आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

श्रमिकको समस्या समाधान गर्न श्रममन्त्री अर्यालले ल्याए ‘श्रमाधान’ कार्यक्रम

मङ्गलबार, १७ माघ २०७९, १८ : २६
मङ्गलबार, १७ माघ २०७९

काठमाडौं । नेपालभित्र र बाहिर रहने श्रमिकसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा र समस्या समाधान गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रमाधान’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । 

श्रममन्त्री डीपी अर्यालले जिज्ञासा र समस्या एकद्वार नीतिबाट समाधान गर्ने उद्देश्यले ‘श्रमाधानः २४ घण्टे सहायक केन्द्र’ सञ्चालनमा ल्याएका हुन् । 

आजबाट सुरु गरिएको उक्त, अभियानमा हप्ताको सातै दिन २४ घण्टा नै सञ्चालनमा रहनेछ । दोस्रो चरणमा ६ महिनाभित्रमा श्रमाधान मोबाइल एप र श्रम सम्बन्धी सम्पूर्ण कार्यहरूको टाइम कार्ड लागू गरिने मन्त्री अर्यालले जानकारी दिए । 

मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री अर्यालले अहिले सञ्चालनमा रहेको कल सेन्टरलाई परिमार्जन गरिएको बताए । 

अहिलेसम्म श्रमिकको समस्या तथा गुनासा सुन्ने र समाधानका लागि सम्बन्धित निकायमा पठाउने गरिएको थियो । अबदेखि श्रम मन्त्रालयसँग सम्बन्धित सम्पूर्ण गुनासा तथा समस्याहरू त्यही ‘श्रमाधान’ मार्फत जाने मन्त्री अर्यालको भनाई छ । 

श्रमाधानमा रहेका कर्मचारीहरूले २४ घण्टा नै मन्त्रालयसँग सम्बन्धित समस्या र गुनासा सुन्नेछन् । सोही आधारमा मन्त्रालयको एकद्वार नीति अनुसार समस्याको समाधान, कारबाही तथा आवश्यक निर्देशन दिइने मन्त्री अर्यालले बताए । 

वैदेशिक रोजगार बोर्डको स्वामित्वमा रहेको कल सेन्टरलाई व्यवस्थित र परिमार्जित गरेर प्रभावकारी बनाउन खोजिएको उनको भनाई छ । 

‘अब जति पनि समस्या आउँछन् । त्यही मार्फत आउनेछन् । त्यही मार्फत कति समयमा समस्याको समाधान गर्न सकिने भनेर पनि जानकारी दिइनेछ । समाधान गर्न सकिएन भने के कति कारणले समाधान गर्न सकिएन सोको पनि जानकारी दिइनेछ,’ मन्त्री अर्यालले भने । 

उक्त श्रमाधान कार्यक्रमलाई निकट भविष्यमा टाइम कार्ड लागू गरेर यति समयभित्रमा समस्याको समाधान गरिने भन्ने समेत जानकारी दिइनेछ । त्यसका लागि बढीमा ६ महिनाभित्रमा टाइम कार्ड लागू गरिने उनको भनाई छ ।

श्रमाधानमा आफ्ना गुनासा, सुझाव तथा समस्या राख्नको लागि २४ घण्टा नै निःशुल्क रूपमा कल गर्न सकिनेछ, ह्वाट्सएप, भाइबर, इमो लगायत मार्फत म्यासेज गरेर पनि आफ्ना समस्या राख्न सकिने मन्त्रालयले जनाएको छ । श्रमाधानका लागि ११४१/९८०१८०००१३ मा निःशुल्क फोन गर्न सकिनेछ । त्यस्तै [email protected] मा इमेल समेत गर्न सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप