आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आत्मदाह प्रकरणमा छानबिन हुन्छ : गृहमन्त्री लामिछाने

मृतकको परिवारले बुझे शव
बुधबार, ११ माघ २०७९, १६ : १२
बुधबार, ११ माघ २०७९

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मंगलवार संसद् भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेर सहानुभूति प्रकट गरेका छन् । 

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा आत्मदाह गरेका उनका परिवारलाई भेट्न बुधवार कीर्तिपुर अस्पताल पुगेका उनले घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता कुराहरुबाट वाक्क भएर केही गर्नको लागि राजनीतिमा प्रवेश गरेको बताए । उनले अहिले चलिरहेको राजनीति र प्रशासनिक कुराहरुमा सहभागी बन्न आफू नआएको जिकिर गर्दै देशलाई केही गरौँ भन्ने मनशायबाट आएको बताए । उनले मृतक आचार्यले उठाएका मागका बारेमा यथेष्ठ छानबिन गर्ने प्रतिबद्धता जनाए । 

उनले भने, ‘अहिले दुःखको बेला, अहिले धेरै भन्ने पक्षमा म पनि छैन, यही कुराहरुबाट दिक्क भएर नै केही गर्नुपर्छ भनेर म राजनीतिमा आएको हुँ, नयाँ छु, समय लाग्नसक्छ, उहाँले भन्नुभएको सबै चिजमा म तुरुन्त छानबिन गर्नेछु । हामीबाट भएका कमी कमजोरी पनि हामी हेर्नेछौँ, हामीले छानबिन गर्ने विषयमा छानबिन गर्नेछौँ । म गम्भीर भएर काम गर्नेछु, म भएकै काममा भाग बन्न आएको होइन ।’

मृतककी श्रीमती नानुका आचार्यले आफ्ना छोराछोरीको भविष्य सुनिश्चित गरिदिन, शिक्षाको सुनिश्चित गर्न, आफूलाई सक्ने रोजागारी दिन र श्रीमानले लिएको आर्थिक ऋण सरकारबाट तिरिदिन आग्रह गरिन् । उनले देशमै केही गरौँ भन्ने मान्छेलाई भ्रष्टाचारमा लिप्त प्रशासन र सरकारकै कारण मर्नुपरेको बताइन् । 

उनले कोहीले १५ पटक अनुदान पाउँदा आफूले भने फारम भर्नसमेत लाखौं खर्च गर्नुपरेको बताइन् । गृहमन्त्रीले मृतकका आफन्तलाई भेटेसँगै आफन्तहरुले शव बुझेका छन् । मंगलबार आफूमाथि पेट्रोल छर्किएर आगो लगाई आत्मदाहको प्रयास गरेका इलामका ३७ वर्षीय आचार्यको बुधवार बिहान उपचारका क्रममा निधन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप