आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रास्वपाको त्यो बाचापत्र : चोर बाटोबाट संसद वा सरकारमा ल्याउँदैनौं

मङ्गलबार, १७ माघ २०७९, १६ : ५१
मङ्गलबार, १७ माघ २०७९

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अहिले गृहमन्त्रीका लागि लबिङ गरिरहेका छन् । सर्वोच्च अदालतले उनको नागरिकता अवैध ठहर गरेपछि गृहमन्त्री र सांसद पद गुमाएका थिए । अहिले उनले पुनः नागरिकता पाएसँगै गैरसांसदको रुपमा गृहमन्त्री बन्ने लबिङमा लागेका हुन् । 

तर, धेरैले उनी गृहमन्त्री बन्दा जालसाँझी गरेर राहदानी बनाएको विषय बाहिर आइरहेकोले अनुसन्धानमा प्रभाव पार्ने भन्दै आलोचना गरिरहेका छन् ।

सोही कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि उनलाई र उनको पार्टीलाई गृह मन्त्रालय नदिने बताइसकेका छन् । जसका कारण सत्ता साझेदार दलमा खटपट बढेको छ ।

स्मरणीय के छ भने विगतमा रास्वपा र सो पार्टीका सभापति लामिछानेले नै स्वार्थ बाझिने ठाउँमा कसैलाई नियुक्त नगर्ने प्रतिबद्धता जनाएको थियो । रास्वपाको चुनावी बाचापत्रमा उल्लेख भएको उद्देश्य र नीति कार्यक्रमको तेस्रो नम्बरमा ‘सही ठाउँमा सही मान्छे, योग्यता र क्षमतालाई आधार, कर्मशीलतामा जोड’ भन्ने शीर्षकमा स्वार्थ बाझिने विषयमा व्याख्या गरिएको छ ।

सो व्याख्या अनुसार स्वार्थको द्वन्द्वका कारणले नियुक्तिमा हुन सक्ने प्रभावलाई रोक्न छुट्टै आयोग गठन गरिने उल्लेख छ । यस्तै सार्वजनिक उजुरीका लागि आह्वान गरी स्वार्थका द्वन्द्व देखिए छनोटकर्ता परिवर्तन गरिने र सहीलाई पुरस्कृत र गलतलाई दण्डित गरिने चुस्त प्रणाली तुरुन्तै अवलम्बन गरिने उल्लेख छ ।

‘प्रवर्द्धन ‘सही ठाउँमा सही मान्छे’ भन्ने सिद्धान्तलाई अवलम्बन गर्दै राज्यका प्रत्येक निकायमा कर्मचारी तथा पदाधिकारी नियुक्त गर्दा प्रतिस्पर्धात्मक प्रणालीबाट योग्यता र क्षमताका आधारमा गरिने उल्लेख छ ।

‘नेपालको सम्मुन्नतिका लागि देश–विदेशमा रहेका नेपालीहरुको दक्षता, ज्ञान र सीपलाई अधिकतम उपयोगमा ल्याइने छ । लोक सेवा आयोगलाई आधुनिकीकरण गरी सुधार गरिने छ ।

नातावाद, कृपावाद, आशीर्वाद र परिवारवादलाई निषेध गरी कर्मशील समाजको प्रवर्धनमा विशेष जोड दिइने छ । स्वार्थको द्वन्द्वका कारणले नियुक्तिमा हुन सक्ने प्रभावलाई रोक्न छुट्टै आयोग गठन गरिने छ । सार्वजनिक उजुरीका लागि आह्वान गरी स्वार्थका द्वन्द्व देखिए छनोटकर्ता परिवर्तन गरिने छ । सहीलाई पुरस्कृत र गलतलाई दण्डित गरिने चुस्त प्रणाली तुरुन्तै अवलम्बन गरिने छ,’ पूर्ण व्याख्यामा उल्लेख छ । 

तर, सो पार्टी र त्यसका सभापति रवि लामिछाने भने गृह मन्त्रालयका लागि लबिङ गरिरहेका छन् । रास्वपाले नै हामी के गर्दैनौं भन्ने शीर्षकमा विभिन्न १३ वटा बुँदामा प्रतिबद्धता व्यक्त गरिएको छ । जसको १२ औं नम्बरमा भनिएको छ, ‘चुनाव हारेकालाई चोर बाटोबाट संसद् वा सरकारमा ल्याउँदैनौं ।’ तर, लामिछाने अहिले सांसद छैनन् । तर, उनी आफैं चोरबाटोबाट गृहमन्त्री बन्ने कसरतमा छन् ।

r

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप