बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी अब सङ्घीय संरचनामा

बिहीबार, १० फागुन २०७४, ११ : ३१
बिहीबार, १० फागुन २०७४

जनताको बलिदानीपूर्ण सङ्घर्षको बलमा हामीले सङ्घीयता प्राप्त गरेका हौँ । सङ्घीयता कसैको निगाह वा उपहार होइन्, यो त जनताको सम्पत्ति हो । २०७४ मा भएकै तीनवटै स्थानीय, प्रदेशसभा र प्रतिनधिसभाको चुनावले सङ्घीयता कार्यान्वयनमा गएको छ । प्रदेशहरूमा प्रदेश सरकार गठन भइसकेका छन् । यस्तो अवस्थामा सङ्घीयतालाई दिगो बनाउन र यसलाई समृद्धितिर उन्मुख गर्नु सरकार, राजनीतिक दल, उद्योगी, व्यवसायी र मिडिया सबैको दायित्व बनेको छ । 

यही दायित्वबोधका साथ देशको एउटा जिम्मेवार, वैकल्पिक र दैनिक पाँच लाखभन्दा बढी पाठक भएको मिडियाका नाताले रातोपाटी अनलाइनले नयाँ कदम चालेको छ । हामीलाई आशा र विश्वास छ, यसमा यहाँहरू सबैको सहयोग र सद्भाव रहने छ । आजबाट हामीले सबै प्रदेशका लागि औपचारिक रूपमा भिन्दाभिन्दै पेज सुरु गरेका छौँ, जहाँ प्रदेशका सानातिना सबै घटना, विचार र जनताका जीवनसँग जोडिएका हरेक मुद्दाले ठाउँ पाउने छन् ।

हामीले २०७० साल जेठ २६ तद्अनुसार २०१३ जुन ९ देखिको यात्रामा सकेसम्म तल्लो तहमा पुगेर जनताका मुद्दामाथि समाचार पस्कने कोसिस गर्यौँ । सङ्घीय संरचनासहितको नयाँ स्वरूपमा सकेसम्म तल्लोतहका धेरैभन्दा धेरै समाचार पस्कने हामीलाई अवसर हुनेछ । हामीसँग ‘समाचार सामग्री’मा अहिले जेजति विविधता छन्, त्यसलाई कायम राख्दै प्रदेशस्तरका धेरैभन्दा धेरै मुद्दा तपाईंहरू माझ पस्कने कोसिस गर्नेछौँ ।
 
मुलुक सङ्घीयतामा गइसकेपछि मिडियाले आफूलाई पनि त्यही ढाँचामा ढाल्नु अनिवार्यजस्तै थियो । अनलाइन मिडियाको हकमा रातोपाटी पहिलो बन्यो, जसले आफूलाई अरूभन्दा अगाडि सङ्घीयताको ढाँचामा ढाल्यो । यो हाम्रा लागि खुसीको कुरा हो र हामी यसमा आउन सक्ने सम्भावित हरेक चुनौतीबारे उत्तिकै सचेत पनि छौँ ।
 
यहाँहरूलाई अवगत नै छ, रातोपाटी जनताको बोली उभिने चौतारो हो । सगरमाथाको उचाइदेखि जनताको पिँढीसम्मको खबर रातोपाटीमा डिजिटल अक्षरले लेखिन्छन् । राजनीतिका रस्साकस्सी हुन् कि जनजीवनका उच्छ्वास, बेलाका बहस हुन् कि ठीक समयका ठीक तस्बिर, प्रकोपका कथाव्यथा हुन् कि इतिहास कैद गर्ने भिडियो, रातोपाटीमा छुट्दैन कुनै घटना वा विचारको प्रवाह । ‘ग्राउन्ड जिरो’मै पुगेर सत्य खोज्ने आफ्नो प्राथामिकता हुन्छ । 

चौबीसै घण्टा तपाईंको सेवामा हाजिर हाम्रो टिम आफैंमा मिहिनेतको मिसाल हो । यो टिम कहिले कलम बोकेर त कहिले क्यामरा बोकेर तपाईं समक्ष आइरहेको छ र आइरहनेछ । देशका कुनाकुनाका खबर टिप्न यो टिम तपाईंको गाउँ, सहरमा पुगिरहेको तपाईंलाई थाहै छ । अक्षर, स्वर, तस्बिर र श्रव्यदृश्यका माध्यमबाट आजको इतिहासका तथ्य तपाईंसमक्ष राख्न यो टिम सधैँ तत्पर रहनेछ ।

तपाईंलाई सूचना, विचार, बहस र पैरवीको इजलास उपलब्ध गराउन हामी सधैँ प्रतिबद्ध छौँ । तपाईं हामीसँग आउनुहोस् वा हामी तपाईं भएकै ठाउँमा आइपुगौँ, जनतासँग हामी दूरी बनाएर रहनेछैनौँ । 

प्रतिस्पर्धीले कहिलेकाहीँ हामीलाई आरोपित गर्न खोज्छन् । हामीसँग ‘समाचार सामग्री’मा पछाडि परेपछि यो उनीहरूले जनाएको चिन्ता हो । हामी ‘समाचार सामग्री’ उत्पादनमा पूर्ण रूपमा स्वतन्त्र छौँ । यहीकारण हो मिडियाबीचको प्रतिस्पर्धाको आजको दौडमा हामी सबैका लागि ‘दबाब’ बनेका छौँ । दैनिक बढ्दो पाठक सङ्ख्या पनि सामग्री उत्पादनमा पाइएको स्वतन्त्रताको उपज नै हो । 

रातोपाटीलाई यहाँसम्म आउन सबैभन्दा ठूलो सहयोग हाम्रा पाठकले गर्नुभयो । अरूका सामग्रीभन्दा हामीसँग फरक स्वाद लिन चाहनुभयो । अरूले ‘लुकाउन खोज्दा’ हामीले ‘देखाउन खोज्यौँ’, पाठकले यसलाई मन पराउनुभयो । पाठकसँगै विज्ञापानदाताले हाम्रो दौडमा सहयोग गर्नुभयो, यसले हाम्रो दौडलाई अरूभन्दा अगाडि जाने ऊर्जा मिल्यो । 

पाठकका चासो र अपेक्षा हामी सधैँ जिम्मेवार बन्ने छौँ । सङ्घीया ढाँचाको रातोपाटी अनलाइनमा विज्ञापनदाताको सद्भाव पनि कायमै रहने हाम्रो विश्वास छ । रातोपाटीको सङ्घीय संरचनामा तपाईं सबैलाई धेरै–धेरै स्वागत छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप