आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

राष्ट्रपतिका विषयमा प्रचण्ड कांग्रेससँग लचक भएको मलाई थाहा छैन : केपी ओली

बिहीबार, १९ माघ २०७९, १२ : ५७
बिहीबार, १९ माघ २०७९

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार सङ्कटमा नपर्ने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीले गरेको प्रश्नको जवाफ दिँदै भने, ‘यो सरकार सङ्कटमा पर्छ जस्तौ मलाई लाग्दैन ।’

यद्यपि उनले लोकतन्त्रविरुद्ध षडयन्त्र भइरहेको भन्दै त्यसका कारण केही अस्थिरता देखिएको बताए । उनले आफूले निर्वाचन लगत्तै पनि नेपाल अस्थिरतामा जाँदैछ भनेको स्मरण गर्दै जवजव डेमोक्रेसीको कुरा हुन्छ तबतब अस्थिरता भोगिरहेको बताए । 

उनले शासन प्रणालीलाई कस्तो प्रणालीबाट लैजाने भन्ने प्रमुख प्रश्न रहेको र लोकतन्त्र प्रमुख भएकाले यसलाई कसरी संस्थागत गर्ने भन्नेमा सबैको ध्यान जानुपर्ने पनि बताए । 

अध्यक्ष ओलीले संविधान संशोधन हुनै नसक्ने कुरा नभए पनि अहिले नै संविधान संशोधनको चर्चा गर्ने बेला नभएको बताए । ‘तर अहिले संविधान संशोधनको चर्चा गर्ने बेला होइन, भरखर चुनाव भएको छ र नयाँ सरकार बनेको छ’, ओलीले भने ‘लोकतन्त्रविरुद्ध अझै पनि भद्दा षडयन्त्र भइरहेको छ ।’ 

कांग्रेसले राजनीतिक संस्कार र स्तर नराखेको भन्दै उनले कांग्रेसले राष्ट्रपतिको उम्मेदवार दिन्छु भन्नुलाई अनौठो रुपमा लिन नपर्ने बताए । ओलीले माओवादीले भनेको राष्ट्रिय सहमति यही समिकरणमा कांग्रेसले समर्थन गर्नलाई भनिएको बताए । राष्ट्रपतिका सवालमा कांग्रेससँग प्रधानमन्त्री लचक बन्नुभएको हो  ? भन्ने प्रश्नमा ओलीले भने, ‘कांग्रेस नेताहरुले त्यसो भनेको सुन्छु तर मलाई त्यस्तो लाग्दैन ।’ 

उनले सत्ता गठबन्धनमा कुनै खटपट नभएको पनि बताए । ‘सत्तागठबन्धनमा कुनै खटपट छैन’, ओलीले भने, ‘मध्यवधि निर्वाचन अव पूरै पाँचवर्षपछि हुन्छ ।’ उनले पुर्व सहमति अनुसार रास्वपाले उपप्रधान र गृहमन्त्रीमा दावी गर्नु स्वभाविक भएको प्रतिकृया दिए । 

‘पहिलाको सहमति तपाईहरुलाई थाहा नै छ । रास्वपाले उपप्रधानमन्त्रीसहित कुन कुन मन्त्रालयल लिएको हो त्यो पनि थाहा छ । सोही अनुसार अघि बढ्नुपर्छ भन्ने कुरा हो’,ओलीको भनाइ छ । उनले कसलाई गृहमन्त्री बनाउने भन्ने कुरा रास्वपाले नै जान्ने कुरा भएको पनि बताए । तर त्यो सहमतिअनुसार उनीहरुलाई नदिने, एकतर्फी रुपमा छुट्टै निर्णय गर्ने कुरा भएमा अप्ठेरो हुने ओलीको भनाइ छ । ‘तर त्यस्तो भएको छैन । रास्वपालाई गृहमन्त्री दिन किन सर्वोच्चको पुर्णपाठ चाहियो ?’ओलीको प्रश्न छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप