतमा नसकिने उनले बताए ।  

dang four lane road

प्रतिनिधिको लापरबाही 

फोरलेन सडक विस्तार आयोजनाको मुख्य ठेकेदार भारतीय निर्माण कम्पनी तथ्य इन्जिनिरिङ एण्ड इन्फ्रा प्रोजेक्ट हो । उसको आधिकारिक प्रतिनिधिको जिम्मेवारी लिएकाले काम गर्न नसक्दा सडक निर्माण आयोजना अलपत्र परेको हो । 

भालुुवाङ–बाग्दुला, भिमगिठे, चन्द्रौटा–कृष्णनगर, लमही–घोराही–तुलसीपुर फोरलेन सडक विस्तार आयोजना दाङका ईश्वरीप्रसाद अमगाईका अनुसार हालसम्म म्याद थप मात्रै नभई मुख्य ठेकेदार कम्पनीले ४ जना आधिकारिक प्रतिनिधिको जिम्मेवारी दिँदा समेत प्रतिनिधिहरूले आयोजना निर्माणको काम गर्न नसकेको बताए । 

अमगाईका अनुसार २८ जनवरी २०१९ मा सम्झौता भएको उक्त सडक निर्माणको काम सुरुमा भारतको तथ्य इन्जिनियरिङ कम्पनीको कागजातबाट अनुप पाण्डे, जनक डाँगी र जीवन रानाले संयुक्त रूपमा काम थालनी गरे । 

पछि १६ नोभेम्बर २०१९ मा पाण्डेले डाँगीलाई आधिकारिक प्रतिनिधिको जिम्मेवारी दिए  ।  पुनः १४ अगस्ट २०२० मा डाँगीलाई हटाएर अनुप पाण्डे आफै आधिकारिक प्रतिनिधि बने । 

तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान मेयर घनश्याम पाण्डेका छोरा ठेकदार अनुप पाण्डे पक्राउ पनि परेका थिए । सडक विस्तारमा डोजर, टे«क्टर प्रयोग गरेर भाडा नदिएको भन्दै गाडीधनीले उजुरी गर्दा पक्राउ परेकोमा आफूले काम छाडिसकेको भन्दै उनी विना कारबाही उम्किएका थिए ।

२२ अक्टोबर २०२१ मा भारतको तथ्य इन्जिनियरिङ कम्पनीका प्रोप्राइटर प्रवीण पाण्डेले अनुप पाण्डेलाई कामबाट हटाई आधिकारिक प्रतिनिधि एकेन्द्र खड्कालाई बनाएका थिए । तर खड्काबाट कुनै काम भएन । 

यसरी वर्षेनी सडक निर्माण आयोजनाको रकम फ्रिज हुँदै गएको छ । आयोजना भने अलपत्र बनिरहेको छ । 

हालसम्म २५ जनाको मृत्यु

फोरलेन आयोजना अलपत्र भएका कारण सडकको खाल्टाखुल्टीमा परी चार वर्षको अवधिमा हालसम्म २५ जनाले ज्यान गुुमाइसकेका छन् । 

फोरलेन सडक निर्माणका नाममा ठेकेदार कम्पनीले जथाभावी गरेको सडक कटानले दुर्घटना हुँदा २५ जनाले ज्यान गुुमाई सकेको जिल्ला ट्राफिक कार्यालय दाङले जनाएको छ । २५ जनाको ज्यान फोरलेन सडक नै रहेको कार्यालयको ठहर छ । 

‘सडक बनाऔं अभियान सुरु’

निर्माण कम्पनीको लापरबाही, सरकारको मौनताका कारण सर्वसाधारणले अकालमा ज्यान फाल्नुु परेको भन्दै तुलसीपुर क्षेत्रका युवाहरु अलपत्र सडक मर्मत अभियान सुरु गरेका छन् । 

तुलसीपुर उपमहानगरपालिका, स्थानीय व्यवसायी युवाहरुको सक्रियतामा तुुलसीपुरको हात्तीखौवादेखि मज्गै सम्मको सडक मर्मत अभियानमा तुलसीपुर क्षेत्रका युवा व्यवसायीहरुले अभियान थालनी गरेका हुुन् । 

तुलसीपुर उपमहानगरपालिका र स्थानीय व्यवसायीहरुको समन्वयमा फोरलेन सडक विस्तार आयोजना मर्मतको काम थालिएको तुलसीपुर उपहानगरपालिका इन्जीनियर पवन योगीले बताए । उनले भने–‘सडक अलपत्र हुुँदा थुप्रैको ज्यान गयो, तर माथिल्लो निकायको ध्यान नजाँदा बाध्यताबश अभियान थालेका हौं । जसमा सहयोग व्यवसायीहरुको नै रहेको छ । युवाहरु स्वस्फूर्त अभियानमा सामेल भएका छन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप